संक्षेपमा
- भिल्मा निसिनेनले भान्तालाई ‘फिनल्यान्डको मोगादिसु’ भनेकोमा मागिन् माफी।
- स्की संघद्वारा टिप्पणीको निन्दा र रंगभेद स्वीकार्य नहुने प्रस्टोक्ति।
- भान्ताका मेयरले गरे विविधताको सम्मान गर्न र आधुनिक समाज बुझ्न आग्रह।
फिनल्यान्डकी स्की खेलाडी विल्मा निसिनेनले भान्ता शहर र त्यहाँको हाकुनिला क्षेत्रलाई सोमालियाको राजधानी मोगादिसुसँग तुलना गरेपछि अन्ततः माफी मागेकी छन्।
इटालीमा भएको प्रतियोगितापछि उनले दिएको विवादास्पद अभिव्यक्तिले फिनल्यान्डमा ठूलो बहस र आलोचना सिर्जना गरेको छ।
इटालीमा भएको ‘टुर दे स्की’ पछि निसिनेनलाई भान्तामा हुने अर्को प्रतियोगिताको बारेमा सोधिएको थियो। उनले आफू भान्तामा भन्दा सय गुणा बढी खुसीसाथ इटालीमा खेल्न चाहेको बताएकी थिइन्।
उनले भान्ताको हाकुनिला क्षेत्र ९० को दशकदेखि नै सोमालियाको राजधानी मोगादिसु जस्तै रहेको टिप्पणी गरेकी थिइन्। उनले त्यहाँ खेल्न आउने विदेशी खेलाडीहरूका लागि ‘कल्चरल सक’ अर्थात् सांस्कृतिक धक्का लाग्न सक्ने दाबी गरेकी थिइन्।
निसिनेनको टिप्पणी सार्वजनिक भएपछि फिनल्यान्डको स्की संघले उक्त टिप्पणीलाई ‘अनुचित र अनुपयुक्त’ भनेको छ। संघले कुनै पनि प्रकारको रंगभेद स्वीकार्य नहुने स्पष्ट पारेको छ।
निसिनेनले स्की संघको विज्ञप्तिमार्फत आफ्नो गल्ती स्वीकार गरेकी छन्। “मैले दिएको टिप्पणी अनुपयुक्त थियो र म यसका लागि हृदयदेखि माफी माग्छु,” उनले भनेकी छन्।
चिनिएका खेलाडीका यस्ता टिप्पणीले आप्रवासी समुदायमा नकारात्मक असर पार्न सक्ने भन्दै सामाजिक सञ्जालमा समेत उनको भनाइको विरोध भएको छ।
भान्ताका मेयरको कडा अभिव्यक्ति
भान्ताका मेयर पेक्का तिमोनेनले निसिनेनको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। सन् २०२६ मा आएर पनि समाजको विविधतालाई स्वीकार गर्न नसक्नु दुःखद भएको स्थानीय फिनिस भाषाका मिडियालाई दिएको प्रतिक्रियामा उनले बताएका छन्।
मेयर तिमोनेनका अनुसार भान्ता र हेलसिन्की क्षेत्रमा संसारभरका मानिसहरू बस्छन् र अनुभवी खेलाडीले युरोपका ठुला सहरहरूको विविधता बुझ्नुपर्छ।
चिनिएका खेलाडीका यस्ता टिप्पणीले आप्रवासी समुदायमा नकारात्मक असर पार्न सक्ने भन्दै सामाजिक सञ्जालमा समेत उनको भनाइको विरोध भएको छ।
निसिनेन आफैँ भने हेलसिन्कीमा बस्छिन् तर उनी बस्ने क्षेत्र भान्ताको सिमाना नजिक पर्छ। यो सिजनमा राम्रो फर्ममा रहेकी उनी ओलम्पिक छनोटको दौडमा समेत सामेल छिन्।
भान्ता र हेलसिन्की क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली आप्रवासीहरू पनि बसोबास गर्छन्।





