.संक्षेपमा.
- रुक्मिणी भट्टराईको अध्यक्षतामा आगामी दुई वर्षका लागि २३ सदस्यीय नयाँ कार्यसमिति गठन।
- नयाँ कार्यसमितिमा नयाँ पुस्ताका युवाहरूको उल्लेख्य सहभागिता।
- फिनल्याण्डमा रहेका नेपालीहरूको हित र कल्याणमा केन्द्रित हुने संस्थाको कार्यदिशा।
फिनिस-नेपाली समाजको हिजो २३ जुनमा हेलसिन्कीको माल्मीमा सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ। फिनल्यान्डमा रहेको नेपालीहरूको सबैभन्दा पुरानो उक्त सामाजिक संस्थाको नेतृत्व आगामी दुई वर्षका लागि रुक्मिणी भट्टराईले गर्नेछिन्। भट्टराई अध्यक्ष रहेको २३ सदस्यीय नयाँ कार्यसमिति समाजको साधारण सभाले सर्वसम्मतिमा चयन गरेको हो। नयाँ कार्य समितिमा उल्लेख्य मात्रामा नयाँ पुस्ताका युवाहरू पनि छन्।
उपाध्यक्षमा होम कडेल र भरत गिरी, महासचिवमा निरुता भट्टराई, सचिवमा सुरज भट्टराई, सह-सचिवमा उत्सव खरेल, कोषाध्यक्षमा बिक्रम के.सी. र सह-कोषाध्यक्षमा सुष्मा खरेल चयन भएका छन्।
करिब ४ घण्टा चलेको साधारण सभामा निवर्तमान महासचिव नविन अर्यालले दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष यम बहादुर के.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। निवर्तमान अध्यक्ष भेष बहादुर काउछाले संस्थाका गतिविधिबारे जानकारी दिँदै विधान संशोधनको प्रस्ताव पेश गरेका थिए। प्रस्तुत प्रतिवेदनहरूमा संस्थाले पहिले नेपालमा सहयोग पठाउने गरे पनि अब फिनल्याण्डमा नेपाली समुदायको आकार बढेसँगै यहीँका नेपालीहरूको हित र कल्याणमा केन्द्रित हुन थालेको उल्लेख गरिएको थियो।
कार्यक्रममा हेलसिन्की नगरका नगर सदस्य कृष्ण रेग्मी, भान्ता नगरका नगर सदस्य शेखर आचार्य, तथा समाजका सल्लाहकारहरू कुलमणि भण्डारी, ज्योति खरेल, नविन भट्टराई, चिरञ्जीवी अर्याल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। निर्वाचन मण्डलको भूमिकामा सुरेन्द्र बहादुर अधिकारी, डा. मनोज बस्नेत र मनोज भुसाल रहेका थिए।
संस्थाले समर पिकनिक, भलिबल प्रतियोगिता, तीजमा दर खुवाउने कार्यक्रम, दशैं कार्यक्रम तथा नेपालबाट कलाकारहरू ल्याएर विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने र स्थानीय कलाकारहरूलाई प्रवर्द्धन गर्ने जस्ता कामहरू गर्दै आएको छ।
नयाँ कार्यसमितिको पहिलो बैठकले पुरानो कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै कार्यभार सम्हालेको र अन्य विभागहरू अर्को बैठकबाट विस्तार गरिने जानकारी समाजका निवर्तमान महासचिव नविन अर्यालले नेपालीलाइनेनलाई दिए।





नयाँ कार्यसमिती २०२५-२०२७
अध्यक्ष: रुक्मिणी भट्टराई
उपाध्यक्ष: होम कडेल, भरत गिरी
महासचिव: निरुता भट्टराई
सचिव: सुरज भट्टराई
सह-सचिव: उत्सव खरेल
कोषाध्यक्ष: बिक्रम के.सी.
सह-कोषाध्यक्ष: सुष्मा खरेल
सदस्यहरु:
विशाल खरेल
सुमन अर्याल
भेष व. काउछा
विकल भण्डारी
रबिन्द्र कडेल
नविन अर्याल
गीता खत्री
कृष्ण खरेल
प्रकाश भट्टराई
राम प्र. अर्याल
सरस्वती खरेल
रेणु अर्याल
धनपती पाण्डे
लक्ष्मी अर्याल
कल्पना के.सी.





