संक्षेपमा
- रिसको झोकमा शिक्षकले ३ वर्षीय बच्चा बस्न लागेको कुर्सी तान्दा बच्चा लडे।
- घटनाबारे प्रहरीमा उजुरी दर्ता।
- अभिभावकलाई अरु कसैले दिएको थियो जानकारी।
फिनल्यान्डको तुर्कु सहरस्थित एक निजी डेकेयरमा शिक्षकले ३ वर्षीय बच्चामाथि हिंसात्मक व्यवहार गरेको घटना सार्वजनिक भएको छ।
स्थानीय पत्रिका Turun Sanomat का अनुसार ती शिक्षकले रिसको झोकमा बच्चा बस्न लागेको कुर्सी तानिदिएका थिए।
कुर्सी तानिएपछि बच्चा भुइँमा लडेका थिए र उनको टाउको ठोक्किएको थियो। लडेपछि बच्चा रोएर टेबलमुनि बसिरहँदा ती शिक्षकले वास्ता नगरी कोठा छाडेर गएका थिए।
उक्त घटनामा संलग्न शिक्षकले अहिले सो डेकेयरमा काम गर्न छोडिसकेका छन्। दक्षिण–पश्चिमी फिनल्यान्ड प्रहरीले घटनाबारे गत साता उजुरी परेको पुष्टि गरेको छ।
यो घटना तौहुला (Touhula) नामक निजी डेकेयर चेनको एउटा शाखामा भएको हो। डेकेयर चेनकी टिम म्यानेजर सातु कास्कीले बालबालिकाको सुरक्षामा ‘शून्य सहनशीलता’ को नीति रहेको मिडियालाई दिएको प्रतिक्रियामा बताएकी छिन्।
डेकेयरले पीडित बच्चाका अभिभावकलाई घटनाबारे खबर गरेको थिएन।
डेकेयरले पीडित बच्चाका अभिभावकलाई घटनाबारे खबर गरेको थिएन। अभिभावकले डेकेयरमा आउने अर्का बच्चाका आमाबुवामार्फत आफ्नो बच्चामाथि भएको घटनाबारे जानकारी पाएका थिए।
म्यानेजर कास्कीले गम्भीर घटनामा सोही दिन अभिभावकलाई खबर गर्नुपर्ने नियम पालना नभएको फिनल्यान्डको सार्वजनिक प्रसारण सँस्था YLE लाई दिएको प्रतिक्रियामा स्वीकार गरेकी छिन्।
फिनल्यान्डको अनुमति तथा सुपरिवेक्षण निकाय भाल्भिराले भने प्रहरीले अनुसन्धान गरिरहेको हुनाले आफूले छुट्टै जाँच गर्ने छैन।
प्रहरीका साथै बाल कल्याण अधिकारीहरूले पनि घटनाको छानबिन गरिरहेको YLE ले लेखेको छ।
फिनल्यान्डमा बालबालिकाको स्याहार र शिक्षामा काम गर्ने कर्मचारीहरू उच्च नैतिकवान् हुनुपर्ने मान्यता राखिन्छ। सन् २०२० देखि शिक्षक बन्न चाहनेका लागि कडा ‘योग्यता परीक्षण’ लागू गरिएको छ। यो प्रणालीले बालबालिकासँग काम गर्न कस्ता व्यक्ति मानसिक र व्यवहारिक रूपमा उपयुक्त हुन्छन् भनेर छान्ने प्रक्रियालाई वैज्ञानिक र भरपर्दो बनाएको विश्वास गरिन्छ। यद्यपि कहिलेकाहीँ यस्ता छिटपुट घटनाहरूले अभिभावकहरूलाई झस्काउने गरेको छ।





