विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

मनिदिप रेड्डीका अभिभावकको गुनासोः ‘फिनल्यान्डले न भिसा दियो, न समयमा सुचना’

नयाँ दिल्लीको भारतीय दूतावास मार्फत आफ्नो छोरा मृत भेटिएको जानकारी पाएको परिवार भन्छ– "यो प्राकृतिक मृत्यु होइन।"

संक्षेपमा


  • हेलसिन्कीको समुद्रमा मृत भेटिएका थिए बेपत्ता भारतीय विद्यार्थी।
  • घटनालाई लिएर परिवारद्वारा हत्याको गम्भीर आशंका।
  • फिनिस अधिकारीहरूमाथि तथ्य लुकाएको परिवारको आरोप।

सन् २०२६ को मे महिनाको सुरुवातमै फिनल्यान्डको लाह्ती सहरबाट एक १८ वर्षीय इन्जिनियरिङका विद्यार्थी हेलसिन्कीका लागि निस्किए, तर उनी कहिल्यै फर्किएनन्।

दुई महिनाको निरन्तर खोजी र परिवारको अनगिन्ती प्रयासपछि उनको निर्जीव शरीर हेलसिन्कीको समुद्रमा गत साता फेला पर्यो। फिनल्यान्डको तटरक्षक बलका गोताखोरहरूले हराएको करिब दुई महिना पछि उनको सव समुन्द्रबाट निकालेका थिए।

घटनाले भारतको हैदरावादमा रहेको उनको परिवारलाई गहिरो शोकमा डुबाएको छ भने अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र युरोपेली अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्नहरू खडा गरेको छ।

घटनाका बारे मूलधारका भारतीय मिडियाले पनि विभिन्न दृष्टिकोणबाट समाचार लेखेका छन्।

बेपत्ता हुनु अघिको अवस्था

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

मनिदीप रेड्डी गुज्जा भारतको हैदरावादस्थित हयातनगरका बासिन्दा हुन्। उनी सन् २०२५ मा सफ्टवेयर एन्ड सिस्टम्स इन्जिनियरिङमा स्नातक अध्ययन गर्न फिनल्यान्डको ल्यापेनरान्ता-लाह्ती युनिभर्सिटी अफ टेक्नोलोजी (LUT) मा भर्ना भएका थिए। केबल १८ वर्षको उमेरमा उनी भारत छाडेर विदेश हानिएका थिए।

परिवारलाई उधृत गर्दै इन्डियन एक्सप्रेसले लेखे अनुसार मनिदीप एक शान्त स्वभावका विद्यार्थी थिए र धेरैजसो उनी आफ्नो कलेज र कोठामा मात्रै सीमित हुन्थे।

मे ५ का दिन उनले आफ्नी आमालाई फोन गरेर करिब ६,००० भारतीय रुपैयाँ पठाउन आग्रह गरेका थिए। रकम उनको खातामा जम्मा भयो, तर बैंक रेकर्डले त्यो पैसा कहिल्यै प्रयोग नभएको देखाउँछ। यद्यपी उनले बस र ट्रेनको टिकट भने किनेका थिए, जसमा सम्भवतः आफूसँग पहिल्यै भएको पैसा प्रयोग गरेका थिए।

सोही दिन उनी लाह्तीबाट Z-ट्रेन चढेर करिब १०० किलोमिटर टाढा हेलसिन्की आए। उनी किन हेलसिन्की आए भन्ने अहिलेसम्म खुलेको छैन।

फिनल्यान्डको प्रहरीका अनुसार उनलाई अन्तिम पटक मे ५ को राति करिब ८ बजे हेलसिन्कीको क्रुनुभुओरेनरान्ता क्षेत्रमा रहेको K-Market मा देखिएको थियो। त्यसपछि उनको मोबाइल अफ भयो र उनी बेपत्ता भए।

जुलाई ९ का दिन फिनल्यान्डको कोस्ट गार्डले उनी हराएको क्षेत्रकै समुद्री तट नजिकै एक शव फेला पार्‍यो। फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्युरोका अनुसार फिंगरप्रिन्ट विश्लेषणबाट उक्त शव मनिदीप रेड्डीकै भएको पुष्टि भयो।

जुलाई १० मा फिनल्यान्डस्थित भारतीय दूतावासले मनिदीपको परिवारलाई इमेलमार्फत शव भेटिएको आधिकारिक जानकारी गराएको टाइम्स अफ इन्डियाले लेखेको छ। शवसँगै भेटिएको वालेटमा मनिदीपको फिनिस परिचयपत्र, उनकी आमाको क्रेडिट कार्ड, र ५०० भारतीय रुपैयाँ सुरक्षित अवस्थामा थिए।

“प्रारम्भिक अनुसन्धानमा कुनै पनि आपराधिक गतिविधिको संकेत देखिएको छैन,” फिनिस प्रहरीले एक वक्तव्यमा उल्लेख गर्दै प्राकृतिक कारण वा दुर्घटनातर्फ संकेत गरेको छ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन फरेन्सिक पोस्टमार्टम गरिने अधिकारीहरूले जनाएका छन्।

यद्यपि, फिनल्यान्डका अनुसन्धान अधिकारीहरूले अहिले नै अन्तिम निष्कर्ष निकाल्न हतार हुने बताउँदै यो बेपत्ता प्रकरणलाई अब मृत्युको अनुसन्धानमा परिणत गरिएको पुष्टि गरेका छन्।

परिवारले उठायो अनेकौ प्रश्न

फिनिस प्रहरीले घटनालाई अपराध नमाने पनि मनिदीपको परिवार र उनीहरूका कानुनी सल्लाहकार के.एल.बी. कुमारले यसलाई सरासर अस्वीकार गरेका छन्।

“हामीलाई धेरै शंका छ। दुई महिनापछि शव फेला परेको छ। यो शंकास्पद मृत्यु हो, प्राकृतिक मृत्यु होइन भन्ने हामीलाई दृढ विश्वास छ,” टाइम्स अफ इन्डियालाई प्रतिक्रिया दिएका अधिवक्ता कुमारले भनेका छन्।

परिवारले फिनिस सरकार र अनुसन्धानकर्ताहरूमाथि महत्त्वपूर्ण तथ्यहरू लुकाएको र घटनालाई सामान्य मृत्युको रूपमा चित्रण गर्न खोजेको गम्भीर आरोप लगाएको छ।

मनिदीपका बुवा गुज्जा मुथ्यम रेड्डीका अनुसार सुरुमा राम्रै सुचना दिएपनि मे २९ पछि फिनिस अधिकारीहरूले परिवारसँग सबै प्रकारका सञ्चार बन्द गरेका थिए। अनगिन्ती इमेल र फोन कलका बाबजुद पनि उनीहरूलाई कुनै जानकारी नदिइएको उनीहरुको आरोप छ।

मनिदीप बेपत्ता भइसकेपछि उनको विश्वविद्यालयको परिचयपत्र (ID) दुई पटक लगइन भएको पाइएको थियो। तर त्यो लगइन कसले र कहाँबाट गर्‍यो भन्ने कुरा प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। त्यसले पनि मनीदिप अपराधको शिकार भएकी भन्ने परिवारको शंकालाई बल दिएको छ।

आमाबाबु आफैँ फिनल्यान्ड आएर छोरा खोज्न पहल गर्ने आशाका साथ भिसा आवेदन दिएका थिए। तर फिनिस अधिकारीहरूले भिसा अस्वीकार गरेको कुराले परिवारको आक्रोश झनै बढाएको थियो।

परिवारले अहिले भारतको केन्द्र सरकारसँग कूटनीतिक पहल गरी शव पहिचान गर्न फिनल्यान्ड जान पाउनुपर्ने र घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने जोडदार माग गरिरहेको भारतीय मिडियाले लेखेका छन्।

एउटा उज्ज्वल भविष्यको सपना बोकेर फिनल्यान्ड पुगेका १८ वर्षीय युवाको जीवन रहस्यमय ढंगले समुद्रमा टुंगिनु आफैंमा एक दुखद अध्याय हो। मनिदीप किन १०० किलोमिटर टाढाको हेलसिन्की आए?

बेपत्ता भएपछि उनको आइडी कसले प्रयोग गर्‍यो? र उनको मृत्यु कसरी भयो? यी अनुत्तरित प्रश्नहरूले परिवारलाई पिरोलिरहेको छ।

आगामी दिनमा आउने फरेन्सिक रिपोर्ट र दुई देशबीचको कूटनीतिक पहलले मात्र यस घटनाको वास्तविक पर्दाफास गर्न सक्छ।

अहिलेका लागि एउटा परिवारले आफ्नो सन्तान गुमाएको छ, र हजारौं माइल टाढा न्यायको पर्खाइमा छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप