संक्षेपमा
- खर्च कटाएर कुरियरको घण्टाको कमाइ ४ देखि ७ युरो मात्र हुने देखियो।
- बहुसंख्यक कामदार दक्षिण एसियाली, बगंलादेशी र नेपाली धेरै।
- कामदार कि उद्यमी भन्ने कानुनी विवाद अझै टुंगोमा पुगेन।
फिनल्यान्डमा फुड डेलिभरी प्लेटफर्म ‘वोल्ट’ (Wolt) का कुरियरहरूले अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेको तथ्य बाहिर आएको छ।
ट्रेड युनियन संस्था PAM ले गरेको पछिल्लो अध्ययन अनुसार केही कुरियरहरूको वास्तविक कमाइ खर्च कटाएर घण्टाको ४ युरोभन्दा पनि कम देखिएको हो।
पामले तीनजना कुरियरहरूको एक साताको आम्दानी र खर्चको हिसाब राखेर यो निष्कर्ष निकालेको हो। ती कुरियरहरूले हप्तामा करिब ६० घण्टासम्म र सातै दिन काम गरेका थिए।
सबैभन्दा कम कमाउने कुरियरको घण्टाको कमाइ कर काट्नुअघि ३.९३ युरो मात्र थियो। तुलनात्मक रूपमा धेरै कमाउनेले पनि घण्टाको ६.६५ युरो मात्र हात पारेका थिए।
यो हिसाब निकाल्दा कुरियरले अर्डर पर्खिंदा बिताएको समयलाई पनि कामको समय मानिएको छ। साथै उनीहरूको सवारी साधन, फोन र पेन्सन बीमाको खर्च पनि आम्दानीबाट घटाइएको छ।
पामकी अध्यक्ष आन्निका रोन्नी-सालिनेनले यसलाई ‘श्रम शोषण’ को संज्ञा दिएकी छिन्। अध्ययनमा सहभागी एक कुरियरले त यो स्थितिलाई ‘आधुनिक दासत्व’ समेत भनेका छन्।
यता वोल्टले भने आफ्ना कुरियरहरूले घण्टाको २० देखि २१ युरो कमाउने दाबी गर्दै आएको छ। तर वोल्टले अर्डर कुरेको समयलाई नभएर डेलिभरी गर्दाको समयलाई मात्र गणना गर्ने गर्छ।
नेपालीलाइनेनको सम्पर्कमा रहेका वोल्ट कुरियरहरूले पनि डेलिभरी रकम दिनप्रतिदिन घट्दै गइरहेको बताउने गरेका छन्।
लामो समय वोल्टमा काम गरेकाहरूले खास गरि अमेरिकी कम्पनीको स्वामित्वमा गएपछि वोल्टमा काम गर्ने अवस्था झनै बिग्रेको बताउँछन्।
नगद रकम बुझेर चर्को मुल्यमा वोल्ट एकाउन्ट भाडामा लगाएर पुराना कुरियरहरूले नै नयाँ कुरियरहरूको बेरोजगारी र बाध्यताको फाइदा उठाउने गरेको समाचार पनि पछिल्लो समय फिनल्यान्डमा बारम्बार आइरहेको छ।
अरू अध्ययनको पनि निश्कर्ष उस्तै
हेलसिन्की विश्वविद्यालयका अनुसन्धानकर्ताहरू योहानेस स्वार्टस्यो र रोपे उसितालोले पनि यस विषयमा अनुसन्धान गरेका छन्। उनीहरूको गत वर्षको अध्ययनले पनि कुरियरहरूको कमाइ नाजुक देखाएको थियो।
सन् २०२५ को सुरुमा हेलसिन्कीमा ५५ जना कुरियरसँग गरिएको कुराकानीमा औसत मासिक कमाइ १५२० युरो देखिएको थियो। ७५ प्रतिशत कुरियरले महिनामा २००० युरोभन्दा कम कमाउने बताएका थिए।
अध्ययनअनुसार डेलिभरी गर्नेहरूमा दक्षिण एसियाली मुलुकका युवाहरूको बाहुल्यता छ। यसमा ३६ प्रतिशत बंगलादेशी र २० प्रतिशत नेपाली मूलका युवाहरू छन् ।
धेरैजसो कामदारहरू भर्खरै फिनल्यान्ड आएका र भाषा नजान्ने आप्रवासीहरू छन्। उनीहरूका लागि जीविकोपार्जनको एक मात्र माध्यम यही काम हुने गरेको छ ।
सर्वोच्च प्रशासनिक अदालत (KHO) ले वोल्टका कुरियरहरूलाई ‘कर्मचारी’ मान्नुपर्ने फैसला गरेको छ। तर वोल्टले उनीहरूलाई अझै पनि ‘स्वतन्त्र उद्यमी’ मान्दै आएको छ र फैसला विरुद्ध अपिल गरेको छ।
फिनल्यान्डमा गैर-युरोपेली विद्यार्थीहरूले साताको ३० घण्टा मात्र काम गर्न पाउने नियम छ। तर डेलिभरी कामलाई ‘उद्यम’ मानिँदा कामको घण्टा गणनामा अन्योल हुने गरेको छ।
यस क्षेत्रमा काम गर्ने नेपाली लगायतका आप्रवासीहरूले बिदा, बिरामी बिदा वा न्यूनतम पारिश्रमिक जस्ता सुविधाहरू अझै पाउन सकेका छैनन्।
यो मुद्दा फिनल्यान्डको श्रम बजार र आप्रवासीको अधिकारका विषयमा निकै पेचिलो बनेको छ।





