संक्षेपमा
- ठूला राष्ट्रविरुद्ध कडा अभिव्यक्ति दिएका बालेन फिनिस मिडियाको चर्चामा।
- जेनजी आन्दोलन पछिको पहिलो निर्वाचनका रुपमा चित्रित।
- शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएकोमा फिनल्यान्ड राजदुतावासले दियो बधाई।
नेपालमा हिजो सम्पन्न संसदीय निर्वाचनलाई फिनल्यान्डका सञ्चारमाध्यमले गहिरो चासोका साथ कभरेज गरेका छन्।
फिनल्यान्डमा सबैभन्दा धेरै पढिने Helsingin Sanomat र सार्वजनिक प्रसारक YLE जस्ता प्रमुख मिडियाले युवा पुस्ताको समर्थन पाएका बालेन र नेपालको पछिल्लो राजनीतिक उथलपुथललाई प्राथमिकता दिएका हुन्।
Helsingin Sanomat ले पूर्व र्यापर तथा काठमाडौंका मेयर बालेन प्रधानमन्त्री बन्ने दौडमा रहेको र उनले आक्रोशित जेनजी पुस्ताको बलियो साथ पाएको भनेर लेखेको छ।
गत नोभेम्बरमा बालेनले फेसबुकमार्फत अमेरिका, भारत र चीन जस्ता शक्ति राष्ट्रविरुद्ध कडा अपशब्द प्रयोग गरेको विषयलाई उक्त पत्रिकाले प्रमुखताका दिएको छ।
“नेपालको प्रधानमन्त्रीमा चाँडै यस्तो व्यक्ति आउन सक्छन्, जसको परराष्ट्र नीतिले सबैको ध्यान तान्ने मात्र होइन, धेरै प्रश्नहरू पनि खडा गर्ने निश्चित छ।” उक्त पत्रिकाले लेखेको छ। ” ‘** अमेरिका, **इन्डिया, **चीन।’ गएको नोभेम्बरमा बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा यसरी गाली बर्साएका थिए।“
बालेनले चार पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई चुनौती दिइरहेको कुरा पनि उक्त पत्रिकाले उल्लेख गरेको छ।
नेपाल र फिनल्यान्डको जनसांख्यिक अवस्था निकै फरक रहेको कुरा पनि उक्त पत्रिकाले औल्याएको छ।
फिनल्यान्डको औसत उमेर करिब ४४ वर्ष हुँदा नेपालको औसत उमेर २५ वर्ष मात्र छ। नेपालका करिब आधा मतदाता १८ देखि ४० वर्ष उमेर समूहका रहेको र यही युवा पुस्ता यो चुनावको निर्णायक शक्ति बनेको पनि Helsingin Sanomat ले उल्लेख गरेको छ।
अलि छोटो समाचार लेखेको YLE ले सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धको आन्दोलनमा करिब ८० जनाको ज्यान गएको र ६ महिनादेखिको अन्तरिम सरकारलाई विस्थापित गर्न करिब १ करोड ९० लाख मतदाताले मतदान गरेको भनेर उल्लेख गरेको छ। स्थानीय पत्रिका Etelä-Suomen Sanomat ले पनि YLE कै भाषामा निर्वाचनका विवरण समेटेर लेखेको छ।
यसैबीच काठमाडौंस्थित फिनिस दूतावासले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाललाई बधाई दिएको छ। दूतावासले नेपालसँगको लामो साझेदारीलाई महत्त्व दिँदै आगामी दिनमा सहकार्य थप बलियो बनाउने बताएको छ।





