0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बक्सिङमा पाँच पटक ‘फिनिस च्याम्पियनसिप’ जितेका सन्दीप पाण्डेको प्रेरणादायी कथा

    पढाइमा पनि राम्रो भएका कारण बुवाले छोरो डाक्टर बने हुन्थ्यो भन्ने चाहेका थिए। आमाचाहिँ छोरोले कतै बैङ्कमा राम्रो काम गरोस् भन्ने चाहन्थिन्। छोरोले बक्सिङ सुरु गर्दा आमा चाहिँ स्तब्ध नै बनेकी थिइन्।

    केही कथाहरू यस्ता हुन्छन् जसलाई सुनेपछि लाग्छ, “ओहो, यो त पहिले नै लेखिनुपर्थ्यो, सुनिनुपर्थ्यो।”

    कहिलेकाहीँ लेखिनुपर्ने र सुनिनुपर्ने कथाले पनि पर्याप्त ध्यान पाउँदैनन्। यो कथा पनि ठ्याक्कै त्यस्तै कथा हो। हेलसिन्कीमा बस्ने २२ वर्षे सन्दीप पाण्डेको कथा जसले विगत पाँच वर्षदेखि लगातार बक्सिङमा फिनिस राष्ट्रिय च्याम्पियनसिप जितेका छन्।

    पाण्डे फिनल्यान्डको लापेनरान्तामा आयोजना भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगितामा भिड्दै छन् भन्ने जानकारी नेपालीलाइनेनले गत साता शनिवार पाएको थियो। त्यो बेला नेपालीलाइनेनले सम्पर्क गर्दा उनी आइतबारको अन्तिम खेलको तयारीमा निकै व्यस्त थिए। तैपनि उनीसँग केही कुराकानी र मेसेजहरू भने आदान प्रदान भयो।

    आइतबार साँझ लापेनरान्ताको रङ्गशालामा रेफ्रीले २२ वर्षीय पाण्डेको हात हावामा उठाए, अर्थात् उनी विजेता बनेको घोषणा गरे।

    पाण्डेका लागि भने त्यो दिन केवल एउटा प्रतियोगिताको समाप्ति थिएन। एउटा लामो यात्राको पाँचौँ कोसेढुङ्गा थियो।

    फिनल्यान्डका ठूला मिडियाहरूले समेत प्रत्यक्ष प्रसारण गरेको सो भिडन्तमा (१८-४० उमेर समूह, ५५ किलो तौल) मा पाण्डेले आफ्नो वर्चस्व कायम राख्दै पाँचौँ पटक ‘फिनिस बक्सिङ च्याम्पियनसिप’ को उपाधि चुमे। पहिलो च्याम्पियनसिप त उनले १८ वर्ष नपुग्दै ‘यूथ समूह’मा जितिसकेका थिए।

    उनको सो सफलतापछि नेपालीलाइनेनले उनी र उनका बुबासँग कैयौँ पटक कुरा गरेको छ। उनको यो बक्सिङको यात्रा कसरी सुरु भयो, चुनौतीहरू के-के थिए, र भावी योजना के छ भन्ने लगायतका विषयमा अनेकौँ प्रश्न गरेको छ।

    हाम्रो लामो कुराकानीपछि एउटा कुरा भने स्पष्ट भयो। टेलिभिजनको पर्दामा देखिएको त्यो जीतको पछाडि एउटा अनौठो कथा छ- प्रेरणाको, लगनको, अनुशासनको, र निरन्तरताको।

    अर्थात् सन्दीपको कथा केवल मुक्का र पदकको मात्र होइन। यो एउटा आप्रवासी ठिटोको कथा हो। एउटा यस्तो ठिटो जो १३ वर्षको उमेरमा फिनल्यान्ड आयो अनि यहाँको चिसो सिमानाभित्र आफ्नो अठोट र पसिनाको सहारामा आफ्नै लागि र आफ्ना समुदायका लागि नयाँ ‘पहिचान’ को घेरा कोर्दै छ।

    ‘पहिलो बक्सिङ त घरमै भयो’

    खासमा सन्दीपको बक्सिङ यात्रा रङ्गशालाको रिङबाट होइन, आफ्नै घरको बैठक कोठाबाट सुरु भयो, तर अलि फरक अर्थमा।

    “मेरो पहिलो बक्सिङ त मेरो परिवारसँग, अझ भनौँ आमाबुवासँग भयो,” सन्दीप हाँस्दै भन्छन्।

    यो एउटा यस्तो ‘म्याच’ थियो जहाँ मुक्का होइन, सपना र डरको घम्साघम्सी थियो।

    नेपाली मध्यम वर्गीय परिवारले आफ्ना छोराछोरीका लागि देख्ने सपना त हुन्छ नै। सन्दीपका बाबुआमालाई पनि त्यस्तै थियो—छोरा डाक्टर बनोस्, इन्जिनियर बनोस् वा कुनै उच्चपदस्थ कर्मचारी।

    पढाइमा पनि राम्रो भएका कारण बुवाले छोरो डाक्टर बने हुन्थ्यो भन्ने चाहेका थिए। आमाचाहिँ छोरोले कतै बैङ्कमा राम्रो काम गरोस् भन्ने चाहन्थिन्। छोरोले बक्सिङ सुरु गर्दा आमा चाहिँ स्तब्ध नै बनेकी थिइन्।

    “बक्सिङ भनेको चोटपटक हो, नीलडाम हो। कुन चाहिँ आमाले आफ्नो छोरा रिङमा कुटिएको हेर्न चाहन्छिन् र?” सन्दीप आफ्नो आमाको सुरुवाती डरलाई जायज मान्छन्।

    त्यही डरका कारण सुरुवाती दिनमा उनका आमाबुवा उनको खेल हेर्न कहिल्यै गएनन्।

    “उहाँहरू नआएको नै ठिक भयो,” सन्दीप भन्छन्, “किनकि रिङमा मैले खाएको मुक्का देख्दा उहाँहरू आत्तिनुहुन्थ्यो होला। तर अहिले परिस्थिति फेरिएको छ। अहिले मसँग आत्मविश्वास छ, सफलता पनि मिल्यो। अहिले भने म उहाँहरूलाई खेल हेर्न निम्तो दिने गरेको छु।”

    नेपालीलाइनेनसँगको कुराकानीमा सन्दीपका बुवा कृष्ण प्रसाद पाण्डे छोराले रोजेको बाटोप्रति अहिले भने निकै सन्तुष्ट सुनिए।

    “हाम्रा दुई छोरा हुन्। जेठो सुदीप पनि राम्रो फुटबल खेल्छन्। सन्दीप चाहिँ पढाइमा पनि राम्रो भएका कारण डाक्टर वा त्यस्तै केही पेसा रोज्ला भन्ने सोचेका थियौँ।” पाण्डेले भने। “हामीले सुरुमा उसको खेलमा खासै ध्यान पनि दिएनौँ। तर उ सफल हुँदै गयो। उ एकदमै अनुशासित छ। उ राति २ बजे घर आए पनि हामीलाई चिन्ता हुँदैन। ऊ आफ्नो लक्ष्यमा केन्द्रित छ। अहिले हामी निकै खुसी छौँ।”

    पढाइमा पनि राम्रो भएका कारण बुवाले छोरो डाक्टर बने हुन्थ्यो भन्ने चाहेका थिए। आमाचाहिँ छोरोले कतै बैङ्कमा राम्रो काम गरोस् भन्ने चाहन्थिन्। छोरोले बक्सिङ सुरु गर्दा आमा चाहिँ स्तब्ध नै बनेकी थिइन्।

    जिमको आकर्षणदेखि ‘रिङको सत्य’ सम्म

    १३ वर्षको कलिलो उमेरमा नेपालबाट फिनल्यान्ड आउनु सन्दीपका लागि आफैँमा एउटा ठुलो सांस्कृतिक धक्का थियो। नयाँ भाषा, नयाँ मौसम र नयाँ परिवेश।

    फिनल्यान्ड आएको करिब तीन वर्षपछि उनी जिम जान थाले। सुरुमा त्यो केवल शारीरिक सुगठनको आकर्षण थियो, तर बिस्तारै त्यो बक्सिङप्रतिको लगावमा बदलियो।

    अहिले त सन्दीपका लागि बक्सिङ केवल खेल होइन, यो एउटा दर्शन हो। जिन्दगीको एउटा निकै मिठो र अलिअलि कठोर सत्य हो।

    “बक्सिङले तपाईँलाई मुख्य कुरा के सिकायो?” भन्ने नेपालीलाइनेनको प्रश्नमा सन्दीपले घतलाग्दो र अलि दार्शनिक जवाफ दिए।

    “एउटै वाक्यमा भन्ने हो भने मलाई यसले जिम्मेवारी बोध सिकायो,” उनले भने।

    “म रिङलाई ‘सत्य’ (The Truth) मान्छु। यदि तपाईँले राम्रो अभ्यास गर्नुभएको छैन, खानपान र व्यायाममा हेलचेक्र्याइँ गर्नुभएको छ भने त्यो रिङमा छर्लङ्गै देखिन्छ। त्यहाँ लुक्ने लुकाउने कुनै ठाउँ हुँदैन। सम्पूर्ण विश्वले तपाईँको नाङ्गो सत्य देख्छ। त्यसैले तपाईँ जिम्मेवार नभई सुखै छैन।”

    अहिले पाँचौँ राष्ट्रिय उपाधि हात पारेका सन्दीपले अन्य प्रतियोगिताहरूमा पनि भाग लिएका छन् र जितेका पनि छन्। सन् २०२२ मा ताम्पेरेमा भएको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएर उनले जित हासिल गरेका थिए।

    उनको उपलब्धि हेर्दा प्रस्टै हुन्छ, उनले आफूलाई फिनल्यान्डको बक्सिङ जगतमा एक बलियो खम्बाको रूपमा स्थापित गरिसकेका छन् र धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन्।

    एक गुरु: जसले बक्सिङको बाटो देखाए

    हरेक योद्धाको पछाडि एउटा मार्गदर्शक हुन्छ। सन्दीपका लागि उनका प्रशिक्षक अर्थात् कोच रामी कासीम त्यस्तै सेतु बनेर आइदिए। नेपालीलाइनेनसँगको कुराकानीमा उनले पटक-पटक कासीमको नाम लिए र आफ्नो सफलताको श्रेय मुख्यतः उनै गुरुलाई दिए।

    “उहाँ मेरो सबैभन्दा ठुलो समर्थक हुनुहुन्छ,” सन्दीप भन्छन्, “सन् २०२० को सुरुवाती दिनदेखि नै उहाँको समय, समर्थन र हौसला बिना यो केही पनि सम्भव हुने थिएन। मेरा बुवालाई म धेरै माया गर्छु, तर मेरा कोच पनि मेरो लागि बुवा समान हुनुहुन्छ। उहाँको मार्गदर्शन मेरो जीवनका अरू पक्षहरूमा पनि फैलिएको छ। “

    आफ्ना गुरु रामी कासिमसँग सन्दीप। फोटोः सन्दीपको परिवार।

    सन्दीपलाई आफ्नो विगत र पहिचानबारे पनि नेपालीलाइनेनले केही प्रश्नहरू सोधेको थियो। उनी आफूलाई फिनिस ठान्छन् वा नेपाली भनेर सोधेको प्रश्नमा उनी एक छिन सोचमग्न भए।

    “यो निकै महत्वपूर्ण प्रश्न गर्नुभो, तर मलाई उत्तर दिन अलि गारो प्रश्न।” उनी भन्छन्। उनी आफूलाई कुनै एक देशको सीमाभित्र बाँध्न चाहँदैनन्। “यो वा त्यो भनेर लेबलिङ गर्न सायद आवश्यक पनि छैन। म आफूलाई दुवै (नेपाली र फिनिस) संसारको सदस्य वा अझ भनौँ मानव जातिको एक सदस्यको रूपमा हेर्छु।”

    तर उनलाई नेपाली वा आप्रवासी युवाको रूपमा प्रेरणा मान्नेहरू पनि धेरै छन्। उनी आबद्ध समूहको हेलसिन्कीको इताकेस्कुसमा एउटा जिम छ। त्यहाँ उनी र उनको समूह आफै त प्राक्टिस गर्छन् नै अन्य युवाहरूलाई पनि प्रशिक्षण दिन्छन्। त्यही क्रममा उनले केही नेपाली किशोरहरूलाई पनि प्रशिक्षण दिएका छन्।

    उनी आफ्नो परिवारमा मात्र नभई आफ्नो सर्कलमै बक्सिङमा लाग्ने पहिलो व्यक्ति हुन्। अर्थात् उनी एक ‘ट्रेन्ड सेटर’ नै हुन्।

    ओलम्पिक सपना र भविष्य

    यती सानै उमेरमा यति धेरै सफलता पाएका युवाको भविष्यको सपना पनि त ठुलै होला?

    भविष्यमा के गर्ने तैयारी छ भन्ने प्रश्नमा सन्दीपले बक्सिङमा दुई वटा धार हुने र आफू अब ओलम्पिक धारबाट र पेसेवर धारतिर जान लागेको बताए।

    चोटका कारण गत ओलम्पिकको अभ्यासमा सहभागी हुन नपाएका सन्दीपका लागि सन् २०२८ को ओलम्पिक एउटा सम्भावना हुन सक्छ। तर उनी अहिले नै यसमा निश्चित छैनन्। उनी वर्तमानमा बाँच्छन् र हरेक दिन आफूलाई तिखार्नु पर्छ भन्ने कुरामा विश्वास गर्छन्।

    “गोल (लक्ष्य) भन्दा पनि प्रोसेस (प्रक्रिया) महत्त्वपूर्ण हुने रहेछ,” उनी भन्छन्। “मेरो ध्यान लक्ष्य भन्दा त्यही प्रोसेसमा, यात्रामा छ।”

    लापेनरान्ताको रिङबाट ओर्लिँदा सन्दीपको घाँटीमा सुनको पदक मात्र थिएन, उनीसँग एउटा सन्देश पनि थियो।

    त्यो सन्देश हो— अनुशासनको, सङ्घर्षको र आप्रवासी युवाहरूले अवसर पाएमा कसरी आफ्नो नाम स्वर्ण क्षरमा लेख्न सक्छन् भन्ने ‘सत्य’ को।

    गत साता राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित हासिल गरेको क्षणमा सन्दीप। फोटोः सन्दीपको परिवार।
    बक्सिङ प्रतियोगितामा भिडिरहेका सन्दीप। फोटोः सन्दीपको परिवार।
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप