संक्षेपमा
- गार्डेन हेलसिन्की परियोजनाको ३५ मिलियन युरो अनुदान विवादमा मतदान।
- विपक्षीद्वारा सरकारमाथि नातावाद र भ्रष्टाचारको गम्भीर आरोप।
- प्रधानमन्त्री ओर्पोद्वारा आरोप अस्वीकार, रोजगारी सिर्जना मुख्य लक्ष्य रहेको दाबी।
फिनल्यान्डको संसदले प्रधानमन्त्री पेत्तेरी ओर्पो र उनको सरकारलाई विश्वासको मत दिएको छ। समर बिदाको बीचैमा बोलाइएको आकस्मिक/विशेष संसद सत्रमा सरकारको पक्षमा १०१ र विपक्षमा ९० मत खसेको थियो।
संसदको विशेष अधिवेशनमा झिनै भएपनि सरकार ढल्न सक्ने सम्भावना रहेको आकलन राजनैतिक विश्लेषकहरुले गरेका थिए। तर सरकार भने ढलेन। यद्यपि, सत्ताधारी दललाई भने ठुलो राजनैतिक र नैतिक क्षति भएको मूलधारका फिनिस मिडियाले लेखेका छन्।
लगातार नौ घण्टा चलेको छलफलमा १८३ भन्दा बढी पटक सांसदहरूले बोलेका थिए। गार्डेन हेलसिन्की बहुउद्देश्यीय परियोजनाका लागि सरकारले दिने भनेको ३५ मिलियन युरोको अनुदान विवादका कारण यो मतदान भएको हो।
प्रधानमन्त्री पेत्तेरी ओर्पोले अनुदानको बचाउ गर्दै परियोजनाले निर्माण क्षेत्रलाई उकास्ने दाबी गरे। उनले कोकोमुस पार्टीले पाएको चुनावी चन्दा र अनुदानको निर्णयबीच कुनै सम्बन्ध नरहेको प्रस्ट पारे।
संसदमा बोल्दै ओर्पोले निर्णय प्रक्रियामा कुनै अनैतिक काम नभएको जिकिर गरे। उनले फिनल्यान्डमा रोजगारी सिर्जना गर्नु र मानिसहरूलाई आयस्रोत दिनु नै आफ्नो उद्देश्य रहेको बताए।
सत्ता साझेदार दलका सांसदहरूले पनि सरकारी निर्णयको बचाउ गरे। अर्थमन्त्री रिक्का पुर्राले गार्डेन परियोजनाले निर्माण क्षेत्रलाई गति दिने बताइन्।
कोकोमुसका संसदीय दलका नेता युक्का कोप्राले यो अनुदान सर्तसहितको भएको बताए। उनले राज्यले अहिलेसम्म गार्डेन परियोजनालाई एक युरो पनि नदिएको प्रस्ट पारे।
सेन्टर पार्टीका आन्ती कुर्भिनेनले सरकार रंगेहात पक्राउ परेपछि मात्र पछि हटेको आरोप लगाए।
विपक्षीले के भने?
विपक्षी दलका नेताहरूले भने सरकारमाथि कडा प्रहार गरे। एसडीपीका योहानेस कोस्किनेन र वामपन्थी गठबन्धनकी मिन्या कोस्केलाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव राखेका थिए।
ग्रिन पार्टीकी सारा हुर्क्कोले प्रधानमन्त्री ओर्पोविरुद्ध पनि छुट्टै अविश्वासको प्रस्ताव पेस गरिन्। वामपन्थी नेता मिन्या कोस्केलाले कोकोमुस पार्टीलाई आसेपासे पुँजीवाद (क्रोनी क्यापिटालिज्म) को आरोप लगाइन्।
सेन्टर पार्टीका आन्ती कुर्भिनेनले सरकार रंगेहात पक्राउ परेपछि मात्र पछि हटेको आरोप लगाए। सोमबार मात्रै सरकारले गार्डेन परियोजनालाई दिइने राजनीतिक समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
लीके न्युतका नेता ह्यारी हार्किमोले अन्तर्राष्ट्रिय कलाकार ल्याउने प्रधानमन्त्रीको तर्कलाई बकवास भने। उनले रुसको सेन्ट पिटर्सबर्ग बन्द रहेसम्म टेलर स्विफ्ट जस्ता ठूला कलाकार हेलसिन्की नआउने दाबी गरे।
सत्ता पक्षकै फिन्स पार्टीका नेताहरूले पनि घुमाउरो पारामा असन्तुष्टि जनाए। पीएसका नेता यानी माकेला र तेमु केस्किसार्याले नातावाद र आसेपासे पुँजीवादको कडा आलोचना गरे।
गार्डेन हेलसिन्की हेलसिन्कीको तोलो (Töölö) क्षेत्रमा निर्माण गर्न प्रस्ताव गरिएको एक विशाल रङ्गशाला कम्प्लेक्स परियोजना हो। यसको लक्षय पुरानो आइस हललाई प्रतिस्थापन गर्दै खेलकुद, कन्सर्ट र व्यापारिक गतिविधिहरूको केन्द्र बन्ने थियो।
आर्थिक अभाव र ढिलासुस्तीका कारण यो परियोजना लामो समयदेखि विवादमा छ।
फिनल्यान्डको राजनीतिमा पारदर्शीतालाई उच्च महत्त्व दिइने हुनाले सरकारमा रहेको दल निकट मानिएको उक्त परियोजनालाई राज्यको ढुकुटीबाट पैसा दिने निर्णयले ठूलो राजनीतिक तरंग ल्याएको हो।
यो पनि पढ्नुहोस्ः








