विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नयाँ कानुन: रक्सीको होम डेलिभरी गर्न मिल्ने, अल्को पसल आइतबार पनि खुल्ने

फिनल्यान्डको संसद्ले देशको रक्सी सन्बन्धि कानुनमा व्यापक परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ।

नयाँ निर्णयसँगै अब फिनल्यान्डमा रक्सीको अनलाइन बिक्री, होम डेलिभरी र सीमापार खरिद सहज हुने भएको छ।

संसद्मा भएको मतदानमा कानुन संशोधनको पक्षमा ९८ र विपक्षमा ७७ मत परेको थियो। मतदानमा कुनै पनि सांसदको मत खाली रहेनन्।

नयाँ नियमअनुसार अब सरकारी रक्सी पसल ‘अल्को’ र अन्य खुद्रा पसलले ग्राहकको घरमै रक्सी पुर्‍याउन पाउनेछन्।

वाइन र कडा रक्सी भने अल्कोबाट मात्र घरमा मगाउन पाइनेछ।

विज्ञापन
विज्ञापन सकियो

अन्य खुद्रा पसलहरूले बढीमा ८ प्रतिशतसम्मको मदिरा र ५.५ प्रतिशतसम्मका अन्य अल्कोहलयुक्त पेय पदार्थ मात्र डेलिभरी गर्न पाउने नियम छ।

यो डेलिभरी बिहान ९ बजेदेखि राती ९ बजेसम्म मात्र गर्न पाइनेछ।

रक्सी अर्डर बुझ्ने मानिसले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ र उनीहरू धेरै मात्तिएको हुन नहुने व्यवस्था छ।

डेलिभरी लिने व्यक्ति सो समयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।

अल्कोका पसलहरू आगामी जुलाई ४ तारिखदेखि आइतबार पनि खुल्ने भएका छन्। कम्पनीका अनुसार व्यस्त क्षेत्रका ३५ वटा पसल आइतबार खुल्नेछन् भने १०८ वटा पसल शनिबार ढिलासम्म खुल्नेछन्।

अब फिनल्यान्डका बासिन्दाले युरोपेली आर्थिक क्षेत्र (EEA) का अन्य देशका अनलाइन पसलबाट ८० प्रतिशतसम्म कडा रक्सी सिधै घरमा मगाउन सक्नेछन्।

यसले विदेशबाट अनलाइनमार्फत हुने रक्सी खरिदको नियमलाई स्पष्ट पारेको छ।

यो कानुन पारित गर्नुअघि संसद्मा लामो बहस र राजनीतिक विवाद भएको थियो। सत्तापक्षका कोकोमुस, फिन्स पार्टी र आरकेपी पार्टीले यसको समर्थन गरे भने क्रिस्चियन डेमोक्र्याट्सले विरोध गरे।

विपक्षमा रहेका ग्रिन पार्टीका दुई सांसदले समेत सरकारको यो प्रस्तावको पक्षमा मतदान गरे।

फिनल्यान्डमा रक्सी बिक्री वितरणमा सरकारको कडा नियन्त्रण रहँदै आएको इतिहास छ। विशेषगरी कडा मदिरा बिक्री गर्ने एकल अधिकार सरकारी स्वामित्वको ‘अल्को’ (Alko) सँग मात्र सुरक्षित छ।

यो नयाँ संशोधनलाई फिनल्यान्डको मदिरा बजारको इतिहासमा एक ठूलो खुकुलोपन र आधुनिकीकरणको रूपमा हेरिएको छ, जसले यहाँ बसोबास गर्ने आप्रवासी तथा स्थानीय उपभोक्तालाई थप सुविधा दिनेछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप