0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका नेपालीले सार्वजनिक बारीबाट बोराका-बोरा केराउ टिपे, के छ नियम?

    समाचार बनाउन भन्दै नेपालीलाइनेनलाई फोन गरेका एकजनाले बोराभरि केराउ टिपेका टिकटक भिडियोहरू देखेर आफू स्तब्ध भएको बताए।

    दक्षिण फिनल्यान्डका विभिन्न सार्वजनिक बारीहरूबाट फिनल्यान्डमा बस्ने नेपालीहरूले बोराका बोरा केराउ सङ्कलन गरी नेपाली समुदायकै बेइज्जत गरेको भन्दै केही व्यक्तिहरूले नेपालीलाइनेनलाई सम्पर्क गरेका छन्। यसरी सम्पर्क गर्ने व्यक्तिहरू फिनल्यान्डमै बस्ने नेपालीहरू हुन्।

    नेपालीलाइनेनले विगत दुई सातामा यस्ता तीन अनुरोध प्राप्त गरेको छ। नेपालीलाइनेनलाई केराउ टिपेर सामाजिक सञ्जालमा राखेका कैयौँ भिडियो र फोटोहरू पनि ‘फरवार्ड’ गरिएको छ।

    नेपालीलाइनेनले हेरेका केही फोटो र भिडियोहरू सामान्य नै छन्। केराउ बारीमा केराउ टिप्दै रमाइलो गरेको र टिकटक बनाएको देखिन्छ। केही फोटो र भिडियोहरूमा भने सङ्कलन गरिएको केराउको मात्रा निकै धेरै र अस्वभाविक देखिन्छ।

    समाचार बनाउन भन्दै नेपालीलाइनेनलाई फोन गरेका एकजनाले ती टिकटक भिडियोहरू देखेर आफू स्तब्ध भएको बताए।

    “त्यसै त हामीलाई विदेशी भनेर पेलेका छन्। त्यही माथि हाम्रै समुदायका मान्छेले कहिल्यै केराउ नदेखे जसरी त्यसरी सोहोर्नु राम्रो होइन।” उनले भने। “स्ट्रबेरी टिप्ने ठाउँ होस् कि स्याउ टिप्ने गार्डेन, हाम्रो पारा जताततै त्यस्तै छ।” 

    के यसरी धेरै केराउ संकलन गर्नु गलत हो? के छ नियम?

    फिनल्यान्डका केही सार्वजनिक बारीहरूमा समर सिजनमा केराउ फलाइन्छ। सामान्यतः यो काम नगरपालिकाहरूले नै गर्ने गरेका छन्। नगरवासीहरूका लागि समरमा रमाइलो होस् भनेर यसरी केराउ टिप्ने व्यवस्था गरिएको हो।

    नेपाली समुदायसहित सबै शहरवासीहरूले यो गतिविधिमा स्वतन्त्र रूपमा सहभागी हुन सक्छन्। तर उदाहरणका लागि हेलसिन्की शहरले सबैका लागि यो अनुभव रमाइलो होस् भन्ने उद्देश्यले केही सीमाहरूको स्मरण गराएको छ। जस्तै यसरी टिपिने केराउ व्यापार वा भण्डारण प्रयोजनका लागि होइन। एउटै व्यक्तिले बारम्बार टिप्ने र ठूलो परिमाणमा टिप्ने पनि गर्नु हुँदैन।

    बारीको केराउ अलि लामो समयसम्म रहिरहोस् र सकेसम्म धेरै मान्छेले केराउ टिप्ने अनुभव चाखुन् भनेर यस्ता सिमाहरू तोकिएको हेलसिन्की नगरपालिकाले जनाएको छ।

    फिनल्यान्डमा छ ‘प्रत्येक व्यक्तिको अधिकार’ सम्बन्धी कानुन

    फिनल्यान्डमा एउटा ‘प्रत्येक व्यक्तिको अधिकार’ (फिनिसमा Jokaisenoikeus, अङ्ग्रेजीमा ‘Everyone’s Right’ वा ‘Freedom to Roam’) भन्ने एउटा पूरानो कानूनी अवधारणा छ। यसले मानिसहरूलाई सार्वजनिक मात्र हैन अरूको निजी सम्पत्तिमा पनि प्रकृतिसँग जोडिन केही निश्चित अधिकारहरू प्रदान गर्दछ। यो अधिकार अन्तर्गत निम्न कुराहरू पर्दछन्:

    • जङ्गल, ताल, र खुला ग्रामीण इलाकामा पैदल हिँड्ने, साइकल चलाउने वा स्की खेल्ने।
    • अस्थायी रूपमा क्याम्पिङ गर्ने (कसैको घरबाट उचित दूरीमा)।
    • जङ्गली फलफूल (Wild berries), च्याउ, र फूलहरू व्यक्तिगत प्रयोगको लागि टिप्ने।

    तर, यो अधिकार असीमित भने छैन। यसका केही स्पष्ट सीमाहरू छन्। प्रत्येक व्यक्तिको अधिकार प्रयोग गर्दा कसैको घर, निजी बगैँचा, वा खेती गरिएको जमिनमा अनावश्यक बाधा पुऱ्याउन पाइँदैन। प्रकृतिलाई हानि पुऱ्याउने, रूख काट्ने, हागाबिगा भाच्ने, काँचा र कलिला फलफूल सोहोर्ने, वा अनुमति बिना आगो बाल्ने जस्ता कार्यहरूमा प्रतिबन्ध छ।

    सबैभन्दा महत्त्वपूर्ण कुरा यो अधिकार व्यक्तिगत उपभोगको लागि मात्र हो। व्यावसायिक प्रयोजनका लागि वा ठूलो परिमाणमा कुनै पनि प्राकृतिक उत्पादन सङ्कलन गर्नु यो कानूनको उल्लङ्घन मानिन्छ।

    जंगलमा टिपेका बेरी र च्याउँ भने व्यवासायिक रूपमै बेच्न पनि मिल्छ। नेपालीहरूले जंगल र बाटोमा टिप्ने बेथे, सिस्नो, र निउरो पनि यही नियमभित्रै पर्छन्।

    नेपालीलाइनेनले हेरेका केही भाइरल भिडियोमा देखिएको ठूलो मात्राको केराउ सङ्कलनले भने व्यक्तिगत प्रयोगको सीमा नाघेको देखिन्छ।

    “हामी नयाँ देशमा आउँदा यहाँको कानून, संस्कृति र सामाजिक मान्यतालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो,” फिनल्यान्डमा लामो समयदेखि बस्दै आएका एक नेपाली अगुवा भन्छन्।

    “यो अधिकार व्यक्तिगत रमाइलो र सानोतिनो आवश्यकता पुरा होस् भनेर दिइएको हो। यसलाई व्यापार वा ठूलो भण्डारणको माध्यम बनाउनु हुँदैन।”

    “बाटोको छेउमा फलेका स्याउहरू पनि कलिलैमा टिपेर लगेको मैले देखेको छु,” उनी थप्छन्। “त्यो पनि राम्रो होइन। पाकेपछि २-४ वटा टिपेर खान पक्कै पाइन्छ। तर बाटोमा रोपिएका त्यस्ता फलहरू खानका लागि नभएर मुख्यतया सुन्दरताका लागि हुन् भन्ने कुरा हामीले भुल्नु हुँदैन।”

    “यहाँका मान्छेले सिधै आएर केही भन्दैनन्, तर भित्रभित्रै नराम्रो मानेका हुन सक्छन्।” उनले भने। “यस्ता घटनाले सम्पूर्ण नेपाली समुदायप्रति स्थानीयहरूको दृष्टिकोण नकारात्मक बन्न सक्छ।”

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप