संक्षेपमा
- आप्रवासी र अल्पसंख्यक विद्यार्थीलाई लक्षित गर्दै आक्रमणको प्रयास।
- आक्रमणकारीको मानसिक अवस्था सन्तुलित रहेको अदालतको ठहर।
- अदालतले तोक्यो दुई वर्ष जेल सजाय।
फिनल्यान्डको एस्पोस्थित लेप्पाभारामा रहेको Ammattiopisto Live नामक एक व्यावसायिक क्याम्पसमा आक्रमणको प्रयास गर्ने युवकलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।
नर्वेली नव-नाजी आतंकवादी आन्ड्रेस ब्रेभिकबाट प्रभावित ती युवकले विशेषगरी आप्रवासी र अल्पसंख्यक समुदायलाई हानि पुर्याउने उद्देश्य राखेका थिए। उनको लिखित योजनामा “आप्रवासी, वामपन्थी, पारलैंगिक र समलिङ्गी” हरूलाई सकेसम्म धेरै मार्ने उल्लेख थियो।
पश्चिम उसिमा जिल्ला अदालतले १९ वर्षीय ती युवकलाई दोषी ठहर गरेको हो। उनलाई गम्भीर कुटपिट र गैरकानूनी धम्की दिएको अभियोगमा सजाय सुनाइएको हो।
अदालतको आदेशअघि उनको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण रिपोर्टले घटनाको समयमा उनको मानसिक अवस्था पूर्ण रूपमा सन्तुलित रहेको देखाएको थियो।
के हो घटना?
गत २९ सेप्टेम्बर २०२५ का दिन उनी १७ सेन्टिमिटर लामो चक्कु बोकेर उक्त व्यावसायिक शिक्षालयमा प्रवेश गरेका थिए। उनी सोही शिक्षालयका पूर्वविद्यार्थी समेत हुन्।
शौचालयमा गएर चक्कुसहित आफ्नो भिडियो खिचेपछि उनी तेस्रो तलामा पुगेका थिए। त्यहाँ उनले आप्रवासी पृष्ठभूमिका दुई विद्यार्थीमाथि चक्कु प्रहार गर्ने प्रयास गरेका थिए।
पहिलो विद्यार्थी चक्कु छल्दै भाग्न सफल भएका थिए भने दोस्रो विद्यार्थीलाई आक्रमणकारीले लात्ती हानेका थिए। भाग्यवश चक्कु नलागेपछि दुवै विद्यार्थी सकुशल उम्कन सफल भएका थिए।
सिसिटिभी फुटेजका अनुसार आक्रमणकारीले भाग्दै गरेका विद्यार्थीलाई चक्कु लिएर लखेटेका थिए। तर क्याम्पसका कर्मचारीले उनलाई रोक्न सफल भएका थिए।
घटनाको अघिल्लो राति उनले आतंकवादी ब्रेभिकका बारेमा बनाइएका र अन्य हिंसात्मक भिडियोहरू हेरेका थिए। उनले आप्रवासी, वामपन्थी र समलिङ्गीलाई मार्ने योजनासहित एउटा घोषणापत्र समेत तयार गरेका थिए।
घटनापछि शिक्षकलाई हतियार बुझाउनुअघि उनले हिटलरी/नाजी शैलीमा सलाम समेत गरेका थिए। शिक्षकलाई चक्कु बुझाएपछि भने उनी प्रहरी नआउन्जेल शान्त भएर बसेका थिए।
युवा अपराधी भएको र पुर्पक्षका लागि हिरासतमा बस्दा नै सजाय भुक्तान भइसकेकोले उनी थप जेल भने जानु पर्ने छैन। यो फैसला अझै अन्तिम नभएकोले यसमाथि पुनरावेदन पनि गर्न सकिनेछ।
नर्वेका आन्ड्रेस ब्रेभिक एक चरमपन्थी आतंकवादी हुन्, जसले सन् २०११ मा ७७ जनाको हत्या गरेका थिए। उनको मुख्य निशाना आप्रवासीप्रति नरम भाव राख्ने वामपन्थी विचारधाराका मानिसहरू थिए।
फिनल्यान्डमा पनि पछिल्लो समय अल्पसंख्यक र आप्रवासीमाथि लक्षित यस्ता घृणामा आधारित अपराधका प्रयासहरू बढ्न थालेका छन्।








