0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    गगन थापाको राजनैतिक विद्रोहले देखाएका संकेत र सम्भावनाहरू

    विरोध हुनु अस्वाभाविक होइन, तर अन्ध समर्थन पनि त्यत्तिकै खतरनाक हुन्छ। उनका समर्थकहरूले देवत्वकरणको बाटो रोज्नु हुँदैन।

    नेपाली राजनीतिमा पछिल्लो समय गगन थापाको नेतृत्वमा भएको विद्रोह वा भनौँ नेपाली काँग्रेसको पुनर्गठनले ठुलो तरङ्ग सिर्जना गरेको छ।

    आकाङ्क्षा, सक्रियता र जोखिम लिन सक्ने साहस उनको राजनीतिक चरित्रका प्रमुख विशेषता देखिन्छन्। शक्ति र प्रभाव पदसँगै आउने यथार्थ उनले महामन्त्रीको जिम्मेवारी पाएपछि अझ स्पष्ट रूपमा अनुभूत गरेको देखिन्छ।

    इतिहासले भन्छ सङ्गठन निर्माण र जनसम्पर्कको सवालमा उनी कमजोर पात्र होइनन्। सानै उमेरमा गणतान्त्रिक आन्दोलनमा होमिएर, राज्य द्रोहको मुद्दा खेपेर उनले निर्माण गरेको राजनैतिक पुँजीको छुट्टै महत्त्व छ।

    सार्वजनिक मञ्चहरूमा पनि उनको प्रस्तुति बेजोड छ। उनका अभिव्यक्तिहरूले श्रोतामाथि प्रभाव छोड्ने क्षमता राख्छन्। काँग्रेस वृत्तमा उनको आवाजले केवल आन्तरिक बहसलाई मात्र होइन, पुरै मुलुककै राजनीतिक विमर्शलाई नै चलायमान बनाएको प्रतीत हुन्छ।

    राजनीतिमा सबैलाई प्रिय बन्नु न सम्भव हुन्छ न आवश्यक। गगन थापाप्रति पनि समर्थन र विरोध दुवै स्वाभाविक छन्। तर युवापुस्तामा अहिले उनले जगाएको उत्साह र आत्मविश्वासलाई लामो समयसम्म सम्झना गरिनेछ। वैचारिक रूपमा फरक धारमा उभिएकाहरूले समेत उनको पछिल्लो साहसिक कदमलाई निकै चासोका साथ हेरिरहेका छन्। कोही कोहीले वाहवाह नै गरिरहेका छन्।

    यो अवस्था उनको वर्तमान हो। भविष्यमा उनले कस्तो भूमिका निर्वाह गर्लान् त्यो त समयले नै बताउने छ। यद्यपि आज काङ्ग्रेसभित्र लामो समयदेखि देखिँदै आएको निराशा, जडता र असन्तुष्टिमा केही हदसम्म गतिशीलता आएको छ। सुरक्षित ठानिएका नेतृत्वका संरचनाहरूमा समेत प्रश्न उठ्न थालेका छन्।

    राजनीतिमा समर्थन स्थायी हुँदैन। आज प्रशंसा गर्नेहरू नै भोलि कठोर आलोचक बन्न सक्छन्। यदि भविष्यमा उनले गलत निर्णय लिए भने त्यसको मूल्य राजनीतिक रूपमा उनी आफैँले चुकाउनुपर्नेछ। तर वर्तमान सन्दर्भमा उनलाई पूर्वाग्रहभन्दा पनि कार्य र व्यवहारका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित देखिन्छ।

    इतिहासले देखाएको छ केवल विचारधारामा अडिग रहँदा विद्रोही चेत हराउने खतरा रहन्छ। आजको आवश्यकता अन्धनिष्ठा होइन, तर्कसहितको प्रतिबद्धता हो। धारसँग बग्ने मात्र होइन, आवश्यक पर्दा धारविरुद्ध उभिन सक्ने नेतृत्व नै समयको माग हो।

    नेपालको राजनीतिक इतिहासमा बलियो शासन व्यवस्थाका बाबजुद विद्रोह रोकिएको छैन। राज्य विरुद्ध गरिएका विद्रोहको आफ्नै इतिहास र सिलसिला छ भने पार्टीभित्रका विद्रोहहरूको पनि आफ्नै कथा छ। विद्रोहका कारणहरू धेरै भए पनि मूल कारण चाहिँ स्वतन्त्रताको चाहना हो।

    स्वतन्त्रताको चाहना मानवीय स्वभावमै अन्तर्निहित हुन्छ। जब प्रश्न गर्न दिइँदैन, प्रस्फुटित चेतनालाई दबाइन्छ र चाकरीको संस्कारलाई बलियो बनाउँदै लगिन्छ, विद्रोह एक मात्र विकल्पको रूपमा बाँकी रहन्छ।

    गगनका समर्थकहरूले देवत्वकरणको बाटो रोज्नु हुँदैन। अहिलेसम्म उनले गरेको योगदान भनेको काङ्ग्रेसभित्र थुनिएको बहसलाई खुला सार्वजनिक क्षेत्रतर्फ ल्याउनु हो। यसमा उनको सक्रियता जति छ, त्यत्तिकै पुरानो नेतृत्वको निष्क्रियता पनि जिम्मेवार छ।

    समर्थकलाई आह्वानः गगनलाई देवत्वकरण नगर

    गगन थापाले अहिले विचारधाराभन्दा अगाडि विचारलाई स्थान दिन खोजेको सङ्केत गरेका छन्। निष्ठाभित्र पनि तर्क र परिणाम खोज्न सकिने सन्देश दिएका छन्। यही कारण उनी विवादको केन्द्रमा पनि छन्। विरोध हुनु अस्वाभाविक होइन, तर अन्ध समर्थन पनि त्यत्तिकै खतरनाक हुन्छ।

    उनका समर्थकहरूले देवत्वकरणको बाटो रोज्नु हुँदैन। अहिलेसम्म उनले गरेको योगदान भनेको काङ्ग्रेसभित्र थुनिएको बहसलाई खुला सार्वजनिक क्षेत्रतर्फ ल्याउनु हो। यसमा उनको सक्रियता जति छ, त्यत्तिकै पुरानो नेतृत्वको निष्क्रियता पनि जिम्मेवार छ।

    नेपालमा राजनीतिक पात्रमाथि विदेशी प्रभावको आरोप लाग्नु कुनै नयाँ कुरा होइन। इतिहासभरि यस्ता आरोप दोहोरिएका छन्, पात्र मात्र फेरिएका छन्। यदि सबै परिचालित नै ठान्ने हो भने प्रश्न व्यक्ति होइन, समग्र राजनीतिक संरचनामाथि उठ्नुपर्छ।

    गगन थापामाथि सानै उमेरमा प्रधानमन्त्री बन्न हतारिएको आरोप लगाउने पनि छन्। तर त्यो आरोपमा दम छैन। उनी ४९ वर्षका भइसके। नेपालमै पनि जङ्गबहादुर राणा २९ वर्षमै र बिपी कोइराला ४४ वर्षमै प्रधानमन्त्री बनेका थिए। यहीँ फिनल्यान्डमा पनि सान्ना मारिन ३४ वर्षमा प्रधानमन्त्री बनेकी थिइन्। यस्ता उदाहरण अनेकौँ देशमा कैयौँ छन्।

    गगन प्रधानमन्त्री बन्ने–नबन्ने विषय परिस्थितिमा निर्भर हुनेछ । तर पचास पुग्नै आँटेका व्यक्तिलाई समेत अपरिपक्व ठान्ने प्रवृत्ति स्वयंमा घातक छ।

    जे होस् गगन थापा नेतृत्वमा भएको काँग्रेसको एक किसिमको पुनर्गठनले वर्तमान राजनीतिलाई हल्लाएको छ। कानुनी वा सङ्गठनात्मक चुनौतीहरू आइपरे पनि उनले उठाएको आवाज र बहसलाई सहजै थाम्न सकिने देखिँदैन।

    हार्ने भए पनि लडेरै हार्ने उनको पुरानो अडानले अहिले चाहिँ आफ्नो उद्देश्य धेरै हदसम्म पूरा गर्न सघाएको देखिन्छ।

    (यो लेखमा प्रस्तुत विचार लेखकका निजी हुन्। – सम्पादक) 

    सुरज भट्टराई
    सुरज भट्टराई
    विगत केही समयदेखि फिनल्यान्डलाई कर्मथलो बनाएका भट्टराई नेपाली राजनीतिमा चासो राख्छन्। नेपालमा रहँदा उनले राजनैतिक वृत्तमा रहेर काम गरेका थिए।

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप