विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा नेपाली समुदायको पिकनिक र पुनर्मिलन, पञ्चेबाजाले बनायो विशेष

कार्यक्रमको मुख्य आकर्षण नेपाली पञ्चेबाजा थियो। मादल, दमाहा र सनईको तालमा जब सहभागीहरू कम्मर मर्काउन थाले, लाग्थ्यो त्यो हेलसिन्कीको पार्क नभएर कुनै पश्चिमी नेपालको पहाडी चौतारी थियो।

पूर्वी हेलसिन्कीको मुस्तापुरो, मिल्ल्युपुरो पार्कमा आइतबार दिउँसो पानीका केही थोपा खसे। तर वर्षाले त्यहाँ भेला भएका नेपालीहरूको उत्साह कम गरेन।

केही बेरमै मौसम खुलेपछि चौरमा नेपाली पञ्चेबाजा घन्कियो, बालबालिकाहरू खेलमैदानतिर दौडिए, परिवार सहित आएकाहरू चकटी र म्याट ओछ्याएर बसे।

अनि फिनल्यान्डका विभिन्न सहरबाट आएका नेपालीहरूबिच भेटघाट, खानपिन, नाचगान र आत्मीय कुराकानीको सिलसिला सुरु भयो।

करिब दुई दशकदेखि निरन्तर हुँदै आएको फिनिस–नेपाली समाजको वार्षिक समर पिकनिक यो वर्ष पनि सयौँ नेपालीको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको छ।

फिनल्यान्डमा अध्ययन, रोजगारी, व्यवसाय र पारिवारिक जीवनका सिलसिलामा बसोबास गर्दै आएका नेपालीहरूका लागि यो कार्यक्रम केवल एउटा पिकनिक मात्र नभएर प्रवासमा नेपालीपन सम्झिने, पुराना साथी भेट्ने र नयाँ सम्बन्ध जोड्ने साझा चौतारी बन्ने गरेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

दिउँसो ४ बजेदेखि सुरु भएको कार्यक्रममा प्रवेश निःशुल्क थियो। आयोजकले आग्रह गरे बमोजिम नै सहभागीहरूलाई आफूले सकेको खानेकुरा, बस्नका लागि म्याट वा चकटी लिएर आएका थिए।

पञ्चेबाजाले बनायो विशेष

यो वर्षको पिकनिकको मुख्य आकर्षण भने नेपाली पञ्चेबाजा बनेको स्पष्टै देखिन्थ्यो।

हेलसिन्कीको पूर्वी भागमा रहेको खुला चौरमा जब नेपाली पञ्चेबाजाको धुन घन्कियो, त्यहाँको वातावरणले धेरैलाई क्षणभरकै लागि सही नेपालका पहाडी गाउँघर, विवाह–व्रतबन्ध र मेलापातका सम्झनातिर पुर्‍यायो।

विदेशी भूमिमा नेपाली बाजा, नेपाली भाषा, नेपाली खाना र नेपाली अनुहारहरू एउटै ठाउँमा मिसिँदा मुस्तापुरो पार्कको वातावरण पुरै ‘नेपालमय’ बन्यो।

कतिपय सहभागी नाचगानमा रमाए, कतिपयले ‘सेल्फी’ र टिकटक तिर जोड दिए, अनि केही परिवारहरू बच्चाहरूलाई खेलाउँदै आपसमा कुराकानीमा व्यस्त देखिए।

अनि त्यति धेरै नेपालीहरू जम्मा भएको ठाउँमा ‘बालेन’देखि ‘बा’ सम्ममा राजनीतिक गलफती त हुने भइहाले।

फिनिस-नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले कार्यक्रममा उपस्थितहरूलाई स्वागत गरेकी थिइन्। समाजका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमिति सदस्य सञ्जु काउछाले संस्थाका विविध गतिविधिहरूका बारे जानकारी दिएका थिए।

कार्यक्रममा नेपालबाट फिनल्यान्ड घुम्न आएका विभिन्न परिवारका आफन्तहरू पनि उल्लेख्य रूपमा उपस्थित थिए।

खानपिन मात्र नभई बालबालिकाका लागि रमाइला खेलहरू पनि कार्यक्रममा आयोजना गरिएको थियो। बालबालिकाका लागि पार्कसँगै खेल्ने ठाउँ उपलब्ध भएकाले पनि अभिभावकहरूलाई सहज भएको थियो।

कार्यक्रम स्थलमै मोबाइल शौचालयको व्यवस्था हुनु पनि धेरै सहभागीका लागि ठुलो राहतको विषय बन्यो।

सुरुमा हल्का वर्षा भए पनि त्यसपछि कार्यक्रम अवधिभर मौसम राम्रो रहेको थियो। पिकनिकमा केही स्थानीय फिनिस नागरिकहरू समेत सहभागी भएर रमाइलो गरेका थिए।

नेपालीलाइनेनसँग संक्षिप्त कुरा गरेका एक अभिभावकले आफ्ना छोराछोरीहरू अरू नेपालीका छोराछोरीहरूसँग घुलमिल होउन् भनेर आफू त्यहाँ आएको बताए।

“केटाकेटीले थोरै भए पनि हाम्रो भाषा, संस्कृति, र इतिहाससँग जोडिन सकुन् भन्ने हो,” उनले थपे।

विदेशी भूमिमा नेपाली बाजा, नेपाली भाषा, नेपाली खाना र नेपाली अनुहारहरू एउटै ठाउँमा मिसिँदा मुस्तापुरो पार्क केही समयकै लागि सही ‘मिनी नेपाल’ नै बन्यो।

दुई दशक लामो परम्परा

आयोजकका अनुसार फिनिस–नेपाली समाजले करिब २० वर्षदेखि हेलसिन्कीमा समर पिकनिक आयोजना गर्दै आएको छ। वर्षौँदेखि हुँदै आएको यो कार्यक्रम फिनल्यान्डमा बस्ने धेरै नेपालीहरूका लागि हरेक समरको पुनर्मिलनजस्तै बनेको छ।

“कसैले पुराना साथी भेट्छन्, कसैले नयाँ परिवार चिन्छन्, कसैले काम वा पढाइका कारण लामो समयदेखि भेट नभएकाहरूसँग समय बिताउँछन्।” विगत देखिनै उक्त पिकनिकमा सहभागी हुँदै आएका फिनिस-नेपाली समाजका एक पूर्व सदस्यले भने।

“फिनल्यान्डजस्तो सामाजिक रूपमा व्यवस्थित तर सांस्कृतिक रूपमा फरक देशमा नेपाली समुदायको यस्तो जमघटले अपनत्वको भावना बलियो बनाउँछ भन्ने हो,” उनले थपे। “आप्रवासी जीवनमा कहिलेकाहीँ एक्लोपन महसुस हुन्छ। यहाँको भाषा पनि कठिन छ। कल्चर पुरै फरक छ। यस्ता जमघट नेपालीका लागि थोरै भएपनि मानसिक र सामाजिक सहारा बनेका छन्।”

हुन पनि हो। विदेशमा बस्ने नेपालीहरूका लागि यस्ता भेटघाटको अर्थ केवल मनोरञ्जनमा सीमित हुँदैन। यो नेपाली भाषा बोल्ने ठाउँ हो। यो आफ्नो खानाको स्वाद सम्झिने ठाउँ हो। यो बालबालिकालाई “हामी कहाँबाट आएका हौँ” भनेर देखाउने ठाउँ हो। यो नयाँ आएका विद्यार्थी वा कामदारलाई समुदायको साथ रहेको अनुभूति दिलाउने ठाउँ पनि हो।

मुस्तापुरो पार्कमा आइतबार देखिएको दृश्य त्यही अनुभूतिको प्रत्यक्ष उदाहरण थियो—कोही प्लेटमा खाना बाँड्दै थिए, कोही बाजाको तालमा नाच्दै थिए, कोही धेरै लामो समयपछि भेटिएका साथीलाई अँगालो हाल्दै थिए, कोही बच्चाहरूलाई खेल्न छाडेर ढुक्कले कुराकानी गर्दै थिए।

खाना पर्याप्त नहुँदा समस्या

पिकनिकमा सहभागीहरूले खानेकुरा लिएर आएका थिए र आयोजकले समेत थप खानाको व्यवस्था गरेको थियो। नेपाली समाजमा सामूहिक भोज र बाँडचुँड गरेर खाने संस्कार गहिरो रूपमा जोडिएको छ। प्रवासमा पनि त्यही संस्कारलाई निरन्तरता दिने प्रयास कार्यक्रममा देखियो।

तर, यो खानाको व्यवस्थापन भने आलोचनामुक्त रहन सकेन। सबै सहभागीले खानेकुरा नल्याएका कारण पिकनिकमा उपलब्ध खाना केही समयमै कम हुँदै गयो। पछिल्लो चरणमा खानेहरूले निकै थोरै मात्र खाना पाएको गुनासो गरे।

“पिकनिक खान आएको, हामीले खाने बेलामा त चराको भाग जत्ति पो पाइयो।” एक सहभागी पुरुषले हाँस्दै भने। “यसरी गर्नुभन्दा आयोजकहरूले भविष्यमा विकल्पबारे सोच्नुपर्छ। बरु ५-१० युरो उठाएर भए पनि कम्तीमा मासु र पुलाउजस्ता केही मुख्य खाना सबैलाई पुग्ने गरी व्यवस्था गर्न सकिन्छ।”

सहभागिता बढ्दै जाँदा पुरानो शैलीको ‘सबैले केही न केही ल्याउने’ ढाँचाले ठुलो जमघट धान्न कठिन हुन थालेको सङ्केत नेपालीलाइनेनले पनि कार्यक्रम स्थलमा स्पष्ट देखेको थियो।

फिनल्यान्डमा नेपालीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। विभिन्न सरकारी तथ्याङ्कले देखाए अनुसार फिनल्यान्डमा तेह्र हजार भन्दा धेरै नेपालीहरू बसोबास गर्छन्। समुदायको आकार बढेसँगै यस्ता कार्यक्रमहरूको महत्त्व पनि बढेको छ। तर त्योसँगै व्यवस्थापन, खाना, स्थान, सुविधा र सहभागितालाई व्यवस्थित बनाउने चुनौती पनि थपिएको छ।

खाना अपुग भएको गुनासोले आयोजकलाई भविष्यका लागि सोच्नुपर्ने ठाउँ दिएको छ, तर समग्रमा कार्यक्रमले फिनल्यान्डका नेपालीहरूबिचको सम्बन्ध, संस्कार र समुदाय भावलाई फेरि एक पटक बलियो बनाएको देखियो।

हल्का वर्षाबाट सुरु भएको आइतबारको समर पिकनिक खुलेको मौसम, पञ्चेबाजाको धुन, नेपालीपनको आत्मीयता र सामूहिक भेटघाटको न्यानोपनसँगै सम्पन्न भयो।

सम्पूर्ण फोटोहरू नेपालीलाइनेन




नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप