संक्षेपमा
- मिस फिनल्यान्ड काण्डले पायो व्यापक अन्तर्राष्ट्रिय प्रेस कभरेज।
- प्रधानमन्त्री ओर्पोद्वारा नेताहरूको व्यवहारलाई ‘केटाकेटीपन’ भन्दै आलोचना।
- जापान र चीनमा फिनल्यान्ड बहिष्कारको आवाज उठ्यो।
मिस फिनल्यान्ड २०२५ सारा जाफ्सेको आँखा तन्काएर खिचिएको फोटोमा “चिनियाँसँग खाना खाँदै” भन्ने क्याप्सन राखेपछि सुरु भएको विवादले अहिले फिनल्यान्डको राजनीति र कूटनीति क्षेत्रलाई नै तरङ्गित बनाएको छ।
जाफ्सेको समर्थनमा सत्ताधारी फिन्स पार्टीका सांसदहरूले त्यस्तै इशारा गरेर फोटो पोस्ट गरेपछि यो विषयले अन्तर्राष्ट्रिय रूप लिएको हो। नेताहरूको सोही हरकतका कारण फिनल्यान्डको प्रतिष्ठामा समेत गम्भीर आँच आएको फिनिस भाषाका स्थानीय पत्रिकाहरूले लेखेका छन्।
फिन्स पार्टीका सांसदहरू जुहो एरोला, काइसा गारेडेव, र युरोपेली सांसद सेबास्टियन तुन्क्युनेनले जाफ्सेको समर्थनमा आँखा तन्काएका फोटोहरू सामाजिक संजालमा राखेका थिए। तर उनीहरूको उक्त कदमले “जातीय विभेदलाई राजनीतिक संरक्षण मिलेको” सन्देश विश्वभर प्रवाह भयो।
जाफ्सेको आँखा तन्काएको तस्बिरलाई खासगरि पूर्वी एसियाली समुदायले जातीय विभेदकारी र रङ्गभेदी मानेका छन्। चौतर्फी आलोचनापछि गत साता उनको मिस फिनल्यान्डको उपाधि खोसिएको थियो।
जापान र चीनबाट कडा प्रतिक्रिया
चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले यो प्रकरणलाई प्रमुखता दिँदै फिनिस राजनीतिज्ञहरूको व्यवहारको निन्दा गरेको छ। जापानी मिडिया असाही शिम्बुनले पनि नेताहरूको इशारालाई ‘एसियालीको अपमान’ ठानेको छ।
फिनल्यान्डस्थित जापानी राजदूतावासले सामाजिक सञ्जालमा जातिवाद विरुद्ध निरन्तर प्रयास आवश्यक रहेको बताएको छ।
सामाजिक सञ्जालमा एसियालीहरूले फिनल्यान्ड भ्रमण नगर्न आह्वान गरेका छन्। जापानमा फिनएयरको एक्स अकाउन्टमा घटनालाई जातिवादी भन्दै धेरै टिप्पणी आएको फिनएयरले बताएको छ।
फिनएयरका अनुसार जापानी यात्रुहरूले उडान रद्द गर्ने र फिनल्यान्ड भ्रमण नगर्ने चेतावनी पनि दिएका छन्। फलस्वरूप कम्पनीको व्यापारमा प्रत्यक्ष असर पारेको छ। जापान फिनएयरको लागि एक प्रमुख बजार हो। तर यो विवादले दशकौँदेखि बनेको सम्बन्धमा चिसोपना ल्याएको छ।
दक्षिण चीन मर्निङ पोस्ट, चोसुन इल्बो (दक्षिण कोरिया) लगायतका मिडियाले पनि यो प्रकरणलाई ‘फिनल्यान्डको जातिवाद समस्या उजागर गर्ने घटना’का रूपमा उल्लेख गरेका छन्।
साउथ चाइना मर्निङ पोस्टले पनि विस्तृत रिपोर्टिङ गर्दै यसलाई “एन्टी-चाइनिज रेसिज्म स्क्यान्डल” भन्दै उल्लेख गरेको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पनि यो विवादलाई कभर गर्दै ‘एसियाली समुदायप्रति भएको अपमान’ भनेको छ। सामाजिक सञ्जालमा नेटिजनहरूले जाफ्सेको माफीलाई अस्वीकार गर्दै “धेरै निराशाजनक” र “यो २०२५ हो” भनेका छन्।
सामाजिक सञ्जालमा धेरैले फिनल्यान्ड ‘सभ्य र शिक्षित देश’ भनेर सोचेको तर यथार्थमा अर्कै देखिएको भन्दै कटाक्ष गरेका छन्।
प्रधानमन्त्री पेत्तेरी ओर्पोले आफ्नै सरकारका साझेदार दलका सांसदहरूको उक्त हरकतलाई “केटाकेटीपन” र “विचारहीन” भन्दै आलोचना गरेका थिए।
फिनल्यान्डमै पनि व्यापक विरोध
प्रधानमन्त्री पेत्तेरी ओर्पोले आफ्नै सरकारका साझेदार दलका सांसदहरूको उक्त हरकतलाई “केटाकेटीपन” र “विचारहीन” भन्दै आलोचना गरेका थिए।
ओर्पोले यस्ता गतिविधिले फिनल्यान्डको अन्तर्राष्ट्रिय छवि धमिल्याएको र देशलाई हानि पुर्याएको बताएका थिए। उनले यस्तो व्यवहार फिनल्यान्डमा स्वीकार्य नहुने स्पष्ट पारेका थिए।
यद्यपि विपक्षी दलहरूले प्रधानमन्त्रीले मुखले बोलेपनि त्यसो गर्नेहरूका विरुद्ध कुनै ठोस कारबाही गर्न नसकेको भन्दै आलोचना गरिरहेका छन्।






