जेपी श्रेष्ठ
केही दिनअघि नेपालीलाइनेनमा भान्ताको हाकुनीला क्षेत्रमा भएको आगलागी र उक्त घटनामा एक सोमाली परिवारले खेपेको पीडा र क्षतिबारेको समाचार पढ्दा मन कटक्क खायो। उक्त समाचारमा जनाइए अनुसार धेरै फिनिस मिडियाका सोसल मिडिया पेजहरू उक्त परिवार प्रति पोखिएका घृणा र नश्लीय सोचका प्रतिक्रियाहरूले भरिएका थिए।
त्यो समाचारले यो विश्वकै खुसी भनिएको फिनल्यान्डको एउटा अँध्यारो पाटोलाई उजागर गर्यो।
करिब एक दशक यो देशमा बसेको अनुभवको आधारमा भन्न सक्छु—फिनल्यान्डमा रङ्गभेद छ र यो सायद बढिरहेको पनि छ। जब हामी रङ्गभेदका घटना देख्छौँ, सुन्छौँ, र भोग्छौँ—हामीले खुलेर विरोध गर्नुपर्छ। सामाजिक सञ्जालमा आक्रोश पनि पोख्नुपर्छ, र पीडितप्रति सहानुभूति व्यक्त त झनै गर्नै पर्छ। यो एकदमै सही र आवश्यक कदम हो।
तर, कहिलेकाहीँ मलाई लाग्छ, अर्काको आँखाको कसिङ्गर देख्दा आफ्नो आँखाको भैँसी बिर्सिने हाम्रो बानी त छैन? रङ्गभेद र विभेदविरुद्ध आवाज उठाउनु हाम्रो कर्तव्य हो। तर के हामीले आप्रवासीको रूपमा आफ्नो व्यवहार र यो समाजप्रतिको हाम्रो दायित्वबारे कहिल्यै गम्भीर भएर सोचेका छौँ? अर्कालाई औँला ठड्याइरहँदा, बाँकी तीन औँला आफूतर्फ सोझिएको यथार्थलाई हामीले कहिल्यै आत्मसात् गरेका छौँ?
मैले माथि नै भने, म फिनल्यान्डमा धेरै वर्षदेखि बसेको एक नेपाली हुँ। यहाँको नेपाली समुदाय तुलनात्मक रूपमा अविभाजित र राम्रो भन्न सकिएला। तर यही समुदायभित्रका केही प्रवृत्तिहरूले भने मलाई बेला-बेला झस्काउने गर्छ।
लाग्छ, हामी आप्रवासी नेपालीहरू प्रायः आफ्नै सानो संसारमा रमाएका छौँ, हराएका छौँ। हाम्रै सीमित साथीभाइ र फेसबुकका नेपाली समूहहरू हाम्रा लागि ‘कम्फर्ट जोन’ बनेका छन्। यिनले हामीलाई आफ्नोपनको महसुस त गराउँछन्, तर यिनैले हामीलाई बृहत् फिनिस समाजमा घुलमिल हुनबाट रोकिरहेको पो छन् कि? हामीले कहिल्यै गहिरिएर सोचेका छौँ? हामी एउटा यस्तो कोकूनभित्र बाँचिरहेका छौँ, जहाँबाट बाहिर निस्केर फिनिस समाजलाई बुझ्ने र उनीहरूसँग अर्थपूर्ण सम्बन्ध बनाउने प्रयास कमै गर्छौँ।
यसको सबैभन्दा ठुलो प्रमाण हो फिनिस भाषाप्रतिको हाम्रो उदासीनता। “फिनिस भाषा गाह्रो छ” भन्ने एउटा साझा र सजिलो बहाना हामी धेरैको मन्त्र बनेको छ। हो, यो भाषा सजिलो छैन। तर वर्षौँदेखि यहीँ बसेर, यहीँको हावापानीमा सास फेरेर, यहीँको सामाजिक सुरक्षाको लाभ उठाएर पनि भाषा सिक्न पटक्कै चासो नदेखाउनु कत्तिको जायज हो?
भाषा केबल सञ्चारको माध्यम मात्र होइन; यो संस्कृति बुझ्ने, समाजको अङ्ग बन्ने र आफ्नो व्यावसायिक तथा व्यक्तिगत जीवनस्तर उकास्ने सबैभन्दा शक्तिशाली औजार हो। भाषा नसिकी गरिने आप्रवासन आधा-अधुरो हुन्छ। हामी फिनल्यान्डबाट सबै कुराको अपेक्षा गर्छौँ – राम्रो तलब, निःशुल्क शिक्षा, उत्कृष्ट स्वास्थ्य सेवा – तर हामी बदलामा यो समाजलाई के दिइरहेका छौँ? भाषा सिकेर यहाँको श्रम बजारमा सक्रिय रूपमा सहभागी हुनु पनि समाजलाई दिइने एउटा ठुलो योगदान हो।
नेपालमा केही वर्षका लागि जाने विदेशी राजदूतहरू त नेपाली सिकेर टिभीमा खरर नेपालीमा बोलेको सुनिन्छ। तर, फिनल्यान्डमै मैले यस्ता नेपाली भेटेको छु, जो १० वर्ष यही बसेर पनि फिनिस भाषामा एक कप कफी अर्डर गरेर खान सक्दैनन्, र ग्रोसरी पसलको चेक-आउटमा अझै पनि अंग्रेजी बोलेर निस्किन्छन्।
फिनल्यान्डका नियमहरू ‘फलो’ गर्ने काममा पनि हामी पछाडि छौँ। यहाँ यस्ता धेरै नियमहरू छन्, जुन कानुन त हैनन्, तर सबैबाट पालन होस् भन्ने अपेक्षा गरिन्छ। केही वर्षअघि म विद्यार्थी आवासमा बस्दाको घटना हो। हामी धेरै नेपाली विद्यार्थीहरू एउटै भवनमा बस्थ्यौँ। फोहोर छुट्टाएर फाल्नुपर्छ भन्ने सबैलाई थाहा थियो, तर त्यसलाई पालना गर्ने झन्झट कमैले गर्थे। “केही हुँदैन” भन्ने हाम्रो राष्ट्रिय चरित्र त्यहाँ पनि देखिन्थ्यो।
अरूलाई शान्तसँग काम गर्न दिनु यहाँको अर्को अलिखित नियम हो, तर त्यो पनि बारम्बार हामीले मिच्ने गरेका छौँ। केही महिनाअघि हेलसिन्कीको एक पुस्तकालयको शान्त अध्ययन कक्षमा एक नेपाली दिदीले फोनमा यति चर्को स्वरले कराउँदै हुनुहुन्थ्यो कि त्यहाँ भएका फिनिसहरू मात्र हैन, मेरै पनि पारा तातेको थियो। केही इमरजेन्सीका कारण छोटो कुरा गरेको भए पक्कै पनि बुझ्न सकिन्थ्यो, तर होइन, उहाँ त पुरै गफ लडाउँदै हुनुहुन्थ्यो। कसैले वहाँलाई बिहेको लागि नेपालबाट बोलाएको रहेछ, तर व्यस्त भएका कारण जान नसक्ने बताइरहनु भएको थियो। लाइब्रेरीको पढ्ने कोठाबाट चिच्याई चिच्याई पुरै गाउँको हालखबर सोध्दै हुनुहुन्थ्यो। दिदी फोनमा थेसिस लेख्दै छु पनि भन्दै हुनुहुन्थ्यो, जसको अर्थ हो उहाँ कम्तीमा ३-४ वर्षदेखि फिनल्यान्डमै हुनुहुन्छ।
पुस्तकालयमा शान्त रहनुपर्छ भन्ने सामान्य सामाजिक शिष्टाचार पनि ख्याल नराख्नुले हाम्रो चेतनाको स्तर कहाँ छ भनेर देखाउँछ।
यी स-साना घटनाहरूले नै बृहत् समाजमा हाम्रो समग्र छविलाई असर पारिरहेको हुन्छ। जब हामी फोहोर व्यवस्थापन जस्तो सामान्य नियम पालना गर्दैनौँ, सार्वजनिक स्थलको मर्यादा राख्दैनौँ, तब हामीले फिनिस समाजबाट सम्मानको अपेक्षा कसरी गर्न सक्छौँ? हामी उनीहरूले ठुलो नियम (रङ्गभेदी नहुनु) पालना गरुन् भन्ने चाहन्छौँ (जुन उनीहरूले गर्नुपर्छ), तर हामी आफैँ स-साना नियमहरूलाई बेवास्ता गर्छौँ।
यी साना घटना बाहेक अरू ठुला घटना पनि छन् जसको म यहाँ विस्तृतमा चर्चा गर्न चाहन्न। तर यति चाहिँ भन्न चाहन्छु, हामीले हाम्रो ‘इमेज’का लागि कति काम गरेका छौँ? शोषण, मानव तस्करी, दलाली, र जालझेलका घटनामा जोडिएर हाम्रा समाचार फिनिस मिडियामा छाउँदा हामीलाई यहाँका रैथानेले हेर्ने दृष्टिकोण के हुन्छ?
हामीले पनि आत्मसमीक्षा गर्ने बेला आएको छ। रङ्गभेदविरुद्धको लडाइँ जारी राख्दै आफूलाई एक जिम्मेवार, सक्रिय र अनुशासित नागरिकको रूपमा प्रस्तुत गर्ने बेला आएको छ।
यो लेखको उद्देश्य रङ्गभेदलाई सही ठहर्याउनु वा आप्रवासीलाई दोष दिनु कदापि होइन। रङ्गभेद जुनसुकै अवस्थामा पनि गलत, गैर कानुनी र अमानवीय हो। कसैको व्यवहारको आधारमा पूरै समुदायलाई एउटै डालोमा हाल्नु मूर्खता हो। तर, हामीले यो पनि बुझ्न जरुरी छ कि हाम्रो व्यवहारले हामीप्रतिको धारणा निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
त्यसैले, अब हामीले आत्म समीक्षा गर्ने बेला आएको छ। रङ्गभेदविरुद्धको लडाइँ जारी राख्दै, हामीले आफूलाई एक जिम्मेवार, सक्रिय र अनुशासित नागरिकको रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। आफ्नो ‘कम्फर्ट जोनबाट’ बाहिर निस्केर भाषा सिकौँ, स्थानीय नियम-कानुनको इमानदारीपूर्वक पालना गरौँ, र सामाजिक शिष्टाचारलाई आत्मसात् गरौँ। हाम्रो पहिचान केवल ‘नेपाली आप्रवासी’ मात्र होइन, ‘फिनिस समाजको एक सम्मानित सदस्य’ पनि हो भन्ने कुरा व्यवहारबाटै प्रमाणित गरौँ।
जब हामी आफ्नो कर्तव्य र दायित्वमा खरो उत्रन्छौँ, तब मात्र हाम्रो अधिकारको आवाज थप शक्तिशाली र नैतिक रूपमा बलियो हुनेछ। फिनल्यान्डलाई राम्रो बनाउने जिम्मेवारी फिनिस नागरिकको मात्र होइन, यहाँ बस्ने हाम्रो पनि हो। अर्कालाई गाली गरेर मात्र समाज परिवर्तन हुँदैन; त्यसको सुरुवात आफैँबाट गर्नुपर्छ।
(नोटः प्रस्तुत विचारहरू लेखकका नीजी हुन्। व्यक्त विचारहरू नेपालीलाइनेनको सम्पादकीय नीतिसँग अनिवार्य रूपमा मेल खान्छन् भन्ने छैन। विविध धारका दृष्टिकोण र विचारलाई छलफलको मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो। नेपालीलाइनेमा आफ्ना लेखहरू प्रकाशित गर्न [email protected] मा इमेल गरि पठाउन सक्नुहुन्छ।)





