📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goयो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.90 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- पुर्जाको मृत्युपछि हिन्त्सामाथि घृणा र धम्कीको वर्षा।
- पुर्जाको छवि बिगारेको भन्दै हिन्त्सामाथि आरोप।
- महिला आरोहीहरूको सुरक्षाबारे हिन्त्साको चिन्ता।
प्रख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा अर्थात् निम्सदाइको मृत्युपछि फिनिस पर्वतारोही तथा पूर्व मिस फिनल्यान्ड लोत्ता हिन्त्साले ज्यान मार्ने धम्कीको सामना गरिरहेकी छन्। जुलाईको अन्त्यमा पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी पुर्जासहित १० जनाको मृत्यु भएको थियो।
सन् २०२४ मा अमेरिकी अखबार न्यु योर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा हिन्त्साले पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। पुर्जाको निधनसँगै ती आरोपहरूलाई लिएर हिन्त्सामाथि सामाजिक सञ्जालमा घृणाको वर्षा भइरहेको हो।
फिनल्यान्डको सार्वजनिक प्रसारक YLE को पोडकास्टमा बोल्दै हिन्त्साले आफूलाई पुर्जाको छवि बिगार्ने दोषीको रूपमा हेरिएको बताइन्। मानिसहरूले पुर्जालाई ‘पूर्ण नायक’ बन्न नदिएको भन्दै आफूलाई दोष दिएको उनको भनाइ छ।
“मैले उनको प्रतिष्ठामा दाग लगाएको भन्ने मानिसहरूको बुझाइ छ,” हिन्त्साले भनेकी छन्। न्यु योर्क टाइम्सको लेख प्रकाशित हुँदाभन्दा अहिले धेरै आलोचना खेप्नुपरेको उनको अनुभव छ।
हिन्त्साले यस्ता प्रतिक्रियाले महिलाहरूका लागि आरोहण संस्कृति कति सुरक्षित छ भन्ने प्रश्न खडा गरेको बताइन्। उनले घटनाबाट आफू अत्यन्त असुरक्षित महसुस गरेको समेत स्वीकार गरिन्।
सन् २०१९ मा ६ महिनामै विश्वका १४ वटै ८००० मिटरभन्दा अग्ला हिमाल चढेर पुर्जाले विश्व कीर्तिमान बनाएका थिए। उनको सोही कीर्तिमानमाथि नेटफ्लिक्सले 14 Peaks: Nothing Is Impossible भन्ने डकुमेन्ट्री पनि बनाएको थियो।
पर्वतारोहणको क्षेत्रमा निर्मल पुर्जा (निम्सदाइ) एक चर्चित नाम हो, उनले विशेषगरी नेपाली शेर्पा र आरोहीहरूको पहिचान विश्वसामु चिनाउन ठूलो भूमिका खेलेका थिए।
फिनल्यान्डमा बस्ने नेपाली समुदायका लागि पनि पूर्जा एक परिचित र चासोका पात्र हुन्।
के थियो आरोप?
सन् २०२४ मा विश्वप्रसिद्ध पत्रिका न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमार्फत हिन्त्साले पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी थिइन्। उनका अनुसार काठमाडौंको एक होटलमा व्यावसायिक भेटघाटका लागि जाँदा पुर्जाले सहमतिविपरीत आफूलाई चुम्बन गर्ने, लुगा खोल्ने र दुर्व्यवहार गर्ने प्रयास गरेका थिए।
न्यु योर्क टाइम्सको सोही लेखमा अमेरिकी आरोही अप्रिल लियोनार्डोले पनि पुर्जामाथि यस्तै आरोप लगाएकी थिइन्। यद्यपि पुर्जा र उनको कानुनी टोलीले यी सबै आरोपहरूलाई “झुटो र मानहानिपूर्ण” भन्दै खण्डन गरेको थियो।
न्यु योर्क टाइम्सको उक्त रिपोर्टले अन्तराष्ट्रिय पर्वतारोहण समुदायमा ठूलो हलचल ल्याएको थियो। केही चर्चित ब्रान्डहरूले निर्मल पुर्जासँग सम्बन्ध तोडेको घोषणा समेत गरेका थिए।
हिन्त्साले आफूलाई प्रतिष्ठा र करिअरमा पर्न सक्ने नकारात्मक असरको डर भए तापनि अरूलाई यस्तो घटना नहोस् भनेर बोल्नुपरेको बताउँदै आएकी छिन्।
गतवर्ष अगस्टमा पनि हिन्त्साले ‘हान्ना टिकान्डर’ पोडकास्टमा आफूले फिनल्यान्डको मनोरञ्जन क्षेत्रमा काम गर्दा पनि यस्तै किसिमका दुर्व्यवहारको सामना गर्नुपरेको खुलासा गरेकी थिइन्।
“कतिपय मानिसहरूलाई लाग्छ कि उनीहरूलाई अरूलाई छुने अधिकार छ,” सार्वजनिक कार्यक्रमहरूमा हुने घटनाबारे उनले भनेकी थिइन्।
आफ्नो मिलनसार स्वभावलाई कतिपयले गलत रूपमा लिने गरेको उनको भनाइ छ। सुरुमा यस्ता घटनाहरूले आफूलाई अन्तर्मुखी बनाए पनि अहिले भने आफू त्यसविरुद्ध बोल्न र आफ्नै पहिचानमा रहन सिकेको उनले उल्लेख गरेकी थिइन्।
न्युयोर्क टाइम्सको उक्त रिपोर्टले अन्तराष्ट्रिय पर्वतारोहण समुदायमा ठूलो हलचल ल्याएको थियो। केही चर्चित ब्रान्डहरूले निर्मल पुर्जासँग सम्बन्ध तोडेको घोषणा समेत गरेका थिए।
को हुन् हिन्त्सा?
लोत्ता हिन्त्सा एक प्रसिद्ध फिनिस मोडल र सन् २०१३ की मिस फिनल्यान्ड हुन्। अहिले उनी फिनल्यान्डकी चर्चित साहसी पर्वतारोहीका रुपमा चर्चित छन्। ३८ वर्षे हिन्त्साको जन्म फिनल्यान्डमा भएपनि बाल्यकालको प्रारम्भिक समय भने इथियोपियामा बितेको थियो।
प्रसिद्ध खेलकुद चिकित्सक तथा फर्मुला १ विशेषज्ञ डाक्टर आकी हिन्त्साकी छोरी भएकाले उनले सानैदेखि कठोर अनुशासन, शारीरिक तन्दुरुस्ती र खेल विज्ञानको वातावरणमा हुर्कने अवसर पाइन्।
सुरुमा सुन्दरी प्रतियोगिता जितेर ग्ल्यामर जगतमा चर्चित बने पनि उनले पछि आफ्नो जीवनलाई जोखिमपूर्ण र साहसिक हिमाल आरोहणतर्फ मोडिन्।
हाल उनी विश्वका आठ हजार मिटरभन्दा अग्ला र अत्यन्त कठिन हिमालहरू बिना कृत्रिम अक्सिजन आरोहण गर्ने दृढ पर्वतारोहीका रूपमा प्रख्यात छिन्। उनले ब्रोड पिक, ग्याशरब्रम तथा आकोन्कागुवा जस्ता चुनौतीपूर्ण शिखरहरू आरोहण गरिसकेकी छिन् भने जाडो याममा गरिने केटु हिमालको कठोर आरोहण प्रयासमा पनि सहभागी भइसकेकी छिन्।
उनी पटक-पटक नेपाल गएकी छन्, र उनको इन्स्ट्राग्राममा नेपालका अनेकौँ फोटो र भिडियोहरू देख्न सकिन्छ।
निर्मल पुर्जासँगै पाकिस्तानमा बितेका अर्का नेपाली पर्वतारोही ग्यालु शेर्पाप्रति भने हिन्त्साले भावुक श्रद्धान्जली लेखेकी छन्।

उनी लेख्छिन्ः
“न्युयोर्क टाइम्समा एउटा लेख प्रकाशित भएपछि नेपाल फर्किएको त्यो मेरो पहिलो यात्रा थियो। उक्त लेखका कारण नेपालमा र विश्वका केही पर्वतीय आधार शिविरहरूमा समेत आफ्नो सुरक्षालाई लिएर म निकै डराएकी थिएँ। त्यही बेला मेरो भेट ग्यालुसँग भयो।
ग्यालु Sophie Lavaudको टोलीका एक सदस्यका लागि क्लाइम्बिङ शेर्पाका रूपमा जाने तयारीमा थिए। मैले पनि अन्तिम समयमा उनीहरूसँग बेसक्याम्पमा भेटेर चोलात्से आरोहण गर्ने निर्णय गरेकी थिएँ। सोफीले मलाई सुरक्षित महसुस होस् भनेर हामी सबैलाई सँगै पदयात्रा गर्ने व्यवस्था मिलाइदिइन्।
हामीबीच धेरै कुरा भएन। तर हिमालमा कति छिटो यात्रा गर्न सकिन्छ भन्ने कुराले हामीलाई जोड्यो। दुई गाउँबीचको बाटो कति समयमा पार गर्यौँ भनेर ग्यालु सधैँ चेक गर्न उत्साहित हुन्थे। म पनि उत्तिकै उत्साहित हुन्थेँ। उनीसँगको त्यो सानो प्रतिस्पर्धाले मलाई चुनौती दिएको महसुस हुन्थ्यो र मैले त्यसलाई निकै रमाइलो मानेँ।
बेसक्याम्प पुगेपछि ग्यालु चाँडै क्याम्प–१ तर्फ जाने तयारीमा थिए, केही सामान त्यहाँ राख्नुपर्ने थियो। म पनि आफ्ना सामान राख्न चाहन्थेँ, त्यसैले हामी सँगै गयौँ। उनीसँगै डोरीमा बाँधिएर हिँड्न र उनलाई आरोहण गरिरहेको हेर्न पाउनु मेरा लागि विशेष अनुभव थियो।
हिमालमा ग्यालु आफ्नो वास्तविक क्षमतामा देखिन्थे। पछि उनी आफ्ना क्लाइन्टलाई गाइड गरिरहेका बेला पनि त्यस्तै थिए। उनी आफ्ना क्लाइन्टका लागि आवश्यकभन्दा पनि बढी सहयोग गर्न तयार हुन्थे।
जुलाई ३० मा ब्रोड पिकमा गएको हिमपहिरोमा १० जना आरोहीले ज्यान गुमाए। तीमध्ये ग्यालु पनि थिए।
हामी अब फेरि कहिल्यै हिमालमा भेट्न पाउने छैनौँ भन्ने वास्तविकतालाई म अझै स्वीकार गर्ने प्रक्रियामै छु।
ग्यालु, तपाईंले गर्नुभएको सबै कुराका लागि धन्यवाद। तपाईंले मलाई सुरक्षित महसुस गराउनुभयो र तपाईंको सुन्दर देश नेपालमा फेरि आउन मेरो आत्मविश्वास फर्काउन मद्दत गर्नुभयो। सबैभन्दा ठूलो धन्यवाद यसैका लागि।
तपाईंको परिवारप्रति मेरो गहिरो समवेदना। तपाईंलाई हामी कहिल्यै बिर्सिने छैनौँ।“








