संक्षेपमा
- १५ वर्षमुनिका नाबालिगको पानीमा डुबेर मृत्यु।
- सात मिटर गहिराइबाट निकालिए पनि बचाउन असफल।
- पीडित परिवारलाई मनोवैज्ञानिक सहयोग।
फिनल्यान्डको केम्पेलेस्थित एक पौडी खेल्ने ठाउँमा डुबेर एक नाबालिगको मृत्यु भएको छ। आज शनिबार दिउँसो १ बजेतिर पानीमा डुबेका ती नाबालिग १५ वर्षभन्दा कम उमेरका हुन्। उनी बालुवा खनेर बनेको खाडलमा पानी जमेर बनेको पोखरीमा पौडी खेल्न गएका थिए।
फिनल्यान्डमा यस्ता पोखरीहरू गर्मीयाममा पौडी खेल्न निकै लोकप्रिय छन्।
स्थानीय प्रहरीका अनुसार घटना शनिबार दिउँसो भएको हो। उद्धार विभागले गोताखोरको मद्दतमा ती नाबालिगलाई पानीबाट बाहिर निकालेको थियो।
उद्धार विभागले बालकलाई सात मिटर गहिराइबाट निकालिएको जनाएको छ। पानीबाट निकाले लगत्तै उनलाई बचाउन सीपीआर दिइए पनि उनलाई बचाउने प्रयास सफल भएन।
घटनास्थलमा उद्धार र स्वास्थ्यकर्मीका धेरै टोलीहरु परिचालन गरिएका थिए। अहिले उद्धार कार्य पूर्ण रुपमा सकिएको अधिकारीहरुले बताएका छन्।
दुखद घटनापछि मृतकका आफन्तलाई आवश्यक मनोवैज्ञानिक सहयोग (kriisiapu) दिन सुरु गरिएको स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।
केम्पेले फिनल्यान्डको औलु सहर नजिकै पर्ने एउटा नगरपालिका हो।








