.संक्षेपमा.
- जनही १६-१७ लाख खर्च, तर ४ महिना पुरानो ६ महिने भिसामा पठाइयो।
- हेलसिन्की एयरपोर्टमै पक्राउ, शरण र मानव बेचबिखनको मुद्दा असफल।
- फिनल्यान्डले ‘सहयोग’ को वाचामा फर्कायो, नेपाल पुगेपछि पीडा र छटपटी।
फिनल्यान्डको कायानीमा दर्जनौँ नेपालीहरू ल्याएर अलपत्र पारेको विवादास्पद कम्पनीमा काम गर्न भनेर आएका तीन नेपाली कामदारहरू हेलसिन्की एयरपोर्टमै पक्राउ परेको खुलासा भएको छ। उनीहरूलाई पछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो।
पक्राउ परेका तीन मध्ये एक जनाले नेपालीलाइनेनसँगको कुराकानीमा उक्त कुरा पुष्टि गरेका हुन्। हाल उनी नेपालमा छन्। पीडितका अनुसार घटना गत अक्टोबर महिनाको पहिलो साताको हो।
उनी र अन्य दुई नेपालीले जनही १६ देखि १७ लाख रुपैयाँ एजेन्टलाई बुझाएर ६ महिनाको मौसमी भिसामा फिनल्यान्ड आएका थिए। तर उनीहरू आइपुग्दा भिसाको म्याद ४ महिना बितिसकेको थियो। त्यसै कारण उनीहरूलाई अध्यागमनले विमानस्थलमै रोकेको हो।
“एजेन्टले हामीबाट सुरुमा भनेको भन्दा धेरै पैसा माग्यो,” पीडित भन्छन्। “त्यसै कारण भिसा आएपछि पनि पैसा जुटाउन समय लाग्यो र पैसा ढिला दियौँ।”
“हामीले नेपाल छोड्दा भिसा लागेको ४ महिना भैसकेको थियो,” उनी थप्छन्। “एजेन्टले ६ महिनाभित्र जहिले गए पनि हुन्छ, समस्या केही हुँदैन भनेको थियो। त्यसैले हामी भिसा थोरै बाँकी भए पनि हिँड्यौँ।”
उनीहरू फिनल्यान्ड आइपुग्दा भिसाको म्याद सकिन लागेकोले अध्यागमनमा पक्राउ परे। भिसाकै लागि त्यत्रो पैसा खर्च गरिसकेका उनीहरूलाई नेपाल फर्किन मन थिएन। उनीहरूले फिनल्यान्डमै शरण (अर्थात् शरणार्थीको दर्जा) मागे।
“हामीलाई शरणार्थी केन्द्रमा राखियो, तर हाम्रो बयान मिलेन,” पीडित भन्छन् । “शरण कसरी पाइन्छ भन्ने पनि थाहा भएन। हामीले जे-जे भएको हो वास्तविक कुरा भन्यौँ। उनीहरूले ती आधारमा शरण दिन नसक्ने बताए।”
त्यसपछि उनीहरूले आफूहरू मानव बेचबिखनमा परेको भन्दै उजुरी पनि गरे। तर पीडितका अनुसार उनीहरूले “त्यहाँबाट पनि न्याय पाएनन्।”
पीडितले आफूहरू अन्य नेपालीहरू ल्याएर कायानीमा अलपत्र पारेको कायानीको कम्पनीमै आउन लागेको पुष्टि गरे।
पीडितको दाबी: फिनल्यान्डले दिएको थियो सहयोगको बाचा
पीडितले आफूहरू अन्य नेपालीहरू ल्याएर कायानीमा अलपत्र पारेको कायानीको कम्पनीमै आउन लागेको पुष्टि गरे। नेपालीलाइनेनले उनको फिनल्यान्डको भिसा, उक्त कम्पनीसँगको कार्य-सम्झौता लगायतका कागजपत्र हेरेको छैन, यद्यपि उनले दिएका विवरणका आधारमा उनको दाबी सत्य रहेको पत्याउन स्पष्ट आधारहरू छन्।
उनले दिएको विवरण र फिनल्यान्डमै रहेका अन्य पीडितहरूको बयानका विवरणहरू (जस्तै कम्पनी र एजेन्टका नामहरू, तिरेको पैसा, भर्ना प्रक्रिया) पुरै मेल खान्छन्।
फिनिस अधिकारीहरूले उनीहरूलाई नेपाल फर्किएमा “सहयोग” मिल्ने वाचा गरेको पीडित बताउँछन्।
“फिनल्यान्ड सरकारबाट सहयोग मिल्छ भन्ने बाचामा हामी नेपाल फर्कियौँ,” पीडित भन्छन्।
उनीहरूलाई फिनल्यान्डमै एउटा फारम भर्न लगाइयो र नेपालमा रहेको ‘कारितास नेपाल’ (Caritas Nepal) नामक संस्थामा बुझाउन भनिएको थियो। उनीहरूलाई अक्टोबरको तेस्रो सातामा नेपाल फिर्ता पठाइएको हो।
“कारितास नेपालले यो प्रक्रिया यता (नेपाल) बाट हुँदैन, उतै (फिनल्यान्ड) बाट हुनुपर्छ भन्यो,” पीडितले दुखेसो पोखे। “हामी १७ लाख खर्चेर आयौँ, तर अहिले न काम पायौँ, न त वाचा गरेको सहयोग नै।”
कारितास नेपालले फिनल्यान्डको परराष्ट्र मन्त्रालयको सहयोगमा कमजोर अवस्थामा रहेका आप्रवासी कामदारहरूलाई सहयोग गरिन्छ भनेर आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
कायानीको कम्पनीले जङ्गलमा काम लगाउन भनेर ल्याएका ४३ अन्य नेपालीहरू हाल फिनल्यान्डमा अलपत्र अवस्थामा छन् र ठगी र शोषणको सिकार भएको भन्दै न्यायको लडाई लडिरहेका छन्। यो मामिलामा कम्तिमा तिनजना पक्राउ परेका छन्।
उक्त कम्पनीले नेपाली कामदारहरूलाई प्रभावमा पार्न आफ्नो पुरै वेभसाइट नेपाली भाषामा समेत बनाएको थियो। नेपालीका अलावा अंग्रेजी, फिनिस, र रसियन भाषामा उक्त कम्पनीको वेभसाइट रहेको देखिन्छ।





