संक्षेपमा
- फेब्रुअरी २७ सम्म मात्र सेवा तथा एप सञ्चालन हुने।
- निर्णयबाट करिब ८० जना स्थानीय कर्मचारीको रोजगारी गुम्ने।
- अरू देशमा केन्द्रित हुने फुडोराको रणनीति।
खाना तथा दैनिक उपभोग्य वस्तु डेलिभरी गर्ने कम्पनी फुडोराले फिनल्यान्डमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको छ।
लामो समयदेखि यहाँ सेवा दिँदै आएको कम्पनीले अब फिनल्यान्डको बजारबाट पूर्ण रूपमा बाहिरिने निर्णय गरेको हो।
फुडोराको मोबाइल एप र डेलिभरी सेवा आगामी फेब्रुअरी २७ तारिखसम्म मात्र सामान्य रूपमा चल्नेछन्। उक्त मितिपछि भने फिनल्यान्डमा यसका कुनै पनि सेवाहरू उपलब्ध हुने छैनन्।
कम्पनीले गत जनवरी १२ मा सुरु गरेको ‘परिवर्तन सम्बन्धी वार्ता’ सकिए लगत्तै यो सूचना जारी गरेको हो। वार्ता सुरु गर्दा नै फुडोराले फिनल्यान्डबाट बाहिरिन सक्ने सम्भावना रहेको संकेत गरेको थियो।
यो निर्णयले फिनल्यान्डमा रहेका करिब ८० जना स्थानीय कर्मचारीलाई प्रत्यक्ष असर पार्नेछ। तर सयौंको संख्यामा रहेका कुरियरहरूलाई पनि यसले असर गर्नेछ।
यो निर्णयबाट फिनल्यान्डमा रहेका धेरै नेपाली लगायतका आप्रवासी कामदारहरू पनि प्रभावित हुनेछन्। ठूलो संख्यामा आप्रवासीहरूले फुडोरामा ‘फ्रीलान्स कुरियर’ का रूपमा काम गर्दै आएका छन्।
“फुडोरा धेरै चल्दैन भन्ने त थाहा थियो, तर अहिले नै बन्द होला जस्तो लागेको थिएन,” फुडोरामा कुरियरको रुपमा काम गर्ने नेपालीलाइनेनका एक पाठकले भने।
“सबैमा अहिले अलिकति अन्यौल र चिन्ता छ। उबर इट्स आयो भने केही सहज होला भन्ने छ। नत्र गारो छ,” उनले थपे।
उनले वोल्टमा पनि घन्टौँ काम गर्दा पनि राम्रो कमाई गर्न नसकिने र नयाँले एकाउन्ट नै नपाउने समस्या रहेको बताए।
फुडोराले आफ्ना रेष्टुरेन्ट तथा पसल साझेदारहरू र डेलिभरी गर्ने कुरियरहरूलाई आगामी प्रक्रियाबारे छुट्टै जानकारी गराउने बताएको छ।
फिनल्यान्डमा अपेक्षित बजार हिस्सा ओगट्न नसकेपछि र दीर्घकालीन रूपमा बलियो ब्रान्ड बनाउन कठिन देखेपछि फिनल्यान्ड छाडेर अरु बजारमा केन्द्रित हुने निर्णय फुडोराले लिएको हो।
फुडोराले सन् २०१५ देखि फिनल्यान्डमा सेवा सुरु गरेको थियो। बन्द हुनु अघिसम्म यसको सेवा यहाँका १०० भन्दा बढी सहर तथा नगरपालिकाहरूमा विस्तार भइसकेको थियो।
फिनल्यान्डको ‘फुड डेलिभरी’ बजारमा फुडोराको मुख्य प्रतिस्पर्धीका रूपमा वोल्ट (Wolt) रहेको छ। फिनल्यान्डमै स्थापना भएको वोल्टको बजार हिस्सा यहाँ निकै बलियो छ, जसका कारण फुडोरालाई प्रतिस्पर्धा गर्न कठिन हुँदै आएको थियो।





