📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- अनलाइनमार्फत ‘सुपरफुड’ भन्दै महँगो मूल्यमा भिर मौरीको महको अनियन्त्रित र जोखिमपूर्ण व्यापार।
- थोरै मात्रा खाँदा पनि मुटुको धड्कन र रक्तचापमा गम्भीर गिरावट आउने अनुसन्धानकर्ताको चेतावनी।
- यौन क्षमता र रक्तचाप सुधार्ने आशमा अधबैँसे पुरुषहरूले गर्छन् यसको बढी प्रयोग।
नेपालका पहाडबाट निकालिने भिर मौरीको महलाई हिमालयन पागल मह अर्थात् म्याड हनीको रुपमा फिनल्यान्ड लगायतका युरोपेली देशहरूमा पनि अनलाइनमार्फत बिक्री हुने गरेको पाइएको छ।
फिनल्यान्डको प्रविधि पत्रिका Tekniikan Maailma का अनुसार फिनल्यान्डमा विभिन्न अनलाइन फोरमहरूमा पनि यसको विक्रि हुने गरेको छ।
उक्त पत्रिकाले यसरी अनधिकृत रूपमा बेचिदा गम्भीर जनस्वास्थ्य जोखिम निम्त्याएको उल्लेख गरेको छ।
वाइल्ड ओरिजिन्स फिनल्यान्ड नामको अनलाइन सपमा उक्त महलाई नेपलिज म्याड हनीको नाममा बिक्रीमा राखिएको छ। १०० ग्रामको बट्टाको मूल्य २४० युरो तोकिएको छ।
सोही हिसाबमा त्यसको प्रतिकेजी मूल्य २४ सय युरो अर्थात् करिब चार लाख बाइस हजार नेपाली रुपैयाँ पर्न आउँछ।

हुनसक्छ स्वास्थ्यका लागि खतरा
नेपालको गण्डकी प्रदेशका गुरुङ समुदायले शताब्दीयौँदेखि सुरक्षित रूपमा यो मह निकाल्ने र खाने परम्परा बसालेका छन्। तर अहिले यो मह अन्तर्राष्ट्रिय बजारमा पुग्दा सुरक्षित मात्राबारेको ज्ञान भने हराउँदै गएको छ, र त्यसले स्वास्थ्य जोखिम निम्त्याएको छ।
उक्त मह केही चम्चा मात्र खाँदा पनि मुटुको धड्कन खतरनाक रूपमा घट्ने र रक्तचाप एक्कासि खस्किने विज्ञहरूले चेतावनी दिएका छन्।
जर्मनीको होहेनहेम विश्वविद्यालयमा नेपाली मुलका अनुसन्धानकर्ता डा. प्रयान पोखरेलले द कन्भरसेसन वेबसाइटमा उक्त महले स्वास्थ्यमा पुराउन सक्ने असरबारे विस्तृतमा लेखेका छन्।
पोखरेलका अनुसार उनका एक साथीका ससुरा नेपालबाट ल्याइएको यस्तै मह खाएपछि अस्पताल भर्ना हुनुपरेको थियो। मह खाएको आधा घण्टामै उनको मुटुको गति र रक्तचाप निकै कम भएको थियो।
आजकल अनलाइन बिक्रेताहरूले यसलाई साइकोएक्टिभ सुपरफुड भनेर प्रतिकिलो निकै महंगोमा बेच्ने गरेका छन्। तर उनीहरूले मह खाने सुरक्षित तरिका र जोखिमबारे ग्राहकलाई पर्याप्त चेतावनी दिँदैनन्।
यसले गर्दा दक्षिण कोरिया, फ्रान्स र कतारजस्ता देशहरूमा महको विष लाग्ने घटनाहरू बढिरहेका छन्। डाक्टरहरूलाई यस्तो घटनाको अनुभव नहुने हुँदा रोग पहिचान गर्न र उपचार सुरु गर्न ढिलाइ हुने गरेको पोखरेलले उल्लेख गरेका छन्।
कसरि बन्छ यो मह?
हिमालयका भिरमा पाइने एपिस लेबोरिओसा प्रजातिका मौरीले यो मह बनाउने गर्छन्। यी मौरीले लालीगुराँसका फूलबाट रस जम्मा गर्छन्, जसमा ग्रेयानो-टक्सिन नामक प्राकृतिक स्नायु विष हुन्छ।
एक चियाचम्चा जति मह खाँदा शरीरमा न्यानोपन हुने, मज्जा आउने, र हल्का रिङ्गटा लाग्न सक्छ। तर त्योभन्दा बढी खाएमा मुटुको गति ज्यानै जाने गरी घट्न सक्ने पोखरेलले लेखेका छन्।
पोखरेल र उनका सहकर्मीले सन् १९७६ देखि २०२६ सम्मका महको विषाक्ततासम्बन्धी तथ्याङ्क अध्ययन गरेका थिए। उनीहरूले सन् २००९ यताका ६८ बिरामीको अवस्था हेर्दा करिब ७२ प्रतिशत बिरामी अधबैँसे पुरुष रहेको उल्लेख गरेका छन्।
धेरैजसो पुरुषले उच्च रक्तचाप नियन्त्रण गर्न र यौन क्षमता बढाउन यो मह जानाजान खाने गरेको देखिएको छ।
मुसामा गरिएको अध्ययनले थोरै मात्राले रक्तचाप कम गर्ने देखाए पनि औषधीय र विषाक्त मात्राको अन्तर निकै साँघुरो हुन्छ।
पोखरेलका अनुसार वसन्त ऋतुमा लालीगुराँस फुल्ने समयमा निकालिएको महमा विषको मात्रा सबैभन्दा धेरै हुन्छ। नेपालमा यसको सेवनले मृत्यु भएको पुष्टि नभए पनि गम्भीर अवस्थामा अस्पतालमा एट्रोपिन नामक औषधि दिएर उपचार गरिन्छ।
नेपालमा भिर मौरीको मह काढ्ने परम्परा एक साहसिक र प्राचीन संस्कृति हो। विदेशी वृत्तचित्रहरूले यसलाई विश्वभर चिनाएपछि पश्चिमी देशहरूमा यसको माग ह्वात्तै बढेको हो।
पोखरेलले अंग्रेजीमा लेखेको लेख यहाँ पढ्न सकिन्छ।








