संक्षेपमा
- एकाउन्ट भाडामा दिँदा कामदारको शोषण र अवैध बजार मौलाएको कुरियरहरूको दाबी।
- कुरियरहरूलाई ‘व्यवसायी’ मानिने हुनाले सट्टा कामदार राख्न मिल्ने वोल्टको तर्क।
- न्यून पारिश्रमिक र कठिन कार्यशर्तका कारण कुरियरहरूमा असन्तुष्टि बढ्दो।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा कार्यरत वोल्टका कुरियरहरूले एकाउन्ट भाडामा लगाउने प्रथाको विरोधमा प्रदर्शन गरेका छन्।
नयाँ वर्ष २०२६ को पहिलो दिन पूर्वी हेलसिन्कीको हेर्तोनीयमीमा भेला भएका कामदारहरूले बिहान १० देखि साँझ ६ बजेसम्म काम बहिस्कार गरेका हुन्।
विगत दुई वर्षदेखि कुरियरका रूपमा कार्यरत मुहम्मद उस्मानले एकाउन्ट भाडामा दिने प्रणालीले श्रमिकको शोषण गरिरहेको फिनिस भाषाको पत्रिका हेलसिन्की सानोमातलाई दिएको प्रतिक्रियामा बताएका छन्।
उनका अनुसार कतिपय व्यक्तिले आफ्नो नामको एकाउन्ट अरूलाई चलाउन दिन्छन् र कामदारको कमाइबाट ५० प्रतिशतसम्म कमिसन लिन्छन्।
यस्तो अभ्यासले गर्दा वैधानिक रूपमा काम गर्ने अधिकार नभएका व्यक्तिहरू पनि ‘कालो बजार’ मा काम गर्न बाध्य भएका छन्।
साथै एकाउन्ट अर्कैको नाममा हुने भएकाले वास्तविक कामदारले सरकारी KELA सुविधा पनि लिइरहेको र कर छली भइरहेको आरोप उस्मानले लगाए।
नेपालीलाइनेनको सम्पर्कमा रहेका नेपाली वोल्ट कुरियरहरूले पनि उक्त अभ्यासले आफूहरू मारमा परेको बताए।
“मैले काम गर्ने अर्कैको एकाउन्टमा हो,” एक जनाले नेपालीलाइनेनसँग भने। “यो एकाउन्टको वास्तविक मालिकलाई त मैले भेटेको पनि छैन। पैसा पनि तेस्रो व्यक्तिले लगेर बुझाई दिन्छन्। पुरै दलाली व्यवस्था छ।”
उनले वोल्टको एकाउन्ट बनाइदिने भनेर ठग्ने देखि एकाउन्ट भाडामा दिँदा चर्को पैसा लिने विकृति रहेको बताए।
“यसबारेमा तपाईँहरूले विस्तृतमा अध्ययन गरेर लेख्नु जरुरी छ,” उनले भने। “वोल्ट एकाउन्टको फन्दामा धेरै नेपाली युवाले दुःख पाएका छन्।”
“कुनै एकाउन्टधारीले वोल्ट छोडेको महिनौँ वा वर्षौँ भइसक्यो,” उनी थप्छन्। “तैपनि त्यही एकाउन्टलाई दुहुनो गाई बनाएर पैसा असुलेका छन्।”
हाल फिनल्यान्डभरि करिब २०,००० मानिस वोल्टमा कुरियरका रूपमा काम गर्न पालो पर्खेर बसेका छन्। काम पाउन महिनौँ वा वर्षौँ कुर्नुपर्ने अवस्थाका कारण पनि कतिपयले बाध्य भएर अरूको एकाउन्ट भाडामा लिएर काम गर्ने गरेका छन्।
कतिपय व्यक्तिले आफ्नो नामको एकाउन्ट अरूलाई चलाउन दिन्छन् र कामदारको कमाइबाट ५० प्रतिशतसम्म कमिसन लिन्छन्।
वोल्ट भन्छ कुरियरहरू स्वतन्त्र व्यवसायी हुन्
वोल्ट कम्पनीले भने आफ्ना कुरियरहरू स्वतन्त्र व्यवसायीहरू भएको र फिनल्यान्डको कानुन अनुसार स्वतन्त्र व्यवसायीले आफ्नो सट्टामा काम गर्न अरू व्यक्ति अर्थात् Substitute राख्न पाउने अधिकार रहेको बताउने गरेको छ।
यही कानुनी छिद्रका कारण एकाउन्ट भाडामा दिने प्रवृत्ति बढेको कुरियरहरूको तर्क छ।
हेर्तोनियमीमा विरोध प्रदर्शन गर्न जम्मा भएकाले वर्षमा अधिकतम दुई महिना मात्र सट्टा कामदार राख्न पाउने नियम बनाउन माग गरेका छन्।
कुरियरहरूले पछिल्ला वर्षहरूमा डेलिभरी शुल्क घट्दै गएको र सम्झौताका सर्तहरू कठिन बन्दै गएको गुनासो समेत गर्ने गरेका छन्। धेरैजसो कामदारले कम्पनीले आफ्नो समस्या नसुनेको र कामको वातावरण बिग्रँदै गएको पनि बताउने गरेका छन्।
“पहिला यहीँको कम्पनी हुँदा धेरै ठिक थियो,” नेपालीलाइनेनको सम्पर्कमा रहेका अर्का वोल्ट कुरियर भन्छन्। “अमेरिकी कम्पनीले किनेपछि कामदारहरूको अवस्था धेरै बिग्रेको छ। काम गरेर पाउने पैसा पनि पहिले जस्तो राम्रो छैन।”





