डियर फिनल्यान्ड, आज तिमी १०८ वर्ष पुगेका छौ। सर्वप्रथम यो ऐतिहासिक उपलब्धिका लागि तिमीलाई धेरै-धेरै बधाई।
रुसी साम्राज्यको छायाबाट मुक्त भएर एउटा सानो राष्ट्र भएर पनि तिमीले जसरी आफूलाई शिक्षा, प्रविधि र सामाजिक सुरक्षाको क्षेत्रमा विश्वकै नमुना बनायौ, त्यो साँच्चै लोभलाग्दो र अनुकरणीय छ।
चिसो, अँध्यारो र अभावसँग जुधेर पनि तिमीले आफ्नो सुन्दर इतिहास निर्माण गर्यौ। त्यसप्रति हामी आप्रवासीहरूको पनि अगाध सम्मान छ।
तर आज हामीले हाम्रो अगाडि देखेको तिम्रो परिवर्तित रूपका बारेमा इमानदारीपूर्वक बोल्नै पर्छ। आजको तिमी त्यो रहेनौ जसको कथा हामीले टाढाबाट सुनेका थियौँ। ‘विश्वको सबैभन्दा खुसी देश’ को ट्यागभित्र अहिले तिमीभित्र निसासिँदो ध्रुवीकरण र आर्थिक अस्थिरताको आगो सल्केको छ। यो दुर्भाग्यपूर्ण मात्र छैन, खतरनाक पनि छ।
कुनै समय युरोपलाई नै लोभ्याउने तिम्रो ‘आर्थिक चमत्कार’ अहिले सुस्त छ। तथ्यहरू आफैँ बोल्छन्। सन् २०२५ मा तिम्रो आर्थिक वृद्धिदर केवल ०.१% को हाराहारीमा खुम्चिएको छ। सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ९०% नाघ्ने खतरामा छ। सरकारले रक्षा बजेट र हतियार खरिदमा अर्बौँ युरो खन्याइरहेको छ, तर आम नागरिकको सामाजिक सुरक्षामा भने धमाधम कैँची चलाइएको छ।
हामीले देखेकै छौँ, तिम्रो स्वास्थ्य प्रणाली जनसाङ्ख्यिक दबाबमा थिचिएको छ, र देशभरका नगरपालिकाहरू बजेट सङ्कटका कारण अत्यावश्यक सेवाहरू कटौती गर्न बाध्य भएका छन्।
तर त्यो भन्दा पनि चिन्ताजनक यहाँको राजनीतिक परिदृश्य छ। फिनिस राजनीतिलाई परिभाषित गर्ने ‘सहमति निर्माण’ को परम्परा टुटेको छ। राजनीतिक ध्रुवीकरण गृहयुद्धको समययता नदेखिएको स्तरमा पुगेको भनेर पत्रिकाहरूले लेखिरहेका छन्।
अर्थतन्त्रको ओरालो यात्रा र ‘बलि का बोका’
विडम्बना त के छ भने सत्तामा रहेका दक्षिणपन्थी दलहरूले यो आर्थिक दुरवस्थाको दोष जति सबै आप्रवासीको टाउकोमा थुपार्न खोजिरहेका छन्। तिम्रो संसदकी तेस्रो ठुलो दलकी अध्यक्ष तथा अर्थमन्त्री रिक्का पुर्रा स्वयं आप्रवासीको आलोचनामा प्रत्येक दिन आगो ओकलिरहेकी छिन्।
हामीलाई लाग्छ, हरेक चुनौतीलाई आप्रवासनको चस्माबाट हेर्ने प्रवृत्ति घातक छ। आवास अभाव? विदेशीलाई दोष। स्वास्थ्य सेवामा लाइन? विदेशीलाई दोष। अपराध? विदेशीलाई दोष। बजेट घाटा? विदेशीलाई दोष।
फिनल्यान्डको वर्तमान कमजोर आर्थिक परिदृश्यका पछाडि संरचनात्मक समस्या, बुढ्यौली लाग्दै गरेको जनसङ्ख्या र अत्यधिक रक्षा खर्च जिम्मेवार छन् भनेर यहीँकै विज्ञहरूले भनिरहेकै छन्।
तर फिन्स पार्टी लगायतका लोकप्रियतावादी पार्टीहरूले यस्तो भाष्य बनाएका छन् मानौँ यहाँको अर्थतन्त्र विदेशीहरूलाई ‘बेरोजगारी भत्ता’ ख्वाउनु परेकै कारण डुबेको हो।
फिनल्यान्डमा रहेका विदेशीहरू यहाँको जीवनशैली नष्ट गर्न आएका होइनन्। आप्रवासीहरू आक्रमणकारी होइनन्। उनीहरू परजीवी होइनन्। यहाँको आर्थिक समस्याको मुख्य कारण आप्रवासी होइनन्।
हामी तिनै नर्स हौँ जसले अस्पतालमा अन्तिम श्वास फेरिरहेका यहीँका हजुरबा-हजुरआमालाई उनीहरूको हात समातेर टुटेफुटेको तर मायालु फिनिस भाषामा सान्त्वना दिएका छौँ। हामी तिनै सफाइकर्मी हौँ जसले दिनरातको प्रवाह नगरी यहाँका सडक, मल, पानीजहाज, र अफिस सफा गरेका छौँ।
आप्रवासीलाई ‘समस्या’ होइन, ‘समाधान’ को रूपमा हेर्ने नेतृत्व आजको आवश्यकता हो।
हामी रातभरि नसुतेर पत्रिका बाढ्ने पोस्टल वर्कर हौँ, हामी समरको मध्यरातसम्म जंगल चाहारेर बेरी टिप्ने मौसमी श्रमिक पनि हौँ।
हामी फिनल्यान्डमा ‘फेरी अर्को नोकीया जन्माउनुपर्छ’ भनेर बिहान २ बजेसम्म कोडिङ गर्ने सफ्टवेयर डेभलपर हौँ। हामी अनेकलाई रोजगारी दिँदै फिनिस स्वादमा नयाँपन थप्ने रेस्टुरेन्ट व्यवसायी हौँ। हामी विश्वविद्यालयका प्रयोगशालाहरूमा नयाँ खोज गर्ने अनुसन्धानकर्ता हौँ। चिप्लो सडकमा गाडी चलाएर तपाईंलाई सुरक्षित घर पुर्याउने बस र ट्याक्सी ड्राइभर हौँ हामी।
र हामी तिनै अभिभावक हौँ जसले आफ्ना छोराछोरीलाई सबैले जस्तै बिहान डे-केयरमा छाड्छौँ र काममा जान्छौँ। हाम्रा छोराछोरीले ‘स्की’ खेल्दा हामी पनि औधी खुसी हुन्छौँ। उनीहरूले फिनिस भाषा बोल्दा हामी पुलकित हुन्छौँ। क्रिसमसका बेला क्रिसमस ट्री सायद यहाँका स्थानीयको घरमा भन्दा पहिल्यै हाम्रै घरमा भित्रिन्छ। अनि ‘संसारकै सबैभन्दा खुसी देश फिनल्यान्ड हो’ भनेर सबैभन्दा बढी त हामी नै कराइरहेका हुन्छौँ।
जब फिनल्यान्डले आइस हक्की वा युरो भिजन जित्छ, हामी पनि अनुहारमा निलो र सेतो रङ पोतेर घाँटी सुक्ने गरी कराउँछौँ। जब फिनल्यान्ड हार्छ, जब यहाँ कुनै समस्या पर्छ, हामी पनि त्यो निराशामा सँगै उभिएका हुन्छौँ। हामीलाई लाग्छ फिनल्यान्डको जित हाम्रो जित हो, फिनल्यान्डको दुःख हाम्रो पनि दुःख हो।
तर यति गर्दागर्दै पनि अहिले यहाँ आफ्नो भविष्य बनाउन र फिनल्यान्डकै भविष्य निर्माणमा पनि योगदान गर्न भनेर आएका आप्रवासीहरूले कहिल्यै अनुभव नगरेको उकुसमुकुस अनुभव गरिरहेका छन्। आजै हेलसिन्कीमा ‘६१२ टर्च मार्च’ जुलुस आयोजना हुनेछ, जुन अरू केही नभएर आप्रवासी प्रतिको घृणाको जुलुस हो।
जब हाम्रा विरुद्ध नारा जुलुस गरिन्छ, जब हाम्रै विरोधलाई मूल एजेन्डा बनाएर खोलिएका पार्टीहरूले भारी मत पाएर सरकारमा पुग्छन्, हाम्रो पनि चित्त दुख्दो रहेछ। हामी पनि मान्छे जो पर्यौँ।
तर फिनल्यान्डको मूल नेतृत्व स्पष्ट हुनु जरुरी छ–हामी आप्रवासीहरू यहाँ शान्ति खोस्न आएका होइनौँ। हामी यहाँ युद्ध गर्न होइन, जीवन सजाउन आएका हौँ। फिनल्यान्डमा बस्ने अधिकांश आप्रवासीले फिनल्यान्डलाई शत्रु होइन सारथी मानिरहेका छन्। र भित्रभित्रै सोधिरहेका छन्—डियर फिनल्यान्ड, के म तिम्रो साथि बन्न सक्छु?
खुलापन नै अबको बाटो
हामी आप्रवासी पनि पूर्ण छौँ भनेर दाबी गर्दैनौँ। एकीकरण दुईतर्फी हुन्छ, र हामी हाम्रो जिम्मेवारी स्वीकार गर्नुपर्छ, र गर्छौँ पनि। हो, आप्रवासीहरूले पनि यहाँको भाषा सिक्नुपर्छ, फिनिस संस्कृति र परम्पराको सम्मान गर्नुपर्छ, र समाजमा योगदान गर्नुपर्छ।
तर फिनल्यान्डले पनि हामीलाई साथ दिनुपर्छ। खुला सोच विलासिता होइन, २१ औँ शताब्दीको न्यूनतम आवश्यकता हो।
खुला सोच भाषणमा मात्र हैन व्यवहारमा पनि हुनुपर्छ। यसको अर्थ इन्जिनियरहरूलाई क्लिनरको रूपमा काम गर्न बाध्य पार्नुको साटो विदेशी योग्यतालाई मान्यता दिनु हो। यसको अर्थ बजेट कटौती गर्नुको साटो पर्याप्त एकीकरण सेवाहरू प्रदान गर्नु हो। यसको अर्थ रोजगारी र आवासमा हुने भेदभावलाई गम्भीर अपराधको रूपमा व्यवहार गर्नु हो। यसको अर्थ राजनीतिक नेताहरूले विभाजनको सट्टा एकता, डर फैलाउनुको सट्टा तथ्य, र अल्पकालीन चुनावी फाइदाको सट्टा दीर्घकालीन दृष्टिकोण रोज्नु हो।
धेरैजसो आप्रवासीहरूले फिनल्यान्डलाई आफ्नो कर्मभूमि मात्र होइन, ‘घर’ मानिसकेका छन्। हो हामी बाहिरबाट आएका हौँ, तर यहीँ जन्मिएका हाम्रा छोराछोरीको मातृभूमि त फिनल्यान्ड हो। त्यसकारण पनि हामीलाई यो देशको माया छ।
त्यसैले आप्रवासीलाई ‘समस्या’ होइन, ‘समाधान’ को रूपमा हेर्ने नेतृत्व आजको आवश्यकता हो। घृणाको राजनीतिले चुनाव त जित्न सकिएला, तर देशले चाहिँ हार्छ।





