.संक्षेपमा.
- फिनल्यान्डमा कफीको मूल्य समरको उच्च विन्दुबाट घट्यो।
- हेलसिन्कीमा एक प्याकेट कफीको मूल्य ब्रान्ड र पसल अनुसार लगभग ८ देखि ११ युरोसम्म।
- कच्चा कफीको विश्वव्यापी मूल्यमा आएको परिवर्तनले उपभोक्ता मूल्यमा प्रत्यक्ष असर।
फिनल्यान्डमा बसोबास गर्ने कफी पारखीहरूका लागि राहतको खबर छ। समरमा निकै महँगिएको कफीको मूल्य शरद ऋतु सुरु भएसँगै घट्न थालेको हो।
हालै हेलसिन्कीका विभिन्न सुपरमार्केटहरूमा गरिएको मूल्य तुलनाले चर्चित ब्रान्डका कफीहरूको मूल्यमा कमी आउँदै गएको देखिएको हो।
फिनिस भाषाको ट्याबलोइट पत्रिका इल्ता सानोमातले हेलसिन्कीका एस-मार्केट, के-सुपरमार्केट, लिडल, आलेपा र के-मार्केट जस्ता प्रमुख पसलहरूमा मूल्य सर्वेक्षण गरेको थियो।
सर्वेक्षणमा प्रेसिडेन्टी, युह्ला मोक्का र कुल्ता काट्रिना जस्ता लोकप्रिय ब्रान्डहरू समावेश थिए।
सर्वेक्षणका अनुसार सबैभन्दा सस्तो कफी हेलसिन्की केन्द्रमा रहेको आलेपा सुपरमार्केटमा पाइयो, जहाँ एक प्याकेट ‘कुल्ता काट्रिना परम्परागत’ को मूल्य ७.९५ युरो थियो। सबैभन्दा महँगो ‘पाउलिग क्याफे न्यु योर्क’ के-मार्केटमा ११.१५ युरोमा बिक्री भइरहेको थियो।
अन्य लोकप्रिय ब्रान्डहरू जस्तै ‘युह्ला मोक्का’ को मूल्य ८.३५ देखि ८.९९ युरोको बीचमा थियो। त्यस्तै ‘प्रेसिडेन्टी’ कफीको लागि उपभोक्ताले ९.०५ देखि १०.३५ युरोसम्म तिर्नुपर्ने देखियो।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा कफीको मूल्यमा ८९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
अझै सस्तिने आशा
फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार यो वर्षको जनवरीदेखि जुलाईसम्म कफीको मूल्य ३५.१ प्रतिशतले बढेको थियो, जुन अहिलेसम्मकै उच्च हो। तर त्यसपछि मूल्यमा गिरावट आउन थाल्यो र सेप्टेम्बरसम्ममा करिब १७.५ प्रतिशतले घटिसकेको छ।
मूल्य केही घटे पनि गत वर्षको तुलनामा कफी अझै १६.४ प्रतिशतले महँगो छ। पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा कफीको मूल्यमा ८९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
सुपरमार्केट चेन एस-ग्रुपका बिक्री प्रबन्धक मिक्को कोभालाइननका अनुसार कच्चा कफीको मूल्यमा आएको परिवर्तनले उपभोक्ता मूल्यमा गिरावट आएको हो।
उनले अहिलेको आर्थिक अवस्थामा कफीमा दिइने छुटहरू ग्राहकका लागि थप आकर्षक बनेको बताए। केस्को र लिडल जस्ता अन्य बिक्रेताहरूले पनि कफीको मूल्यमा केही राहत मिलेको र छुटका सामानहरूमा उपभोक्ताको चासो बढेको स्वीकार गरेका छन्।
यो वर्ष कफी उत्पादन राम्रो भएकाले कफीको मूल्य अझै सस्तो हुने पनि विभिन्न प्रक्षेपणले देखाएका छन्।





