विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

उड्डयन इतिहासमा नयाँ अध्याय: फिनल्यान्डको आकाशमा उड्यो पूर्ण विद्युतीय विमान

एक पूर्ण विद्युतीय विमानले पहिलो पटक खुला समुद्र पार गर्दै स्विडेनबाट फिनल्यान्डसम्मको ऐतिहासिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

संक्षेपमा


  • विद्युतीय विमानद्वारा पहिलो पटक खुला समुद्र पार।
  • ५६०० किलोमिटर लामो प्रदूषणरहित ‘नर्थ सर्किट’ यात्रा।
  • साना विमानस्थल र सीमापार उडानमा नयाँ सम्भावना।

विद्युतीय गाडीहरू त हाम्रो जीवनको अभिन्न अङ्ग भइसके, अब भने विद्युतीय विमान समेत उड्न सुरु गरेका छन्। भर्खरै पहिलो पटक खुला समुन्द्र पार गरेर स्विडेनबाट फिनल्यान्डको विमानास्थलमा एउटा यस्तै विद्युतीय विमानले अवतरण गरेको छ।

जर्मनीबाट सुरु भएको ५६०० किलोमिटर लामो प्रदूषणरहित हवाई यात्राको क्रममा मङ्गलबार उक्त विद्युतीय विमान स्विडेनको उमेओबाट फिनल्यान्डको भासा विमानस्थलमा अवतरण गरेको हो।

औलु युनिभर्सिटी अफ एप्लाइड साइन्सेसको सहकार्यमा भइरहेको यो उडानले खुला समुद्र पार गर्ने पहिलो प्रमाणित विद्युतीय विमानको रूपमा इतिहास रचेको छ।

इलेक्ट्रा ट्रेनर नामको यो दुई सिटे विमानलाई सुरुदेखि नै विद्युतीय विमानको रूपमा डिजाइन गरिएको हो। यसको ब्याट्री क्षमता साढे दुई घण्टाको उडानका लागि पर्याप्त छ भने यसलाई पूर्ण रूपमा चार्ज गर्न करिब तीन घण्टा लाग्छ।

उक्त विमानको यात्रा जर्मनीको बभेरियाबाट सुरु भएर स्विडेन, फिनल्यान्ड र बाल्टिक देशहरू हुँदै मध्य युरोपमै फर्केर रोकिनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्ड बसाइको क्रममा उक्त विमानलाई कुहमो फ्लाई-इन कार्यक्रममा प्रदर्शन गरिनेछ। त्यहाँ सर्वसाधारणले विमानभित्रै पसेर नजिकबाट अवलोकन गर्न पाउनेछन्।

प्रविधि नयाँ भएपनि उक्त विमानका पाइलट भने पुराना हुन्।

७७ वर्षीय अनुभवी परीक्षण पाइलट उवे नोर्टमानले यो पूरै यात्राको उडान भरिरहेका छन्। उनले सञ्चारमाध्यमलाई बताए अनुसार स्विडेन र फिनल्यान्डबीचको जलमार्ग पार गर्ने काम सोचेभन्दा छिटो र सहज रूपमा सम्पन्न भएको थियो।

यद्यपि, स्विडेनको यात्रा भने पूर्ण रूपमा बाधारहित थिएन। स्टोर्भिक विमानस्थलमा आएको आँधीबेहरीका कारण विमानको चार्जिङ प्रणालीमा चट्याङले क्षति पुर्‍याएको थियो। तर जर्मनीबाट तत्काल नयाँ भाग ल्याएर यसलाई मर्मत गरियो।

अनुसन्धानकर्ता तिमो ह्युभोनेनले फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई बताए अनुसार यो विमान कुनै परीक्षण मोडेल नभई बजारमा किन्न सकिने व्यावसायिक विमान नै हो।

औलु विश्वविद्यालयले पनि लामो दूरीको उडान र चार्जिङ पूर्वाधारको अध्ययन गर्न यस्तै एउटा विमान खरिद गरेको छ, जुन आगामी वसन्त ऋतुमा आइपुग्नेछ।

भासा क्षेत्र विकास कम्पनीका परियोजना प्रबन्धक लास्से पोह्यालाका अनुसार ब्याट्रीको तौल नै हाल विद्युतीय विमान विकासको मुख्य चुनौती हो। यद्यपि, प्रविधिको विकास तीव्र रूपमा भइरहेकाले भविष्यमा २० जनासम्म यात्रु बोक्न सक्ने विद्युतीय विमानहरू सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

चाखलाग्दो कुरा के छ भने, फिनल्यान्डको उड्डयन इतिहास पनि यस्तै एक ऐतिहासिक उडानबाट सुरु भएको मानिन्छ। सन् १९१८ को मार्च महिनामा एरिक भोन रोसेन र निल्स किन्डबर्गले स्विडेनको उमेओबाट फिनल्यान्डको भासासम्मै पहिलो उडान भरेका थिए। त्यसपछी उनीहरुले फिनल्यान्डलाई उक्त विमान उपहार दिएका थिए।

एक शताब्दीभन्दा बढी समयपछि सोही मार्गमा विद्युतीय विमानले खुला समुद्र पार गरेर उड्डयन क्षेत्रमा अर्को सुनौलो इतिहास रचेको छ।

विश्वभर कस्ता प्रकारका विद्युतीय विमानहरू विकास भइरहेका छन्?

हाल विश्वभर मुख्यतया तीन प्रकारका विद्युतीय विमानहरूको विकास भइरहेको छ। पहिलो, छोटो दूरीका लागि प्रयोग हुने पूर्ण विद्युतीय विमानहरू हुन्, जसले ब्याट्रीको शक्तिमा सञ्चालन हुन्छन्। दोस्रो, हाइब्रिड-इलेक्ट्रिक विमानहरू हुन् जसले इन्धन र ब्याट्री दुवैको प्रयोग गर्छन्, र तेस्रो प्रकारमा हाइड्रोजन फ्युल सेलबाट चल्ने विमानहरू पर्दछन्।

वैज्ञानिक अध्ययनहरूले विद्युतीय विमानको भविष्यलाई निकै आशाजनक देखाएका छन्। नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार विद्युतीय उड्डयनले हवाई यातायातबाट हुने कार्बन उत्सर्जनलाई उल्लेख्य रूपमा घटाउन मद्दत गर्छ।

विशेष गरी साना विमानहरूमा ब्याट्री प्रविधिको प्रयोगले परम्परागत इन्धनको तुलनामा सञ्चालन लागत र ध्वनि प्रदूषण दुवै कम गर्ने क्षमता राख्छ। यद्यपि, ब्याट्रीको तौल र ऊर्जा घनत्वका कारण लामो दूरीको उडानका लागि भने अझै थप अनुसन्धान आवश्यक रहेको विज्ञहरू बताउँछन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप