📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goयो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.90 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- मन्दिरको घण्टी र बाजाको आवाजले स्थानीयलाई सास्ती भएको गुनासो।
- ध्वनी कानुनी मापदण्डभित्रै रहेको वातावरण अधिकारीको ठहर।
- मन्दिरद्वारा ठूला घण्टी र बाजाको प्रयोगमा कटौती।
फिनल्यान्डको सिपोस्थित पाइप्पिनेनमा रहेको शिव मन्दिरबाट आउने आवाजलाई लिएर छिमेकीहरूले गुनासो गरेका छन्।
उसिमा क्षेत्रको सिपोमा रहेको खुला खेतबारीको बीचमा यो मन्दिर अवस्थित छ। शान्त गाउँमा घण्टी, ड्रम र बाँसुरीको आवाज गुन्जिन थालेपछि करिब १५ जना घरधनीले वकिलमार्फत नगरपालिकामा उजुरी दर्ता गराएका हुन्।
फिनल्यान्डमा हिन्दु धर्म मान्नेहरूको सङ्ख्या तुलनात्मक रूपमा सानो छ र धेरैजसो धार्मिक गतिविधिहरू घरभित्रै वा भाडाका हलहरूमा हुने गर्छन्।
सिपोको यो मन्दिर फिनल्यान्डमै बाहिरको खुला स्थानमा निर्माण भएको पहिलो हिन्दु मन्दिर हो।
स्थानीय बासिन्दालाई प्रतिनिधित्व गर्ने फेन्नो ल फर्मका वकिल युहा सारिमाकीले स्थानीय मिडियालाई बताए अनुसार छिमेकी बासिन्दाहरुलाई हिन्दु धर्मप्रति कुनै आपत्ति छैन। तर खुला ग्रामीण परिवेशमा टाढासम्म सुनिने आवाजप्रति उनीहरूको गुनासो हो।
एक स्थानीयका अनुसार उक्त मन्दिरमा मे महिनायता ५१ वटा धार्मिक कार्यक्रम भइसकेका छन्। र यी कार्यक्रमहरू कहिलेकाहीँ तीन घण्टासम्म चल्ने गरेको स्थानीयको दाबी छ।
उक्त शिव मन्दिरमा शिवरात्री लगायतका पर्वहरुमा धेरै नेपाली भक्तजनहरू पनि दर्शन गर्न जाने गरेका छन्।
यो मन्दिर श्रीलङ्काबाट आएका निरयन सिभानन्थनले पाँच वर्षअघि स्थापना गरेका हुन्। उनले भगवान शिवको लागि यो ठाउँ रोजेको र हाल यो निकै लोकप्रिय बनेको बताउँदै आएका छन्।
उनले हेलसिन्की, भान्ता र एस्पोका विभिन्न स्थानहरू पनि मन्दिरका लागि हेरेका थिए। तर सिपोको उक्त स्थान हेरेको राती सोही ठाउँमा ठूलो शिव मन्दिर बनेको सपनामा देखेका थिए।
त्यसपछि उनले त्यहाँ शिव मन्दिर स्थापना गर्ने निर्णय गरेका थिए। आफ्नो घर पनि सोही ठाउँमा बनाउने सोचेका सिभानन्थनले पछि घर भने नबनाउने निधो गरेका थिए। बरु उक्त जग्गालाई मन्दिरको पार्किङमा लगाउने निर्णय गरेका थिए।
सिभानन्थनले सबै छिमेकीसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको बताएका छन्। गुनासो आएपछि मन्दिरले ठूला घण्टी बजाउन छोडेको छ भने एउटा मात्र ड्रम र बाँसुरी प्रयोग गर्न थालेको छ।
स्थानीयका उजुरीका बाबाजुत स्थानीय वातावरण अधिकारीहरूले भने मन्दिरको ध्वनि स्तरले कानुनी सीमा पार नगरेको बताएका छन्।
जुलाईको मध्यमा भएको मन्दिरको उत्सवमा अधिकारीहरूले ध्वनिको मापन गरेका थिए। प्रमुख वातावरण निरीक्षक अनु युभोनेनका अनुसार ध्वनिले एकैछिन ५५ डेसिबल नाघे पनि समग्रमा यो कानुनी मापदण्डभित्रै रहेको पाइएको थियो।
युरोपेली कानुनअनुसार दिउँसोको समयमा आवासीय क्षेत्रमा ५५ डेसिबलसम्मको ध्वनिलाई सामान्य मानिन्छ।
गुनासो आएपछि मन्दिरले ठूला घण्टी बजाउन छोडेको छ भने एउटा मात्र ड्रम र बाँसुरी प्रयोग गर्न थालेको छ।
नगरपालिकाले दियो निर्णय
शिव मन्दिरको धार्मिक गतिविधिबाट ध्वनि प्रदूषण भएको भन्दै स्थानीय बासिन्दाले गरेको उजुरीलाई नगरको भवन तथा वातावरण समितिले भने गत अगस्ट २७ को बैठकमा खारेज गरेको छ।
बासिन्दाले मन्दिरमा घण्टी, ढोल, ट्रम्पेट तथा ठूलो आवाजमा संगीत बजाइने र शुक्रबार तथा सप्ताहन्तमा २–४ घण्टासम्म आवाज हुने भन्दै गतिविधि रोक्न माग गरेका थिए। उनीहरूले यस्तो गतिविधिले घरभित्रसमेत असर परेको र छिमेकमा असह्य वातावरण सिर्जना भएको दाबी गरेका थिए।
समितिले आफ्नो निर्णयमा १८ जुलाई २०२६ मा वार्षिक महोत्सवका क्रममा गरिएको ध्वनि मापनमा नजिकका प्रभावित स्थानमा दिनको ५५ डेसिबलको मार्गदर्शक सीमा ननाघेको समितिले जनाएको छ।
समितिले गतिविधिलाई कानुनअनुसार ‘अनुचित भार’ मान्न नसकिने र वातावरणीय अनुमतिपत्र आवश्यक नपर्ने निर्णय गरेको छ। यद्यपि, लगातार १४ दिन चल्ने वार्षिक महोत्सवबारे नजिकका बासिन्दालाई कम्तीमा दुई दिनअघि जानकारी गराउन भने समितिले मन्दिरलाई भनेको छ।
दर्शनार्थीको संख्या बढेपछि उठ्यो प्रश्न
ध्वनिको समस्या तत्कालका लागि समाधान भएपनि शिव मन्दिरमा दर्शनार्थीको भिड र त्यसको अनुमतिको विषयलाई लिएर विवाद सुरु भएको छ। एउटा सानो हिन्दु मन्दिर अहिले सयौं मानिस भेला हुने केन्द्र बनेको भन्दै स्थानीय सिपोन सानोमातले समाचार लेखेको छ।
यो मन्दिर खेतको बीचमा निर्माण गरिएको थियो। सुरुमा यो नौ वर्गमिटरको सानो भवन र त्यसमा जोडिएको एउटा छानो मात्र थियो।
निर्माणकै क्रममा अनुमतिको विषयमा प्रश्नहरू उठेका थिए। यद्यपि, पछि परियोजनाले आवश्यक निर्णय र निर्माण अनुमति प्राप्त गर्यो।
वर्षेनी यसको लोकप्रियता र दर्शनार्थीको संख्या बढ्दै गएको छ। भिड बढेसँगै यसको सुरक्षा र व्यवस्थापन सरकारी निकायका लागि चासोको विषय बनेको छ।
सिपोन सानोमातका अनुसार भिडको नियमनका लागि प्रहरी, उद्धार विभाग र अन्य तीन सरकारी निकायसँग जानकारी मागिएको छ।
फिनल्यान्डमा धेरै मानिसहरू सहभागी हुने सार्वजनिक कार्यक्रम आयोजना गर्न प्रहरी कार्यालयबाट अनिवार्य रूपमा पूर्व अनुमति लिनुपर्छ।
यसबाहेक यदि कार्यक्रममा ठूलो स्वरमा संगीत बजाउने वा लाउडस्पीकर प्रयोग गर्ने योजना छ भने वातावरणीय सुरक्षा अन्तर्गत स्थानीय नगरपालिकाको अनुमति पनि आवश्यक पर्दछ।
साथै, अस्थायी संरचनाहरूको निर्माण, खाद्य पदार्थको बिक्री, र पार्किङ व्यवस्थापनका लागि पनि सम्बन्धित निकायहरूबाट स्वीकृति लिनुपर्ने हुन्छ। कुनै खतराको अवस्था आए वा उद्दार कसरी गर्ने भन्ने तयारी समेत चाहिन्छ।







