गैर-आवासीय नेपाली सङ्घ (NRNA) फिनल्यान्डको आयोजनामा हेलसिन्कीमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ। हेलसिन्कीको माउनुलास्थित Stadin Yhteisötalo मा आयोजित “हेलसिन्की नगर प्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम” मा स्थानीय निकायले प्रदान गर्ने सेवा, परिवर्तित आप्रवासन कानुन र विद्यार्थीहरूले सामना गरिरहेका चुनौतीहरू जस्ता विषयमा छलफल भएको थियो।
दिउँसो ३:०० बजेदेखि ५:४५ बजेसम्म चलेको उक्त कार्यक्रममा हेलसिन्की नगरपालिकाले परिवार, बालबालिका, विद्यार्थी, युवा, महिला, बेरोजगार व्यक्ति, र उद्यमीहरूलाई प्रदान गर्ने विभिन्न सेवा र अवसरहरूबारे जानकारी गराइएको थियो। कार्यक्रममा हेलसिन्कीका नगर सदस्य (सिटी काउन्सिलर) कृष्ण रेग्मीले माथि उल्लेखित विषयहरू समेटेर आफ्नो प्रस्तुती दिएका थिए। रेग्मीले सबैलाई जागरूक भएर कर्म गर्न र आवश्यक परेका बेला सहयोग माग्न नहिचकिचाउन प्रेरित गरेका थिए। सहभागीहरूले रेग्मीसँग आफ्ना जिज्ञासा पनि राखेका थिए।
कार्यक्रमका मुख्य अंशहरू नेपालीलाइनेनले फेसबुक लाइभ मार्फत प्रसारण गरेको थियो।
कार्यक्रममा नर्डिक लिगल सोलुसन्स (Nordic Legal Solutions) का प्रमुख कार्यकारी अधिकृत तथा आप्रवासन कानुन विज्ञ शम्सुल आलमले फिनल्यान्डको आप्रवासन कानुनमा भएका हालैका परिवर्तनहरूबारे जानकारी दिएका थिए। उनले आप्रवासन कानुनमा भएका पछिल्ला परिवर्तनहरूले फिनल्यान्डमा बस्ने नेपाली, बङ्गाली, भारतीय लगायतका समुदायका सदस्यहरू प्रभावित भएको आफूले देखेको बताएका थिए।
त्यसै गरी लाउरिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेज (Laurea University of Applied Sciences) का वरिष्ठ लेक्चरर दीपक क्षेत्रीले फिनल्यान्डको आप्रवासन निकाय (मिग्री) ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अध्ययन क्रेडिटमाथि कडा निगरानी गरिरहेको बताएका थिए। उनका अनुसार आवश्यक क्रेडिट पूरा नगर्ने विद्यार्थीहरूले मिग्रीबाट स्पष्टीकरण सोधिएका स्वचालित इमेलहरू प्राप्त गरिरहेका छन्। क्षेत्रीले मिग्रीको पहुँच विद्यार्थीको शैक्षिक रेकर्डसम्म रहेको देखिएको बताएका थिए।
गैर-आवासीय नेपाली सङ्घ (NRNA) फिनल्यान्डका अध्यक्ष लभ उपाध्यायले आसन्न नेपाल दिवस र अगस्ट ३१ मा हुन गइरहेको गैर-आवासीय नेपाली सङ्घ फिनल्यान्डको साधारण सभाका बारेमा जानकारी दिएका थिए। उपाध्यायले विद्यार्थीहरूले खेपेका बिमा सम्बन्धी समस्या र एनआरएनए फिनल्यान्डले सहजीकरण गरेको पासपोर्ट घुम्ती शिविरका बारेमा पनि बोलेका थिए।
के छन् फिनल्यान्डमा नेपालीका मुख्य समस्या?
कार्यक्रममा उपस्थित सहभागीहरूले उठाएका विषयका आधारमा हेर्दा फिनल्यान्डमा बस्ने नेपालीको मुख्य समस्या आप्रवासन सम्बन्धी समस्या र बेरोजगारी रहेको देखिन्छ। कार्यक्रममा भिसा सम्बन्धी समस्या (भिसा नवीकरण, पिआर, आदी) मुख्य रूपमा उठेको थियो भने काम पाउन गारो भएको अवस्था पनि चर्चाको विषय बनेको थियो। एक जना सहभागीले जति प्रयास गर्दा पनि आफ्नो बच्चाका लागि उपयुक्त द्वैभाषिक/अन्तर्राष्ट्रिय विद्यालय पाउन नसकेको गुनासो पनि पोखेका थिए।
कार्यक्रमका सहभागीहरूले नेपालीलाइनेनसँग कुरा गर्दै कार्यक्रम अत्यन्तै उपयोगी र जानकारीमूलक रहेको बताए।
कार्यक्रममा विद्यार्थीहरूका लागि विश्वसनीय स्रोतबाट बिमा गराउन, कामदारहरूलाई ट्रेड युनियनमा सामेल हुन, आवश्यक परेमा विद्यालयको नर्सको सेवा लिन, र प्रभावकारी तरिकाले रोजगारी खोज्न सुझाव दिइएको थियो। साथै, मानसिक स्वास्थ्यको ख्याल राख्न र आवश्यक परेमा व्यावसायिक मद्दत लिन पनि प्रोत्साहित गरिएको थियो।
कार्यक्रममा दिइएका मुख्य सुझाव
- विद्यार्थीहरूका लागि बीमा निकै महत्त्वपूर्ण छ। बीमा भरपर्दो र विश्वसनीय ठाउँबाट लिनुपर्छ।
- यदि काम गरिरहनु भएको छ भने श्रमिक संघ (अर्थात् युनियन/ammattiliitto) मा जोडिनुहोस्। यसका धेरै फाईदा छन्।
- हरेक कलेज/विश्वविद्यालयमा नर्स सेवा उपलब्ध छ, त्यो प्रयोग गर्नुहोस्।
- आप्रवासन नियम नतोड्नुहोस्। पढ्न आउनुभएको हो भने पढाई त्यसै नछोड्नुहोस्।
- कामका लागि नेटवर्किंग धेरै महत्वपूर्ण छ। विभिन्न आवेदन विकल्पहरू (जस्तै फरक कामका लागि फरक सिभी) प्रयोग गर्नुहोस्।
- आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुहोस्। नेपालमा रहेको परिवार र साथीभाईसंग सम्पर्कमा रहनुहोस्।
- आवश्यक पर्दा सक्रिय रूपमा व्यावसायिक सहायता खोज्नुहोस्। फिनल्यान्डमा धेरै सहयोग उपलब्ध छ, तर त्यो सहयोग खोज्न जानुपर्छ।









