0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    नेपालीलाइनेनको ‘केराउ समाचार’ टिकटकमा ‘भाइरल’, अन्य देशबाट आयो यस्तो प्रतिक्रिया

    फिनल्यान्डमा केही नेपालीले सार्वजनिक केराउ फिल्डबाट नियम विपरीत ठूलो परिमाणमा केराउ टिपेको विषयमा नेपालीलाइनेनले प्रकाशन गरेको समाचारले सामाजिक सञ्जालमा चर्को बहस सिर्जना गरेको छ।

    .संक्षेपमा.


    • टिकटकमा १ लाख १४ हजार र फेसबुकमा १२ हजारले हेरे।
    • सामाजिक सञ्जालमा नेपाली समुदायको मिश्रित प्रतिक्रिया।
    • अरू देशमा बस्ने नेपालीले पनि सेयर गरे आफ्ना अनुभव।

    नेपालीलाइनेनले केही दिनअघि प्रकाशन गरेको फिनल्यान्डका सार्वजनिक बारीबाट केराउ टिपिएको समाचारले व्यापक प्रतिक्रिया पाएको छ। यो समाचार नेपालीलाइनेनको वेबसाइटमा अहिलेसम्मकै सबैभन्दा धेरै पढिएको समाचारमध्ये एक हो। फेसबुकमा करिब बाह्र हजारले हेरेको यो समाचार टिकटकमा भने लगभग भाइरल नै बनेको छ।

    यो समाचार तयार पार्दासम्म नेपालीलाइनेनको टिकटक पेजमा उक्त समाचारमा आधारित पोस्टले १ लाख १४ हजार भ्युज, ९५८ लाइक्स/मन पराइएको, र ११६ कमेन्ट पाएको छ। उक्त पोस्ट टिकटकमा एक हजार भन्दा धेरैले सेयर गरेका छन्।

    करिब २२ सय फलोअर्स रहेको नेपालीलाइनेनको टिकटक पेजमा यो अहिलेसम्मकै दोस्रो धेरै हेरिएको पोस्ट बनेको हो। सामान्यतया प्रत्येक पोस्टमा २ हजारदेखि १० हजार भ्युज आउने नेपालीलाइनेनको टिकटकमा यति धेरै भ्युज र प्रतिक्रिया आउनु भनेको ‘भाइरल’ हुनु सरह नै हो।

    फिनल्यान्ड र नेपालका अतिरिक्त उक्त पोस्ट पोर्चुगल, बेलायत, अस्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र डेनमार्कबाट धेरै हेरिएको छ।

    मिश्रित छ प्रतिक्रिया

    उक्त समाचारबारे सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्। धेरैले यस्तो प्रवृत्तिको उजागर गरेकोमा नेपालीलाइनेनलाई धन्यवाद दिएका छन्। उनीहरूले “जहाँ गए पनि नेपाली पारा उस्तै” भन्दै निराशा व्यक्त गरेका छन्। कोही कोहीले आफैँ पनि केराउ टिप्न जाँदा त्यस्तै दृश्यहरू देखेपछि लज्जित र स्तब्ध भएको बताएका छन्।

    एक प्रयोगकर्ताले बच्चाको स्ट्रोलरमा केराउ लुकाएर लगेको दृश्य आफूले पनि देखेको भनेका छन्। अर्काले केहीले त बोक्रा नै फालेर बोरामा केराउ मात्र भरेर लगेको भन्ने सुनेको उल्लेख गरेका छन्। कोही कोहीले नेपालीले यस्तो गर्नु सामान्य भइसकेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

    नियम विपरीत त्यसरी टिप्नु गल्ती भएको र त्यसलाई ठुलो उपलब्धि झैँ मानेर सामाजिक सञ्जालमा प्रचार गर्नु झनै ठुलो गल्ती भएको भन्ने धेरै छन्।

    पोल्यान्ड, जापान, बेल्जियम लगायत देशमा बसोबास गर्ने नेपालीहरूले पनि आफू बसेका देशमा पनि नेपालीहरूले यस्तै गर्ने गरेको अनुभव सेयर गरेका छन्।

    पोल्यान्ड बस्ने नेपालीले त्यहाँ पनि स्ट्रबेरी फिल्डमा यस्तै दृश्य देखिने बताएका छन्। जापानका एक प्रयोगकर्ताले त्यहाँ पनि नेपालीले काफल, आरु र सुन्तला जस्ता फलफूलहरू यसै गरी नियम विपरीत टिप्ने गरिएको बताएका छन्।

    सामान्य विषयलाई समाचार बनाएर नेपाली समुदायको बेइज्जत गरेको भन्ने स्वरहरू पनि देखिएका छन्।

    समाचार डिलिट गर्न आग्रह

    फिनल्यान्डको मूलधारे सञ्चारमाध्यमले लेख्नुअघि नै नेपाली समुदायलाई सचेत बनाएकोमा नेपालीलाइनेनलाई धन्यवाद दिने धेरै छन्। तर, केहीले भने “अन्य देशका नागरिकले पनि त्यस्तै गर्छन्, तर नेपालीलाई मात्रै चोरजस्तो देखाउने भाषा प्रयोग गरिएको” भन्दै आक्रोश पोखेका छन्।

    फिनल्यान्ड बस्ने सबै नेपालीको बेइज्जत भएको भन्दै समाचार हटाउन आग्रह गर्ने पनि छन्। फिनिस मान्छे र फिनल्यान्डको नगरपालिकालाई मतलब नभए पनि नेपालीलाइनेन बाठो भएर समाचार लेखेको भन्ने पनि देखिएका छन्।

    आफ्नै नेपाली समुदायको बेइज्जत गरेर आफू चर्चित बन्न खोजेको भन्दै नेपालीलाइनेनमाथि निराधार आरोप लगाउने पनि १–२ जना देखिएका छन्। कसैले चाहिँ “आफू टिप्न नपाएर रिस पोखेको हो” भन्दै व्यङ्ग गरेका छन्। केराउ पछि अब स्ट्रबेरीको समाचार बनाउनुपर्छ भन्ने पनि छन्।

    सम्पादकीय नोटः


    समुदायबाट आएको व्यापक प्रतिक्रिया हेर्दा यसबारे हामीले किन समाचार बनायौँ भन्ने कुरा केही प्रस्ट पार्नु हाम्रो जिम्मेवारी ठान्छौँ।

    फोटो र भिडियो प्रमाणसहित पटक–पटक नेपालीलाइनेनलाई समुदायकै सदस्यले सम्पर्क गरेपछि मात्र हामीले यो विषयमा समाचार बनाउने निर्णय गरेका थियौँ।

    समाचार लेख्नाले समुदायलाई हानी हुँदैन, बरु समुदाय अझ सूचित र सजग बन्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ। समाचारले हैन बरु त्यस्तै क्रियाकलाप जारी रहिरहे समुदायको ‘इमेज’ खस्किन्छ भन्ने हामीलाई लाग्छ।

    हाम्रो विचारमा यस्ता समाचार YLE वा Helsingin Sanomat जस्ता फिनल्यान्डका मूलधारका मिडियामा पुग्नु अघि नै नेपाली मिडियाबाट लेखिनु अवश्य पनि उपयुक्त हुन्छ।

    हामीलाई थाहा छ, यस्ता गतिविधि अन्य मुलुकका मानिसहरूबाट पनि हुने गर्छन्। तर हामी नेपाली भाषाको मिडिया हौँ, हाम्रा स्रोतहरू नेपाली हुन् र हाम्रा पाठकसमेत नेपाली समुदायका सदस्यहरू हुन्। हामीले प्राप्त गरेका सबै प्रमाणहरू नेपालीहरूकै थिए, त्यसैले हामीले त्यसरी नै समाचार तयार पार्यौं।

    त्यसैले, यो समाचार हटाउनुपर्ने कुनै कारण हामी देख्दैनौँ। यो समाचारले फिनल्यान्डको नेपाली समुदायलाई थप सजग र सचेत बनाएको छ भन्ने हाम्रो विश्वास छ।

    जहाँसम्म “फिनिस मानिसहरूले केही भनेका छैनन्” भन्ने कुरा छ, विभिन्न सामाजिक सञ्जालमा विदेशीहरूलाई यस्ता गतिविधिका लागि फिनिस प्रयोगकर्ताहरूले खुलेरै आलोचना गरेको धेरै उदाहरणहरू नेपालीलाइनेनले देखेको छ, पढेको छ।



    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप