विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

बल्झियो गार्डेन हेलसिन्की विवाद: फिनल्यान्डमा संसद्को आकस्मिक बैठक बोलाइँदै

समर बिदाको बिचमै राजनीतिक विवादका कारण यसरी संसद्को बैठक बस्नु फिनल्यान्डको इतिहासमा अत्यन्तै गम्भीर र दुर्लभ मानिन्छ।

संक्षेपमा


  • ३ करोड ५० लाख युरोको विवादास्पद वित्तीय सहयोग छानबिनको दायरामा।
  • समर बिदाको बीचमै संसदको बैठक बोलाउन प्रधानमन्त्रीको अनुरोध।
  • विपक्षी दलहरूको संयुक्त दबाबपछि सरकार रक्षात्मक अवस्थामा।

फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोले हेलसिन्कीको बहुचर्चित गार्डेन हेलसिन्की परियोजनाका लागि घोषणा गरिएको विवादास्पद वित्तीय सहयोगबारे छलफल गर्न संसदको विशेष बैठक बोलाउन आग्रह गरेका छन्।

आगामी जुलाई २१ का दिन बस्ने भनिएको संसद्को विशेष बैठकमा सरकारले परियोजनालाई दिइने भनिएको ३ करोड ५० लाख युरोको ससर्त अनुदानबारे स्पष्टीकरण दिनेछ।

प्रधानमन्त्री ओर्पोले संसदका सभामुख युस्सी हल्ला-अहोलाई पत्र लेख्दै संसद्को बैठक बोलाउन अनुरोध गरेका हुन्। विपक्षी दलहरूले यो मुद्दामा सरकारसँग जवाफ माग गर्दै दबाब दिएपछि प्रधानमन्त्री यो कदम चाल्न बाध्य भएका हुन्।

समर बिदाको समयमा राजनीतिक विवादका कारण यसरी संसदको बैठक बस्न लागेको फिनल्यान्डको इतिहासमा अत्यन्तै दुर्लभ मानिन्छ। यस्ता बैठकको अन्त्यमा सरकार वा सम्बन्धित मन्त्रीविरुद्ध अविश्वासको मतसमेत दर्ता हुन सक्छ।

फिनल्यान्डको इतिहासमै समर बिदाको बेला अहिलेसम्म जम्मा पाँच पटक यस्ता बैठकहरू बसेका छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डको संविधान अनुसार संसद् बैठक बोलाउने अन्तिम अधिकार सभामुखलाई छ। विपक्षीले मात्र आकस्मिक बैठक बोलाउन आग्रह गर्दा सभामुखले बेवास्ता पनि गर्न सक्छन्।

तर विपक्षी र प्रधानमन्त्रीले समेत संसद् बोलाउन आग्रह गरेपछि भने संसद् बस्ने लगभग निश्चित हुन्छ, जुन अहिलेको अवस्था हो।

के हो गार्डेन हेलसिन्की विवाद?

गार्डेन हेलसिन्की हेलसिन्कीको ताका-तोलो क्षेत्रमा निर्माण गर्न लागिएको एउटा बहुउद्देश्यीय खेल मैदान हो। यो मैदान स्थानीय आइस हक्की टोली HIFK को गृह मैदान र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

सरकारले सन् २०२५ को वसन्त ऋतुको बजेट समीक्षामा उक्त परियोजनाका लागि ३ करोड ५० लाख युरोको ससर्त लगानी सहयोग स्वीकृत गरेको थियो। तर यो सहयोग वितरण प्रक्रियामा व्यापक अनियमितता र अस्पष्टता रहेको भन्दै विरोध सुरु भएको हो।

एसडीपी, सेन्टर पार्टी, ग्रीन पार्टी, लेफ्ट एलायन्स लिके न्युत लगायतका विपक्षी दलहरूले संयुक्त रूपमा संसद बैठक बोलाउन माग गरेका थिए। विपक्षी दल एसडीपीकी संसदीय दलकी नेता तुत्ति तुप्पुराइनेनले सभामुख हाल्ला-अहोलाई लिखित अनुरोध समेत पठाएकी थिइन्।

सभामुख हल्ला-अहोले सुरुमा संसद बोलाउन आनाकानी गरे पनि प्रधानमन्त्री ओर्पो आफैं स्पष्टीकरण दिन तयार भएपछि बैठक बस्ने निश्चित भएको हो। प्रधानमन्त्री ओर्पोले बुधबार एक टेलिभिजन कार्यक्रममा पनि आफू संसदको सामना गर्न तयार रहेको बताएका थिए।

फिनल्यान्डको संसद सामान्यतया समर महिनाहरूमा बिदामा रहने गर्छ। यस्तो अवस्थामा संसदको विशेष सत्र बोलाउनुले यो मुद्दालाई राजनीतिक रूपमा कति गम्भीर रूपमा हेरिएको छ भन्ने स्पष्ट पार्छ।

गार्डेन हेलसिन्की परियोजनाले हेलसिन्कीको खेलकुद र सांस्कृतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिए पनि यसले सरकारको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ।

यो पनि पढ्नुहोस्ः

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप