संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीस्थित नेपाली रेस्टुरेन्ट ‘राभिन्तोला चौतारी’ मा तोडफोड र लुटपाट

जुन ३० को राति ढोकाको सिसा फुटाएर रेस्टुरेन्टबाट नगदसहित बहुमूल्य सामानहरू चोरी भएका हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हेलसिन्कीस्थित ‘राभिन्तोला चौतारी’ मा मध्यरातमा चोरी।
  • नगद, ल्यापटप, घडी र मदिरासहितका सामान गायब।
  • फिनल्यान्डमा आप्रवासीद्वारा सञ्चालित व्यवसायहरू लगातार तारोमा।

हेलसिन्कीस्थित एक नेपाली रेस्टुरेन्टमा तोडफोड र लुटपाट भएको छ। जुन ३० मङ्गलवार राति राभिन्तोला चौतारीमा ढोकाको सिसा फुटाएर चोरी भएको हो।

चोरहरूले रेस्टुरेन्टको अगाडीको भागबाट प्रवेश गरेर लुटपाट मच्चाएका थिए। उनीहरूले क्यासबाट नगद, ल्यापटप, दुई वटा मोबाइल फोन र एप्पल वाच लगायतका सामान चोरेका छन्।

साथै जेबीएल स्पिकर, वाइन र ह्विस्कीका बक्सहरू समेत चोरी भएको छ। घटना लगत्तै प्रहरीले रेस्टुरेन्ट सञ्चालकलाई खबर गरेको थियो।

रेस्टुरेन्ट सञ्चालक विष्णु अर्यालले नेपालीलाइनेनलाई बताए अनुसार राति करिब ११:१५ बजे प्रहरीले फोन गरेर उनलाई सकेसम्म छिटो रेस्टुरेन्टमा आउन आग्रह गरेको थियो।

“म १५ मिनेटमै त्यहाँ पुग्दा अगाडीको ढोकाबाटै प्रवेश गरेर चोरी भएको पाएँ,” उनले भने।

नेपालीलाइनेनबाट थप
विनाशकारी रसुवा बाढी र विपद् पछि अब के गर्ने? दीर्घकालीन सुरक्षाका लागि अब के-कस्ता कदम चाल्न आवश्यक छ? फिनल्यान्डको Aalto University मा बाढी व्यवस्थापन अनुसन्धानकर्ता रहेका अनुप श्रेष्ठसँग नेपालीलाइनेनको विशेष कुराकानी।
विज्ञापन सकियो

प्रहरीले तत्कालै घटनास्थलको रिपोर्ट तयार पारेको थियो। प्रहरीकै सल्लाहमा इन्सुरेन्स कम्पनीलाई जानकारी गराउने प्रक्रिया पनि अघि बढाइएको थियो।

त्यसपछि एक कम्पनीलाई खबर गरेर फुटेको सिसा अस्थायी रूपमा मर्मत गरिएको थियो। राति करिब १ बजे सबै प्रक्रिया सकेर सञ्चालक घर फर्किएका थिए।

अर्यालका अनुसार चोरी र तोडफोडबाट करिब ४ देखि ५ हजार युरोको क्षति भएको प्रारम्भिक अनुमान छ। अन्तिम हिसाब भने हुन बाँकी छ।

“प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सिसिटिभी लगायतका प्रमाण सङ्कलन भएको छ र अनुसन्धान अगाडि बढिरहेको जानकारी पाएका छौँ,” अर्यालले बताए। “चोरहरू पत्ता लाग्ने अपेक्षा गरेका छौँ।”

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

इन्सुरेन्सको प्रक्रिया पनि सुरु गरेको र कति क्षति कभर हुन्छ भन्ने कुरा मूल्याङ्कन र दाबी प्रक्रिया पूरा भएपछि मात्रै निश्चित हुने अर्यालले जानकारी दिए।

बाहिरको मुख्य सिसा बिल्डिङ मालिक वा इन्सुरेन्स कम्पनी कसले कभर गर्ने निश्चित नहुँदा अन्यौलता बढेको पनि अर्यालले बताए।

“बिल्डिङ मालिकलाई भन्दा इन्सुरेन्सले कभर गर्छ भन्छ,” उनले थपे। “अनि इन्सुरेन्सलाई भन्दाचाहिँ बिल्डिङ मालिकले कभर गर्नुपर्छ भन्छ। यस्तै चलिरहेको छ।”

घटनाका बाबजुद रेस्टुरेन्ट भने नियमित रूपमा सञ्चालनमै रहेको र ग्राहकहरूलाई निरन्तर सेवा दिइरहेको अर्यालले बताए। 

घटनाका बाबाजुत रेस्टुरेन्ट भने नियमित रूपमा सञ्चालनमै रहेको र ग्राहकहरूलाई निरन्तर सेवा दिइरहेको अर्यालले बताए।

रेस्टुरेन्ट संचालक अर्याल।

आप्रवासीका व्यवसाय आक्रमणको शिकार

फिनल्यान्डमा विदेशी मूलका व्यवसायीहरूले सञ्चालन गर्ने रेस्टुरेन्ट र पसलहरू स्थानीय अर्थतन्त्रका महत्त्वपूर्ण हिस्सा हुन्। तर, पछिल्लो समय हेलसिन्की लगायतका सहरहरूमा आप्रवासीका व्यवसायहरूमाथि चोरी र तोडफोडका घटना बढ्दा व्यवसायीहरू त्रसित बनेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यद्यपि, चौतारी रेस्टुरेन्टमा भएको आक्रमण र तोडफोड आप्रवासीले सञ्चालन गरेको व्यवसाय भएकै कारण भएको हो भन्ने पुष्टि भएको छैन।

व्यापार गरेर सरकारलाई कर तिरिरहेको व्यापारीको रूपमा तपाईँलाई यस्तो घटना भोग्नुपर्दा कस्तो महसुस भयो भनेर नेपालीलाइनेनले सञ्चालक अर्याललाई सोधेको थियो।

“आर्थिक क्षति त भएको छ नै, तर यस्तो घटनाले व्यवसायीको रूपमा मानसिक रूपमा पनि असर गर्छ,” उनले भने। “इमानदारीपूर्वक व्यवसाय गरेर राज्यलाई कर तिरिरहेका व्यवसायीका रूपमा सुरक्षा व्यवस्थाप्रति थप संवेदनशील हुनुपर्ने महसुस भएको छ।”

अर्यालले यस्ता घटनाले केही असुरक्षित महसुस गराउने भए पनि आफूहरू सकारात्मक रूपमा अगाडि बढिरहेको र सम्बन्धित निकायले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउँछ भन्ने विश्वास गरेको बताए।

हेलसिन्कीको Koskelantie 5 मा अवस्थित चौतारी रेस्टुरेन्ट फिनल्यान्डको राजधानी क्षेत्रमा बस्ने नेपालीहरूबिच लोकप्रिय छ। उक्त रेस्टुरेन्टमा मोमो, सुकुटी, भुटुवा, चाउमिन, समोसा, छोइला लगायतका ठेट नेपाली परिकारहरू पाइन्छ।

साथै, विवाह, व्रतबन्ध, पास्नी र जन्मदिनजस्ता विभिन्न अवसरका लागि धेरै नेपालीहरूले उक्त रेस्टुरेन्ट बुक गर्ने गरेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप