फिनल्यान्डमा अध्ययन गर्न आउने हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको आँखामा एउटा सपना हुन्छ—गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य। तर यहाँको यथार्थसँग ठोक्किँदा त्यो सपनाको यात्रा सधै सोचेजस्तो सहज भने हुँदैन।
काम गरेर खान-बस्न खर्च जुटाउने र अनुभव पनि बटुल्ने दौडमा धेरै विद्यार्थीहरूले पढाइ र कामको सन्तुलन मिलाउन सङ्घर्ष गरिरहेको हामीले पछिल्लो समयमा देखेका छौँ। तर यस्तै सङ्घर्षका बिच कानुनी सीमाहरू प्रस्ट नबुझ्दा कतिपय विद्यार्थीले आफूले त्यति गम्भीर नठानेका निर्णयहरूकै कारण ‘रेसिडेन्स परमिट’ नवीकरणमा धेरै समस्या भोगिरहेका छन्। अर्को शब्दमा भन्दा अनजानमै वा हेलचेक्र्याइँका कारण उनीहरूले एउटा खतरनाक रेखा पार गरिरहेका हुन्छन् जसले उनीहरूको भविष्य नै जोखिममा पार्छ— त्यो हो अध्यागमन कानुनको रेखा।
धेरै विद्यार्थीको एउटा साझा भ्रम छ: “एक पटक फिनल्यान्ड छिरेपछि सब थोक सहज हुन्छ।” धेरैलाई लाग्न सक्छ विद्यार्थी भिसा त फिनल्यान्ड प्रवेश गर्ने एउटा माध्यम मात्र हो। तर सत्य के हो भने तपाईँको ‘विद्यार्थी आवासीय अनुमति’ (Student Residence Permit) एउटा करार हो, जसको पहिलो र अन्तिम सर्त ‘अध्ययन’ हो। जब कामको आकर्षक अवसरले पढाइलाई ओझेलमा पार्छ, तब तपाईँको आवासीय अनुमतिको जग हल्लिन थाल्छ, र यो कुरा धेरैले अनुमति नवीकरण गर्ने बेला मात्र थाहा पाउँछन्।
फिनिस अध्यागमन सेवा (मिग्री) ले तपाईँको अनुमति नवीकरण गर्दा हेर्ने पहिलो कुरा तपाईँको शैक्षिक प्रगति हो। तपाईँले कति क्रेडिट पूरा गर्नुभयो? कलेजमा कत्तिको नियमित हुनुहुन्छ? यदि पढाइमा ‘ग्याप’ छ भने, त्यसको चित्तबुझ्दो कारण के हो?
कतिपय विद्यार्थीहरू कलेजले दिएको ‘स्टडी ब्रेक’ को सुविधालाई मिग्रीको स्वीकृतिको रूपमा लिने गल्ती गर्छन्। तर कलेजको लचकता र मिग्रीको नियम दुई फरक कुरा हुन्। “कलेजले त मानेको छ, के होला र!” भनेर हुँदैन। मिग्रीले स्वतन्त्र रूपमा अलग्गै मूल्याङ्कन गर्छ। यदि तपाईँको आम्दानी विद्यार्थीको लागि अस्वाभाविक रूपमा उच्च देखियो वा शैक्षिक क्रेडिट अत्यन्तै न्यून भयो भने मिग्रीले तपाईँलाई प्रश्न गर्न सक्छ। तपाईँको जवाफले तपाईँको मुख्य उद्देश्य पढाइ नभएर काम हो भन्ने प्रमाणित गर्यो भने तपाईँको ‘रेसिडेन्ट परमिट’ रद्द हुनेबाहेक अर्को विकल्प रहँदैन।
फिनल्यान्डले विद्यार्थीहरूलाई हप्तामा औसत ३० घण्टा काम गर्न दिने नियम ल्याएर धेरैलाई ठुलो राहत भएको छ। तर यही सुविधा कतिपयका लागि भने घुमाउरो पाराले समस्या पनि बनिरहेको छ।
फिनल्यान्डले विद्यार्थीहरूलाई हप्तामा औसत ३० घण्टा काम गर्न दिने नियम ल्याएर धेरैलाई ठुलो राहत भएको छ। तर यही सुविधा कतिपयका लागि भने घुमाउरो पाराले समस्या पनि बनिरहेको छ।
जब कुनै कम्पनीले ‘फुल-टाइम’ कामको प्रस्ताव गर्छ, धेरै विद्यार्थीहरू “यस्तो अवसर फेरि आउँदैन” भन्ने सोचेर हाम फाल्छन्।तर बुझ्नुपर्ने कुरा के हो भने जुन दिन कसैले विद्यार्थीको हैसियत बिर्सेर पूर्ण-कालीन कर्मचारीको भूमिका अँगाल्न सुरु गर्छ, त्यही दिन विद्यार्थी अनुमतिको सर्त तोडिन्छ। पूर्ण-कालीन काम गर्नका लागि ‘वर्क परमिट’ चाहिन्छ, ‘स्टुडेन्ट परमिट’ होइन। यो सामान्य प्रक्रियागत भिन्नता जस्तो लागे पनि यही सानो भुलले फिनल्यान्डमा तपाईँको कानुनी हैसियतलाई नै अवैध बनाइदिन सक्छ।
बढ्दो छ समस्या
पछिल्लो समय फिनल्यान्डले आप्रवासन नीति कडा बनाउँदै लगेको छ। पहिले काम गरेको वा नगरेको त्यति कडाइका साथ हेर्ने चलन थिएन, तर अहिले स्थिति ठिक उल्टो छ।
“एक वर्ष काम गरेर पैसा कमाएपछि पढाइ त फेरि सुरु गर्न पाइहाल्छ नि भन्ने लाग्यो।” एक विद्यार्थीले आफ्नो कटु अनुभव सुनाउँदै भने। “तर मिग्रीले पढाई छाडेर काममा लागेको स्वीकार गरेन।”
अन्ततः मिग्रीले उनको रेजिडेन्ट परमिट नवीकरण गरेन र उनले फिनल्यान्ड छोड्नुपर्यो।
अहिले यो कुनै एक व्यक्तिको कथा मात्र होइन। यो फिनल्यान्डमा रहेका सयौँ विद्यार्थीहरूको सम्भावित नियति हो, जो जानकारीको अभावमा वा क्षणिक लोभमा परेर आफ्नो दीर्घकालीन भविष्यसँग खेलबाड गरिरहेका छन्। जति पढाइ झन्झटिलो लाग्छ, काम उति नै आकर्षक देखिन्छ। तर यो आकर्षणले तपाईँको भविष्य नै जोखिममा पार्न सक्छ।
जानकारी र सल्लाह लिनु कमजोरी होइन
फिनल्यान्डमा तपाईँको सपनाको यात्रा तपाईँको आवासीय अनुमतिमा टिकेको छ। यसलाई सुरक्षित राख्ने जिम्मा पनि तपाईँकै हो। कुनै पनि ठुलो निर्णय लिनुअघि—चाहे त्यो पढाइ रोक्ने होस् वा पूर्ण-कालीन काम सुरु गर्ने— एक पटक सोच्नुहोस्: के यो निर्णयले मेरो यहाँ बस्ने कानुनी आधारलाई बलियो बनाउँछ कि कमजोर?
सामान्य रूपमा हेर्दा मिग्री कुनै “सल्लाह केन्द्र” जस्तो नलागे पनि उनीहरूले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, फोन, र इमेल लगायतका सेवामार्फत आवश्यक जानकारी दिइरहेका हुन्छन्। कुनै पनि योजना—पढाइमा ब्रेक, कामको प्रस्ताव, वा पढाइको ढाँचा परिवर्तन अघि मिग्रीलाई लेखेर सोध्नु, वा कलेजमार्फत स्पष्टीकरण पाउनु सुरक्षित र बु्द्बिमतापूर्ण हुन्छ। भोली कुनै कानुनी झन्झट आएमा पनि तपाईँसँग लिखित कागजहरू छन् भने तपाईँको प्रमाण र दलिल बलियो हुन्छ।
कतै अमुक फेसबुक ग्रुपमा पोस्ट गरेर सल्लाह लिनुभन्दा सूचना सकेसम्म आधिकारिक स्रोतहरूबाट लिनुहोस्। जस्तै मिग्रीको वेबसाइट राम्रोसँग पढ्नुहोस्। सम्पूर्ण नियमहरू र चाहिने कागजातको सम्पूर्ण विवरण त्यहाँ अद्यावधिक हुन्छ। हो साथीभाइहरूको अनुभव पनि सुन्नुहोस्, तर सुनेको कुरा सधैँ आधिकारिक स्रोतहरूबाट ‘भेरिफाइ’ गर्ने बानी बसाल्नुहोस्। आवश्यक परे आफ्नो कलेजको अन्तर्राष्ट्रिय विद्यार्थी सेवा वा कानुनी सल्लाहकारसँग परामर्श लिनुहोस्। तपाईँलाई थाहा नै छ, भोली “अज्ञानतामा गरिएको गल्ती” भनेर कानुनले माफी त दिँदैन।
अन्त्यमा, यदि विद्यार्थीको रूपमा फिनल्यान्ड आउनुभएको हो भने यो कुरा सधैँ सम्झनुहोस्—तपाईँको फिनल्यान्ड बसाइको आधार ‘काम’ होइन, ‘पढाइ’ हो। जबसम्म यो कुरा तपाईँको प्राथमिकतामा रहन्छ, तबसम्म तपाईँको भविष्यका लागि धेरै सम्भावनाहरू हुन्छन्। हो समय चुनौतीपूर्ण छ, तर निर्णयहरू लिँदा एकदमै धेरै सोचेर, विचार गरेर, कानुनी प्रावधान भित्र रहेर र आधिकारिक स्रोतहरूसँग सोधेर, कन्सल्ट गरेर मात्र लिने बानी बसाल्नुहोस्।





