…संक्षेपमा.
- १३ अप्रिल मा सम्पन्न निर्वाचनमा नेपाली मूलका तीन जना विजयी भएका हुन्।
- रेग्मी र आचार्य पहिलो पटक नगर सदस्य बनेका हुन्, रिजाल भने पुनः निर्वाचित भएका हुन्।
- फिनल्यान्डमा नेपालीहरूको संख्या बढेसंगै राजनीतिक सहभागिता पनि बढेको छ।
हेलसिंकी, १४ अप्रिल २०२५ – फिनल्यान्डमा १३ अप्रिलमा सम्पन्न नगर निर्वाचनमा तीन नेपाली मूलका उम्मेदवारहरू विजयी भएका छन्। हेलसिंकीबाट कृष्ण रेग्मी, भान्ताबाट शेखर आचार्य र सेइनायोकीबाट ग्याविन रिजाल नगर परिषद् सदस्यमा निर्वाचित भएका हुन्। विजयी सबैजना सोसल डेमोक्रेटिक पार्टी (SDP) बाट उम्मेदवार बनेका थिए।
रेग्मी र आचार्य पहिलो पटक नगर परिषद् सदस्य बनेका हुन्। रिजाल भने यसअघि पनि नगर परिषद् सदस्यको रूपमा काम गरिसकेका छन् र यसपटक पुनः निर्वाचित भएका हुन्।
फिनल्यान्डको राजधानी हेलसिंकीबाट उम्मेदवार बनेका रेग्मीले ८६५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनले हेलसिंकीका Kivikko, Jakomäki, Siltamäki, र Kontula लगायतका क्षेत्रबाट धेरै मत प्राप्त गरेका थिए। विगत १६ वर्ष देखि फिनल्यान्डमा बसोबास गर्दै आएका ४४ वर्षीय रेग्मीले एमबीए सम्मको अध्ययन गरेका छन् भने हेलसिंकीकै एक व्यावसायिक स्कुल (vocational school)मा शिक्षकको रूपमा कार्यरत छन्।

फिनल्यान्डमा नेपालीहरूको संख्या बढेसंगै राजनीतिक सहभागिता पनि बढेको छ।
भान्ताबाट विजयी आचार्यले ४२० मत प्राप्त गरेका थिए। उनले भान्ता सहरका Rastimäki, Jokiniemi, र Koivukylä लगायतका क्षेत्रबाट राम्रो मत प्राप्त गरेका थिए। ४२ बर्से आचार्य अमेरिकाबाट फिनल्यान्ड आएका हुन्। उनले पनि एमबिए सम्मको अध्ययन गरेका छन् भने फिनल्यान्डका विभिन्न व्यावसायिक फर्महरूमा काम गरेका छन्। उनी गैर आवासीय नेपाली सङ्घ फिनल्यान्डका पूर्व अध्यक्ष पनि हुन्। आचार्यले नगर परिषद्का अलावा भान्ता र केराभा सहरको क्षेत्रीय सभामा पनि उम्मेदवारी दिएका थिए। आचार्य त्यसमा पनि ५६७ मत ल्याई विजयी भएका छन्।
फिनल्यान्डको उत्तरी भागमा रहेको सेइनायोकी सहरमा विजयी भएका ३५ वर्षीय रिजालले २१३ मत प्राप्त गरेका थिए। विद्यार्थीको रूपमा फिनल्यान्ड आएका रिजालले बिबिए पढेका छन् भने नर्सिङ् पढिरहेका छन्। उनले सन् २०१७ को Voice of Finland मा पनि सहभागी भएर चर्चा बटुलेका थिए।
यसपालिको फिनल्यान्डको स्थानीय निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (SDP) ले भारी सफलता हात पारेको छ भने आप्रवासीहरू प्रति अनुदार मानिने फिन्स पार्टीले नराम्रो हार व्यहोरेको छ। फिनल्यान्डको स्थानीय निर्वाचनमा मतदान गर्न फिनल्यान्डको नागरिक भने हुनु पर्दैन। फिनल्यान्डमा २ वर्ष बसोबास गरेका विदेशी नागरिकलाई समेत स्थानीय निर्वाचनमा मत हाल्न दिने कानुनी व्यवस्था फिनल्यान्डमा रहेको छ।





