यदि नेपाली नागरिकहरू नेपालबाट सिधै फिनल्यान्ड आएका हुन् भने उनीहरूका लागि यो समाज र देश मात्र नौलो हुँदैन, यहाँका थुप्रै प्रणालीहरू पनि नौलो लाग्छन्।
यातायात, आवास, र कलेज जस्ता कुराहरू केही समयको बसाइमै सामान्य हुँदै जान्छन् र तिनले खासै ठुलो फरक पनि पार्दैनन् होला। तर हाम्रा लागि तत्कालीन र दीर्घकालीन दुवै रूपमा असर गर्ने एउटा यस्तो विषय छ, जसलाई आजसम्म हामीले गम्भीरतापूर्वक हेरेका छैनौँ — वा हेर्न भ्याएका छैनौँ। त्यो विषय स्वास्थ्यको विषय हो र त्यही विषयमा केही जानकारी दिन र तपाईंहरूलाई अलिकति तयार पार्नका लागि यो लेख प्रस्तुत गरेको छु।
फिनल्यान्डमा बसाइँ सर्दा कागजपत्रमा आधारित र अव्यवस्थित स्वास्थ्य सूचना प्रणालीबाट हामीहरू एक उच्च–संरचित र ‘डिजिटलाइज्ड’ स्वास्थ्य प्रणालीमा प्रवेश गर्छौँ। यो आफैंमा एउटा नौलो मात्र होइन, गम्भीर विषय पनि हो।
नेपालमा केही निजी अस्पतालहरूलाई गणना नगर्ने हो भने मेडिकल रेकर्ड प्रणाली अझै पनि कागजमा आधारित छ। अस्पतालको आन्तरिक प्रयोजनका लागि धेरै सूचनाहरू ‘डिजिटलाइज’ गरिएको होला, तर कम्तीमा मेरो आफ्नै केही महिनाअघि नेपालमा भएको अनुभव हेर्ने हो भने पनि बिरामी वा अस्पतालका ग्राहकले उपचारका लागि एउटा सानो “पुस्तिका” (किताब) पाउँछन्, जसमा औषधिका सिफारिस, रोगका विवरण र मिति लेखिएका हुन्छन्। यदि बिरामीले एउटै रोग वा अन्य रोगको लागि उपचार गर्न अर्को अस्पताल गए उसले फेरी अर्को पुस्तिका पाउँछ।
नेपालमा अस्पतालहरूबीच डाटा सेयर गर्नुपर्ने आवश्यकता महसुस गरिँदैन किनभने बिरामी रेकर्ड केन्द्रीय रूपमा जोडिएका हुँदैनन् र बिरामीका लागि पनि त्यो अर्को ‘टन्टा’ नै हो।
यसरी केन्द्रीकृत ‘इलेक्ट्रोनिक डाटाबेस’को अभावमा बिरामीका जानकारी स–साना टुक्रामा विभाजित हुन्छन्, र चिकित्सकले सम्पूर्ण स्वास्थ्य विवरण नपाउँदा रोगको सटीक निदान र औषधिको उचित छनोटमा समस्या आउँछ।
कागजमा आधारित मेडिकल रेकर्डमा अत्यधिक निर्भर स्वास्थ्य सेवा प्रणालीबाट हामीले जुन चुनौती नेपालमा भोगेका छौ, त्यसको बाछिटाले हामीलाई हाम्रो स्वास्थ्य उपचारको क्रममा फिनल्यान्डमा पनि कुनै न कुनै रूपमा पछ्याइरहन्छ।
जब पहिलो पटक हामी उपचारका लागि फिनल्यान्डको स्वास्थ्य केन्द्रमा जान्छौँ, यहाँको स्वास्थ्य प्रणालीको लागि हामी अन्य क्षेत्रमा जसै गरी नौलो र पराइ हुन् पुग्दछौँ। एकातर्फ हाम्रो स्वास्थ्य सम्बन्धी कुनै विवरण नहुनुले हामी ‘नक्सा नभएको घर’को रूपमा प्रस्तुत हुनु पर्ने हुन्छ भने अर्कोतर्फ हामीसँग कागजातहरू भएता पनि छरिएका र हराएका सूचनाका आधारमा चिकित्सकले विश्लेषण गर्न र सही निष्कर्ष निकाल्न समय लाग्ने र लगभग असम्भव जस्तै हुन्छ।
उदाहरणका लागि, एउटा बिरामीले नेपालमा विगतमा वा केही समय अघिसम्म प्रयोग गरीरहेको औषधि र त्यसका असरहरूको अनभिज्ञतामा रहेर यहाँको चिकित्सकले अनजानमा कुनै औषधि सिफारिस गर्दा त्यसले नकारात्मक असर गर्न सक्ने खतरा रहन्छ। जसको कारणले औषधिको ‘एलर्जिक’ प्रतिक्रिया पनि हुन सक्छ।
डाक्टरलाई बिरामीको लक्षण र अवस्थाको ऐतिहासिक सन्दर्भको ज्ञान नहुँदा रोगको गलत निदान हुने डर रहन्छ भने उपचारको लागि आवश्यक कदम र औषधिको पहिचान नै ढिला हुनुले बिरामीको उपचार प्रकृयामा अनावश्यक ढिलाई हुने जोखिम रहन्छ।
एकीकृत रेकर्डको अनुपस्थितिले मुख्यतः बिरामीको पुरानो रोगहरू, तिनको औषधि उपचार र पद्धति अनि त्यस सम्बन्धी सिफारिस गरिएका कदमहरूको अभाव रहन्छ र चिकित्सकले अनुचित औषधिको सिफारिस गर्ने वा र पुरानो रोगहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्ने अवस्था निम्त्याउन सक्छ।
बिरामीको हकमा पनि बिरामी आफैँलाई कति सूचना भन्नुपर्ने हो भन्ने बारेमा जानकारी नहुने र धेरै पुराना कुराहरू याद नहुनु वा सान्दर्भिक नहुने सोचेर पनि चिकित्सकलाई भन्दैनन्। मेरो आफ्नै अनुभवमा पनि अहिलेसम्म कुनै पनि चिकित्सकले त्यसरी विस्तृतमा सोधेको थाहा छैन। यद्यपी केही चिरफार र दीर्घकालीन रोग र औषधिका बारेमा भने सामान्यतयाः सोध्ने गरिन्छ।
यो सबैको निश्कर्ष होः पुराना मेडिकल रेकर्डहरूको अभावले प्रभावकारी उपचारमा बाधा पुराउने जोखिम हुन्छ र कहिलेकाहीँ विषम परिस्थितिमा त बिरामीको जीवन नै जोखिममा पर्न सक्छ।
यस्तो विषम परिस्थितिबाट आफू र आफ्ना परिवारलाई जोगाउन (विशेष गरी नेपाल बाट फिनल्यान्ड आएका हामी) निकै सतर्क र चनाखो रहनु पर्छ।
नेपाल छाड्नुअघि के गर्ने?
नेपाल छाड्ने योजना बनाइराख्नु भएकाहरूले कमसेकम देश छाड्नुअघि केही कुराहरूमा विचार गर्नुभयो भने सजिलो हुन्छ। तथापि यही बसेकाहरूले पनि सम्भव भएसम्म निम्न कुराहरू ध्यान दिनु पर्छ।
स्वास्थ्य उपचार सम्बन्धी रेकर्ड सङ्कलन गर्ने: आफ्नो पुरानो मेडिकल रेकर्डहरू, जसमा प्रेस्क्रिप्सन, ल्याब रिपोर्ट र डाक्टरको नोटहरू समावेश छन् ती सबैलाई जम्मा गर्ने र सम्भव भए सम्म आफ्नो प्राथमिक चिकित्सक वा विश्वास भएको चिकित्सकलाई आफ्नो मेडिकल इतिहास, पुराना रोगहरू, विगतका शल्यक्रियाहरू र सिफारिस गरिएका औषधिहरूको सारांश तयार पार्न लगाएमा त्यो रेकर्डलाई यहाँ उपचारको दौरानमा प्रस्तुत गर्न सकिन्छ।
सबै औषधिको सूची राख्ने: आफूले विगतमा सेवन गरेका सबै औषधिको विस्तृत सूची बनाउन सकिन्छ। यसमा प्रेस्क्रिप्सन र सामान्य दुवै औषधिको मात्रा र सेवन गरेको अवधिलाई नोट गर्नु राम्रो हुन्छ। सामान्यतयाः औषधिहरूको नाम देश अनुसार फरक भए पनि औषधिको नाम र त्यसको बनोटको आधारमा यहाँको चिकित्सकले त्यो औषधिको बारेमा जानकारी प्राप्त गर्न सक्ने पर्याप्त आधार र सम्भावना रहन्छ।
आफैले आफ्नो व्यक्तिगत स्वास्थ्य सारांश बनाउने: आफूलाई जानकारी भएको र आफ्नो अनुभवका आधारमा आफ्नो लागि एउटा सानो “मेडिकल पासपोर्ट” तयार गर्ने जसमा आफूलाई ज्ञान भएका सम्पूर्ण एलर्जीहरू, विशिष्ट स्वास्थ्य अवस्थाहरू, र आपत्कालीन सूचनाहरू राख्ने।
अहिले धेरै स्मार्टफोनहरूमा ‘मेडिकल इमर्जेन्सी’का दौरान प्रयोग गर्न सकिने थुप्रै एपहरू हुन्छन् र तीनको प्रयोगले धेरै कुराहरू सहज बनाउन सक्छ। उदाहरणका लागि आपत्कालीन अवस्थामा फोनमा कुनै एउटा बटनलाई निरन्तर ५-६ पटक थिचे पछि उक्त व्यक्तिको जानकारीहरू फोनमा देखा पर्दछ। जसले गर्दा आपत्कालीन उद्धारका दौरान यदि बिरामी बोल्न र आफ्नो बारेमा भन्न नसक्ने अवस्थामा छ भने उद्धारकर्मीले यही प्रक्रिया पुरा गरी उपलब्ध सूचनालाई मुख्य आधार बनाएर प्रारम्भिक वा अत्यावश्यक जीवन बचाउने उपचार सुरु गर्न सक्दछन्। स्मार्टफोनको ‘इमर्जेन्सी फिचर’मा आफ्नो सबैभन्दा नजिकको मान्छेको सम्पर्क नम्बर पनि समावेश गर्नु अत्यन्त प्रभावकारी हुन्छ।
अनुवाद गराउने: हुन त नेपालमा डाक्टरी हुन नै अङ्ग्रेजी भाषाको ज्ञान हुनुपर्ने र डाक्टरले नेपालीमा लेख्ने चलन नभएकोले गर्दा अङ्ग्रेजी अनुवादको गुञ्जायस त हुँदैन होला तर कहीँ कतै कुनै अत्यन्तै जरुरी स्वास्थ्य सम्बन्धी रिपोर्ट नेपाली भाषामा भएको भए त्यसलाई कमसेकम अङ्ग्रेजीमा अनुवाद गराएर लिएर आउन सकेमा त्यसले केही मद्दत गर्दछ।
फिनल्यान्डमा डाक्टरी पढाइ पनि फिनिस अथवा स्विडिस भाषामै हुने भएकाले सकेसम्म रिपोर्टमा यी दुईमध्ये एक भाषामा कागजात बनाउनु राम्रो हुन्छ। तर विश्वव्यापी भाषा भएका कारण र नेपालमै पनि त्यो त्यति सम्भव नभएका कारणले अङ्ग्रेजीमा लेखाउन सकिन्छ , तथापि रिपोर्टमा लेखिएका केही संवेदनशील विषयवस्तुको गलत अर्थ लाग्ने जोखिम भने रहन्छ। तर कमसेकम प्राय चिकित्सकहरूको अङ्ग्रेजी भाषा राम्रै हुने र गम्भीर विषयमा सहायता लिने चलन रहेकोले अङ्ग्रेजीमा लेखिएका कागजातले सामान्य रूपमा काम गर्दछन्।
फिनल्यान्डमा बस्नेले के-के कुरामा ध्यान दिने?
यहाँ बसोबास गरिरहेकाहरूको लागि धेरै कुरा परिचित भए पनि यदि कोही नयाँ हुनुहुन्छ वा पुरानै भए पनि यहाँको स्वास्थ्य सेवाहरूको बारे धेरै जानकार हुनुहुन्न भने निम्न कुराहरूको जानकारी राखे त्यसले निक्कै ठुलो मद्दत गर्नेछ।
KELA दर्ता: फिनल्यान्डमा अन्य दर्ता प्रक्रिया (जस्तै ठेगाना दर्ता) सकेपछि यहाँको सरकारी सामाजिक सुरक्षा संस्था KELA मा दर्ता गर्न भुल्नु हुँदैन। KELA मा दर्ता गरे पछि मात्र यहाँ स्वास्थ्य सेवामा पहुँच सहज हुन्छ।
KELA को यो पेजमा फिनल्यान्ड बसाई सरेपछि के-के गर्नुपर्छ र के-के सुविधा पाइन्छ भन्ने कुराको विस्तृत जानकारी पाइन्छ। KELA कार्ड छ भने औषधि किन्दा वा प्राइभेट अस्पतालका सेवाहरू प्रयोग गर्दा समेत छुट पाईन्छ।
प्राथमिक स्वास्थ्य केन्द्र: बिरामी भएपछि गरौला भन्नुको साटो आफ्नो प्राथमिक स्वास्थ्य केन्द्र (terveysasema) कुन हो र स्वास्थ्य सेवा लिने प्रक्रिया के हो बुझी राख्नु पर्दछ। स्मरण रहोस् तपाईं बसोबास गर्ने नगरपालिकको कुनै एक स्वास्थ्य केन्द्र (सामान्यतयाः घरबाट सबैभन्दा नजिकको) तपाईंको प्रारम्भिक स्वास्थ्य केन्द्र हुने गर्दछ। नाम / थरका आधारमा तपाइको सेवा लिने समूह चुनिएको हुन सक्दछ, तसर्थ आफू कुन स्वास्थ्य केन्द्रको हो भनेर बेलैमा बुझी राख्नु पर्दछ।
स्वास्थ्यकर्मी भेट्दा स्पष्ट कुराकानी गर्ने र प्रश्नहरू सोध्ने: आफ्नो स्वास्थ्य केन्द्रको पहिचान गरेपछि जब तपाई त्यहाँ जानुहुन्छ तपाईंले चिकित्सकलाई /नर्सलाई आफ्नो स्वास्थ्य सारांश र अनुवाद गरिएका मेडिकल रेकर्डहरू दिन सक्नुहुन्छ। फिनिस भाषा बोल्न आउँदैन भने अङ्ग्रेजी भाषा बोल्ने नर्स वा चिकित्सकको लागि आग्रह गर्न सकिन्छ वा त्यो पनि नभएको अवस्थामा दोभासेको लागि आग्रह गर्न सकिन्छ।
फिनल्यान्डको स्वास्थ्य सेवा प्रणालीमा विदेशीहरूका लागि व्यावसायिक दोभासे (professional interpreter) को व्यवस्था गरिएको हुन्छ। सक्रिय रूपमा आफ्नो रोगको बारेमा, विगतको रोग र उपचारको बारेमा र अन्य विषयमा खुलेर कुरा गर्ने, मनमा लागेको कुराहरू सोध्ने र स्पष्ट हुनु राम्रो हुन्छ।
Omakanta र Maisa प्रणाली: फिनल्यान्डको स्वास्थ्य सेवा प्रणालीमा Omakanta र Maisa नामक राष्ट्रिय इलेक्ट्रोनिक बिरामी डाटा अभिलेख रहेको छ। एक पटक तपाईँ दर्ता भएपछि तपाईँले यो सेवा निर्बाध रूपमा प्रयोग गर्न सक्नुहुन्छ। फिनल्यान्डका डाक्टरहरूबाट प्राप्त हुने तपाईँको सम्पूर्ण उपचार सम्बन्धी मिति, औषधि, प्रयोगशाला परीक्षण र तिनका नतिजा सम्बन्धी सम्पूर्ण जानकारीहरू उक्त अभिलेखमा सहजै देख्न सकिन्छ।
यदि अर्को कुनै प्राइभेट अस्पतालमा सेवा लिन जानु पर्ने अवस्था भएमा डाटा सेयरिङ्गको सानो अनुमतिको प्रक्रिया पुरा गरेमा अर्को उपचार केन्द्रले पनि तपाईंको सम्पूर्ण विवरण देख्न सक्छ।
गर्भवती, सुत्केरी र बच्चाका लागि छुट्टै सेवाः फिनल्यान्डको नेउभोला (Neuvola) प्रणाली निकै प्रभावकारी सार्वजनिक स्वास्थ्य सेवा हो। यसले विशेष गरी गर्भवती महिलाहरू, सुत्केरी आमा, नवजात शिशु र साना बालबालिकाको स्वास्थ्य र विकासको हेरचाह गर्छ। यो प्रणाली अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच, खोप, पोषण सल्लाह, मानसिक स्वास्थ्य सहयोग, र अभिभावकत्वसम्बन्धी परामर्श जस्ता सेवाहरू प्रदान गरिन्छ। नेउभोला नर्सहरूले आमा र परिवारसँग नियमित भेटघाट गरी गर्भावस्थादेखि बालबालिकाको विद्यालय प्रवेशसम्म निरन्तर निगरानी र सहयोग गर्छन्। महिला गर्भवती भएपछि नेउभोलामा सम्पर्क गर्नुपर्छ र यसले प्रदान गर्ने निशुल्क सेवाको उपयोग गर्नुपर्छ।
यसका अलावा फिनल्यान्डको स्वास्थ्य प्रणालीका बारेमा जान्ने पर्ने केही थप कुराहरू पनि छन्।
आफ्नो स्वास्थ्य र सुरक्षा सम्बन्धी कुनै पनि खतरा महसुस भएमा ११२ मा कल गर्न डराउनु हुँदैन।
अस्पताल र आपतकालीन सेवा: फिनल्यान्डका अस्पतालले नेपालमा जस्तो बाहिरी बिरामी सेवा (outdoor patient service) प्रदान गर्दैनन्। यहाँ प्राथमिक स्वास्थ्य केन्द्र नै पहिलो र एउटा मात्र विकल्प हो। सुरुमा नर्सले चेक गरेपछि आवश्यकता अनुसार डाक्टरकोमा सिफारिस गर्ने चलन छ। तपाईं दर्ता भएको नगरपालिका र त्यसमा पनि कुनै एक केन्द्रमा मात्र यो सेवा प्राप्त गर्ने सुविधा रहन्छ। तसर्थ आफू मुख्यतः जुन सहरमा बस्ने हो त्यही सहरमा आफ्नो बसोबासको ठेगाना दर्ता गर्नु अत्यन्त महत्त्वपूर्ण छ। त्यही सहरभित्र भने तपाईंले आफूलाई पायक पर्ने वा मन पर्ने स्वास्थ्य केन्द्र रोज्न सक्नुहुन्छ।
प्राथमिक स्वास्थ्य केन्द्रहरू सोमबार देखि शुक्रबार सम्म बिहान ८ देखि साँझ ४ सम्म खुल्छन्। यो भन्दा बाहिरको समयमा रोगले च्यापेर गाह्रो भयो भने अस्पतालहरूले प्रयोग गर्ने आपतकालीन सेवा प्रयोग गर्न सकिन्छ। साधरणतया अस्पतालमा निक्कै लामो लाइन हुने कारणले सेवा प्राप्त गर्न कहिलेकाहीँ घन्टौँ कुर्नुपर्ने हुन्छ। तर आपत्कालीन परिस्थितिमा भने अस्पताल गईसकेपछि सम्पूर्ण उपचार त्यहीबाट निरन्तर हुने सम्भावना रहन्छ। (सम्झनुहोसः ज्यान नै जान सक्ने अति आवश्यक अवस्थामा भने जहिले पनि ११२ कल गरेर तुरुन्तै सहयोग माग्नु पर्छ!)
११६११७ सेवा: अस्पताल जानु अघि प्राथमिक स्वास्थ्य केन्द्र बन्द भएको अवस्थामा ११६११७ मा सम्पर्क गरेर स्वास्थ्य सम्बन्धी सेवा, सुझाव लिन सकिन्छ। एक त यसले प्राथमिकता निर्धारण गर्न र प्राथमिक उपचार गर्न सहज गर्दछ भने अर्को तर्फ अत्यन्त जरुरी उपचारको अवस्था हो भने, अस्पतालको लागि एउटा प्रारम्भिक विवरण तयार गरेर राख्दछ र अस्पतालको सेवा सहज र चाँडो हुन जान्छ।
एम्बुलेन्स जीवन बचाउने माध्यम हो न कि यातायातको: अत्यन्त आपत्कालीन र जोखिम स्थितिमा एम्बुलेन्सले जीवन जोगाउने र आवश्यक परेको अवस्थामा बिरामीलाई अस्पताल लिएर जाने गर्दछ तर उदाहरणको लागि बाटोमा लडेर खुट्टा मर्किएको छ र तपाइले कल गर्नु भयो भने एम्बुलेन्स आउँछ, प्राथमिक उपचार गर्छ, र तपाईँलाई आफैँ अस्पताल जान आग्रह गर्दै एम्बुलेन्स रित्तै फर्किन सक्छ।
राष्ट्रिय इमर्जेन्सी सेवा ११२ – आफ्नो स्वास्थ्य र सुरक्षा सम्बन्धी कुनै पनि खतरा महसुस भएमा ११२ मा कल गर्न डराउनु हुँदैन। याद गर्नुहोस् ११२ मा काम गर्नेहरू त्यसै गरी परीक्षित हुन्छन् र उनीहरूले थुप्रै प्रश्न वा सङ्केत मार्फत तपाईंको अवस्था थाहा पाउन सक्दछन्। सम्भव भएसम्म आफ्नो घटना घटेको ठेगाना दिनु पर्दछ नत्र भने धेरै भन्दा धेरै विवरण। आफ्नो फोन मा SUOMI ११२ एप राख्नु यस्तो अवस्थाको लागि सहयोगी हुन्छ। उक्त एप मार्फत् लोकेसन देखिने हुँदा उद्दारकर्ता ठ्याक्कै तपाईंको स्थानमा आइपुग्न सक्छन्। ११२ एपमा फोन गर्न नसके मेसेज पठाएर समेत आपतकालीन सहयोग लिन सकिन्छ। फिनिश भाषा ज्ञान नभएमा अङ्ग्रेजी भाषा पनि कुरा गर्न सकिन्छ।
खर्च र जरिवाना: फिनल्यान्डमा वयस्कका लागि स्वास्थ्य सेवाहरू सम्पूर्ण रूपमा निःशुल्क हुँदैनन् तर तुलनात्मक रूपमा निक्कै सस्तो हुन्छन्। चिकित्सकले सिफारिस गरेका सम्पूर्ण ल्याब टेस्टहरू निःशुल्क हुन्छन्। तर याद गर्नुपर्ने कुरा के हो भने यदि तपाईंले समय बुक गर्नु भएको छ तर त्यसलाई रद्द गर्न भुल्नु भयो भने जरिवाना स्वरूप ५० -७० युरो सम्मको जरिवाना तिर्नुपर्ने हुन सक्दछ। बुक गरेको समय क्यान्सिल गर्नुपरे Maisa एप अर्थात् फोनबाट सजिलै गर्न सकिन्छ।
साधारण रोगको उपचार: साधारण रुघाखोकी वा ज्वरोको औषधि औषधि पसलहरू अर्थात् Apteekki मा सोझै किन्न सकिन्छ। सामान्य औषधीहरू अनलाइनमै पनि किन्न सकिन्छ तर YA जस्ता भरपर्दो अनलाइन सेवा मात्र प्रयोग गर्नुपर्छ। औषधी पसलमा काम गर्नेले औषधी प्रयोग गर्ने तरिका र सामान्य स्वास्थ्य समस्यामा कुन औषधी प्रयोग गर्नु उपयुक्त हुन्छ भन्ने परामर्श पनि दिन्छन्। औषधि पसलबाट चिकित्सकको शिफारिसमा किनिएको औषधि तुलनात्मक रूपमा सस्तो हुन्छ। हरेक साधारण रुघाखोकीमा स्वास्थ्य सेवा जानु सम्भव पनि नहुने र आवश्यक पनि नहुने भएपनि लम्बिएको र गाह्रो परेको अवस्थामा भने स्वास्थ्य केन्द्र जानु नै बुद्धिमानी हुन्छ।
काम गर्ने ठाउँले उपलब्ध गराउने स्वास्थ्य सेवाः फिनल्यान्डमा työterveyshuolto प्रणाली अर्थात् काम गर्नेहरूको स्वास्थ्य र कार्यस्थलमा सुरक्षासँग सम्बन्धित सेवाहरू प्रदान गर्ने एक महत्वपूर्ण व्यवस्था हो। यसले कामदारहरूलाई नियमित स्वास्थ्य परीक्षण, कार्यस्थानमा हुने शारीरिक वा मानसिक जोखिमको मूल्यांकन, र आवश्यक परे उपचार वा पुनर्वासका सिफारिसहरू उपलब्ध गराउँछ। यदि तपाईं फिनल्यान्डमा काम गर्नुहुन्छ भने यो सेवाको बारे जानकारी राख्नु निकै महत्वपूर्ण छ। यो प्रणाली अन्तर्गत रोजगारदाताले उपलब्ध गराएको प्राइभेट अस्पतालमा तपाईंले उच्च स्तरको सेवा निशुल्क प्राप्त गर्न सक्नुहुन्छ। आवश्यकता अनुसार डाक्टरहरूले बिरामी बिदा पनि लेखिदिने गर्दछन्। यद्यपी तपाईंले सरकारी स्वास्थ्य सेवाबाट पनि बिरामी बिदाको सिफारिस प्राप्त गर्न सक्नुहुन्छ।
फिनल्यान्डमा निजी अस्पतालहरू पनि छन् र तीनले सार्वजनिक स्वास्थ्य सेवाको विकल्पका रूपमा द्रुत र लचिलो उपचार सुविधा प्रदान गर्छन्।
विद्यालय र विश्वविद्यालयका स्वास्थ्य सेवाहरूः फिनल्यान्डमा विद्यार्थीहरूका लागि विद्यालय र विश्वविद्यालयस्तरमा पनि स्वास्थ्य सेवाहरू उपलब्ध छन्। यी सेवाहरू अत्यन्त व्यवस्थित र निःशुल्क छन्। विद्यालय स्वास्थ्य सेवा (school health care) अन्तर्गत विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण, खोप, दृष्टि र दन्त परीक्षण, मानसिक स्वास्थ्य सल्लाह, तथा शारीरिक विकासको निगरानी गरिन्छ। उच्च शिक्षास्तरमा विश्वविद्यालय वा एप्लाइड साइन्सेसका विद्यार्थीहरूले Finnish Student Health Service (FSHS – YTHS) मार्फत सामान्य स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य परामर्श, दन्त उपचार, र यौन स्वास्थ्यसम्बन्धी सहयोग प्राप्त गर्न सक्छन्।
निजी अस्पतालहरूः फिनल्यान्डमा निजी अस्पतालहरू पनि छन् र तीनले सार्वजनिक स्वास्थ्य सेवाको विकल्पका रूपमा द्रुत र लचिलो उपचार सुविधा प्रदान गर्छन्। यी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूसँग भेटघाट, शल्यक्रिया, दन्त उपचार, मानसिक स्वास्थ्य परामर्श, र पुनर्वास सेवा जस्ता विस्तृत स्वास्थ्य सेवाहरू उपलब्ध हुन्छन्। धेरैजसो अवस्थामा निजी सेवाहरूको खर्च बिरामीले आफैं वा निजी स्वास्थ्य बीमा (private health insurance) मार्फत तिर्नुपर्छ। काम गर्ने व्यक्तिहरूले भने Työterveyshuolto मार्फत पनि सेवा लिन सक्छन्। Terveystalo, Mehiläinen जस्ता निजी अस्पतालहरूमा सिधैं डाक्टरको समय बुक गरेर जान सकिन्छ। यद्यपी पैसा आफैं तिर्नुपर्ने भएमा यो सार्वजनिक अस्पतालभन्दा महंगो पर्न जान्छ।
निवास अनुमति नभएका व्यक्तिका लागि स्वास्थ्य सेवाः फिनल्यान्डमा कुनै कारणले आवासीय अनुमति सकिएर वा अन्य कारणले ‘गैरकानुनी’ रूपमा बसिरहेकाहरूलाई पनि केही स्वास्थ्यसेवाहरू उपलब्ध छन्। यसरी बस्ने ‘पेपरलेस माइग्रेन्ट’हरूले पनि आकस्मिक बिरामीपना, चोटपटक वा जीवनरक्षक उपचार समेटिएको आपतकालीन स्वास्थ्य सेवा नि:शुल्क रूपमा पाउँछन्। त्यसैले गैरकानुनी रूपमा बसेकाले पनि उपलब्ध स्वास्थ्य सेवाको प्रयोग गर्न हिचकिचाउनु हुँदैन। सन् २०२३ देखि कानुनले यस्ता व्यक्तिहरूका लागि केही आवश्यक गैर-तात्कालिक सेवाहरू पनि समावेश गरेको छ, जसमा गर्भावस्था, प्रसूति, दीर्घकालीन रोगहरूको उपचार र खोपहरू पर्छन्। बालबालिका र गर्भवती महिलाहरूलाई विशेष स्वास्थ्य अधिकार दिइएका छन्। साथै, Global Clinic जस्ता स्वयंसेवी संस्थाहरूले ‘पेपरलेस’ व्यक्तिहरूलाई नि:शुल्क स्वास्थ्य परामर्श र उपचारमा सहयोग गर्छन्।





