.संक्षेपमा.
- आप्रवासन ‘महाविपत्ति’ र कल्याणकारी समाजको अन्त्यको कारक हुने दाबी।
- सामाजिक सुरक्षा र स्वास्थ्य सेवा फिनिस नागरिकका लागि मात्र हुनुपर्ने प्रस्ताव।
- अनुहार ढाक्ने पोसाक (बुर्का/निकाब) लगाउनुलाई दण्डनीय बनाउनुपर्ने सुझाव।
फिनल्यान्डकी अर्थमन्त्री तथा फिन्स पार्टीकी अध्यक्ष रिक्का पुर्राले आप्रवासनबारे हालसम्मकै सबैभन्दा कडा टिप्पणी गरेकी छिन्। यसअघि गत जुन महिनामा आफ्नो पार्टी महाधिवेशनमा करिब २६ मिनेट बोलेकी पुर्राले अधिकांश समय आप्रवासीकै आलोचनामा बिताएकी थिइन्।
अहिले फेरि हिजो मङ्गलवार औलुमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले वर्तमान आप्रवासन नीतिलाई ‘महाविपत्ति’ र ‘पर्खालमा ठोक्किनु’ सरह भएको बताएकी छिन्। आप्रवासनले फिनल्यान्डको कल्याणकारी समाजलाई नै समाप्त पार्ने पुर्राको दाबी छ।
पुर्राले फिनल्यान्डको राजधानी क्षेत्रमा विकासशील मुलुकहरूबाट आएका आप्रवासीले फिनल्यान्डका कर तिर्ने जनतामाथि “असह्य बोझ” थपेको भन्दै आप्रवासन नीतिमा अझै कडाइ गर्न माग गरिन्।
“यो विनाश हो, यो भित्तामा ठोकिएजस्तै हो। जसरी जनसंख्या प्रतिस्थापन भैरहेको छ, त्यो फिनिस कल्याणकारी राज्यको र समग्र फिनिस समाजको अन्त्य हो।” पुर्राले भनिन्।
पछिल्लो समय फिन्स पार्टीको लोकप्रियता खस्किरहेको बेला पुर्राको यो आक्रामक भाषण आएको हो। हालैको एक सर्वेक्षणमा पार्टीको समर्थन करिब १२ प्रतिशतमा झरेको देखिएको थियो।
घटेको समर्थनका कारण सन् २०२७ को चुनावमा फिन्स पार्टीका धेरै सांसदहरूले आफ्नो सिट गुमाउने खतरा बढेको छ।
दिइन् पुर्वी हेलसिन्की जाने सुझाब
पुर्राले आप्रवासनको वास्तविकता हेर्न प्रधानमन्त्री ओर्पो लगायत अन्य मन्त्रीहरूलाई पूर्वी हेलसिन्की जस्ता आप्रवासी बाहुल्य क्षेत्रहरूको भ्रमण गर्न सुझाव दिइन्। पुर्राले त्यहाँ आप्रवासीका समानान्तर समाज बनिरहेका र ति करदाताको पैसामा चलिरहेको जिकिर गरिन्।
पूर्वी हेलसिन्कीका इताकेस्कुस, कन्तुला, म्युल्लुपोरो लगायतका क्षेत्रमा धेरै आप्रवासीहरू बस्छन्।
उनले ‘जनसंख्या परिवर्तन’ (väestön vaihtuminen) लाई षड्यन्त्रको सिद्धान्त नभई तथ्याङ्कले प्रमाणित गरेको तितो सत्य भएको बताइन्।
हेलसिन्की महानगर क्षेत्रमा ‘विकासोन्मुख देशहरूबाट’ आउने आप्रवासीहरूका कारण अर्थतन्त्रमा ठूलो भार परेको तर्क पनि उनले गरिन्।
आप्रवासनले अर्थतन्त्रमा पारेको असरको उदाहरण दिँदै उनले भान्ता सहरको आर्थिक सङ्कटलाई औंल्याइन्। उनका अनुसार दशकौंदेखि आप्रवासीहरूलाई भित्र्याउँदा भान्ताको आर्थिक अवस्था कमजोर हुँदै गएको हो।
“सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र विद्यालयका विशेष सेवाहरूको ठूलो हिस्सा विदेशी मूलका मानिसहरूमा खर्च भइरहेको छ, जुन फिनिस नागरिकको भागबाट कटौती भइरहेको छ।” उनले भनिन्।
उनले फिनल्यान्डको कल्याणकारी प्रणाली बचाउनका लागि सामाजिक सुरक्षा र स्वास्थ्य सेवाहरू नागरिकताको आधारमा मात्र प्रदान गरिनुपर्ने माग राखिन्।
फिनिस नागरिकलाई मात्र सामाजिक सेवा दिन माग
आफ्नो भाषणको अन्त्यमा पुर्राले एक अत्यन्तै विवादास्पद प्रस्ताव अघि सारिन्। उनले फिनल्यान्डको कल्याणकारी प्रणाली बचाउनका लागि सामाजिक सुरक्षा र स्वास्थ्य सेवाहरू नागरिकताको आधारमा मात्र प्रदान गरिनुपर्ने माग राखिन्।
“केवल फिनल्यान्डका नागरिकहरू मात्र सामाजिक सुरक्षा र स्वास्थ्य सेवाका लागि योग्य हुनुपर्छ,” उनले भनिन्।
यस्तो परिवर्तनका लागि फिनल्यान्डको संविधानमा नै संशोधन आवश्यक पर्नेछ, र इयुको अनुमति समेत चाहिने छ। यो माग पुरा हुने सम्भावना भने अहिलेको अवस्थामा असम्भव जस्तै छ।
उनले पश्चिमी मूल्य र फिनिस चालचलनमा “नभिज्ने” तथा महिलामाथि दमन गर्ने संस्कृतिलाई “रोगग्रस्त” भनिन्। यस्ता सांस्कृतिक अभ्यासलाई फिनल्यान्डमा सुरुदेखि नै आउन नदिनु पर्नेमा गल्ति भएकाले भविष्यमा भने झनै कडाइ गर्नुपर्ने उनको माग छ।
अनुहार ढाक्ने पहिरन (बुर्का, नकाब) लाई लक्षित गर्दै उनले “नाम गोप्य पार्ने/छोप्ने” किसिमका पहिरनमाथि दण्डनीय प्रतिबन्धको प्रस्ताव पनि गरिन्।





