कहिलेकाहीँ मैले फोकस गुमाएको जस्तो मेरा नजिकका मान्छेहरूले महसुस गर्नुहुन्छ ।
राजन दाइले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो। दाइसँग खास घुलमिल नभएकाहरूलाई चाहिँ वहाँको प्रश्नले दिमागमा हैन सिधै मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तै सिधा र तिखा हुन्छन् । जस्तो मेरो दिमाग मै झड्का लगाउने प्रश्न थियो वहाँको, “हैन पाक्षिक रूपमा ब्लग अद्यावधिक (अपडेट) गर्छु भन्या हैन ? एक महिना पुग्न लाग्यो त सर !”
मलाई व्यङ्ग्य गर्नुपर्दा दाइले ‘सर’ भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म ‘साहुजी’ भन्छु।
यत्तिमा मात्र दाजुको प्रश्न सीमित हुन्थ्यो भने सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्य मिश्रित सानो जिज्ञासा पनि थियो, “खुबै चुनाव लाग्या छ हैन तिमीलाई !?” यो जिज्ञासा मिश्रित व्यङ्ग्य हो या व्यङ्ग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यङ्ग्य मात्र थियो । तर जे होस् यो केही न केही चाहिँ पक्कै थियो ।
खुबै चुनाव लाग्ने आपत् मलाई बेलाबेलामा आइबस्छ । यस्तै आपत् मलाई विक्रमादित्यको ७० को दशकको उत्तरार्धमा खुब लाग्या थियो । मभित्रको देशभक्तिको ज्वाला दनदनी दन्केपछि मैले कत्रो उत्साहका साथ #लक्ष्य२०७९ को शंखघोष गर्न पुगेथेँ । मैले चुनाव नउठेरै जितेको महसुस दिलाउने चुनाव थियो त्यो नेपालको । र, मलाई खुबै लागेको फिनल्यान्डको यसपालिको स्थानीय चुनावमा उम्मेदवार नभईकन पनि विजेता महसुस भएको अनुभूति दिलाएको चुनाव थियो, यो ।
उताको चुनावमा मेरो उम्मेदवारीको घोषणाले एक थरी मानिसहरूको दिमागमा म एक सन्काहा, घामड र पिता पिडक पुत्र र खलनायकको रूपमा चित्रित थिएँ। अर्का थरीका लागि म विद्रोहको नायक बनेको थिएँ । उम्मेदवार बन्ने सार्वजनिक घोषणाले एउटा व्यक्तिको पहिचानमा यति धेरै उथलपुथल लेराउदो रहिछ भन्ने मैले त्यति बेला साक्षात् अनुभूत गरेको विषय रह्यो । अहिले यसो यदाकदा म मनोवाद गर्दछु, त्यो समय साँच्चिकै म उम्मेदवार भएको भए त्यसले के कस्ता परिणतिहरू सृजना गर्दो हो या नगर्दो हो ? ती परिणामहरूसँग मेरो साक्षात्कारले मलाई कुन मनोदशामा पुर्याउँदो हो ? कति सायद त्यस्ता परिणतिहरूबाट निर्मित चक्रब्युहहरू हुन सक्थे, जुन मैले तोड्न त्यो समयमा सम्भव थिएन। त्यस कारण मैले कायरतापूर्वक पछाडि हट्नुपरेको थियो ।
एकदिन जम्काभेट भो मित्र शेखरजीसँग । नजिकैको बजार केन्द्रमा हाम्रो त्यो अचानकको जम्काभेट थियो । मुस्किलले दुई मिनेट जति कुरा भएथ्यो। नम्बर साटासाट भएको केही हप्तापछि वहाँको फोन पनि आएथ्यो । धेरै लामो कुराकानी पनि भएन । त्यसपछि पनि खासै कुरा भएन ।
तर एक दिन जगन्नाथ दाइले मलाई हठात् सुनाउनुभएथ्यो, “अँ बाबु, शेखरजी नगरपालिकाको चुनावमा उठ्दै हुनुहुन्छ, भाइले पनि सहयोग गर्नुपर्छ ।”
मेरो बानी अझै त्यतिबिधी सुधार भएकै छैन। सदा विनम्रतापूर्वक प्रस्तुत हुने शालीन जग्गु दाइलाई समेत मैले गाउँघरतिरकी चोथाले आइमाईको शैलीमा जवाफ फर्काएथेँ, ह्या, हाम्ले दिन सक्ने योगदान के छ यो देशमा ? सबै ठिक छ त ? नेपाली नै चुनाव किन उठ्नु पर्या छ ?
“अरू त विशेष कारण केही होइन, तर हामी दसौँ हजारको सङ्ख्यामा भैसकेको अवस्थामा समेत हाम्रो समुदायको प्रभावकारी प्रतिनिधित्व हुने गरी राजनीतिमा उपस्थिति नदेखिएकाले त्यसको परिपूर्ति गर्ने प्रयत्न हो मित्र ।” जग्गु दाइसँग विमति राखेको मलाई उम्मेदवार मित्र शेखरले एउटा अपराह्न फोन संवादमा बताउनुभएथ्यो ।
अनि म केहि बेर सन्न भएथेँ । हो पनि, जुन देशमा युवा वयका दशकभन्दा बढी ऊर्जाशील समय व्यतीत गरिएको छ, त्यो देशलाई अब कसरी परदेशको नाम दिइराख्न सकिन्छ ? घर-देश बनिसकेको देशमा अब एक हिसाबले यतैको नागरिक पनि त भइसकियो । नागरिक भइसकेपछि केही जिम्मेवारी हाम्रा पनि बनेका छन् । अतः एक अल्पसङ्ख्यक समुदायको सदस्य भएका नाताले उही समुदायको प्रतिनिधित्व गरेर कोही—त्यसमा पनि आफूले राम्रै चिनेको मान्छे—उम्मेदवार बन्ने कुराले नछुने भन्ने थिएन । मलाई बेस्सरी छोयो ।
बिहारबाट बटौलीको बाटो हुँदै बेनी आइपुगेका दशरथ मेरा साथी बनेका थिए । बेनीमा मैले डेरा गरी बसेकै घरमा उनको सानो जेरी पसल थियो । कहाँ कहाँबाट बरालिँदै बेनी आइपुगेका उनले केही वर्ष बिताएपछि कुरै कुरैमा एक दिन मलाई सुनाएथेँ, “सर, मलाई त म नेपालकै भएँ जस्तो लाग्छ । “गैह्र सरकारी संस्थामा कार्यक्रम संयोजकमा कार्यरत मैले उनलाई तत्कालीन संवैधानिक प्रावधान नसुनाएको पनि होइन कि नेपालमा पन्ध्र वर्षमा पेसा वा व्यवसाय गरेको र नेपाली भाषा लेख पढ गर्न सक्ने विदेशी मान्छेले नेपाली नागरिक हुन पाउँछ ।
उनले नेपाली नागरिकता त लिएका थिएनन्, तर स्थानीय निर्वाचनमा उनलाई अलिअलि चासो थियो । नारा जुलुस तिर कतै नलागे पनि, पछिल्लो जनआन्दोलनमा घोक्रो फुलाएर जिन्दाबाद र मुर्दावादको नारा लगाउँदै गरेको मलाई र मेरा केही साथीलाई यिनै दशरथले आफ्नो जेरी पसलभित्र बोलाएर भनेका थिएँ, “सर बाहिर गर्मी छ आउनुस् कुल्फी खाएर जानुस् ।”
अल्पसङ्ख्यक नेपालीहरूको आवाजलाई नगरपालिकाको बैठकमा उठाउने एउटा प्रतिनिधि निर्वाचित गरेर पठाउन सकिने अवस्था देखेपछि हाम्रो साझा आवाज बन्न सक्ने व्यक्तित्वलाई आवश्यक योगदान दिनुपर्ने मैले मेरो दायित्व सम्झिएँ । अनि त चैतको उखरमाउलो गर्मीमा बेनीका सडकमा घोक्रो फुलाउँदै नारा लगाउँदै हिँडेको मलाई आफ्नो जेरी पसलभित्र बोलाएर कुल्फी खुवाउने भारतीय मित्र दशरथलाई सम्झेर मैले मित्र शेखरलाई मेरो क्षमताले भ्याउने मद्दत गरेँ ।
“एक अल्पसङ्ख्यक समुदायको सदस्य भएका नाताले उही समुदायको प्रतिनिधित्व गरेर कोही—त्यसमा पनि आफूले राम्रै चिनेको मान्छे—उम्मेदवार बन्ने कुराले नछुने भन्ने थिएन । मलाई बेस्सरी छोयो।”
जनआन्दोलनको त्यो रापतापमा म जस्तो आन्दोलनकारीलाई कुल्फी खुवाउने दशरथहरूको भूमिका अखबारका पानाहरूमा आएका थिएनन् तर पनि उनको योगदान मेरा लागि सदा स्मरणीय रहनेछ । त्यस्तै, शेखरजीको प्राप्त गरेको जितमा कति धेरै नेपाली सहृदयीहरूको ठोस योगदान छ, जो वहाँले मसँगको भेटमा विशेष स्मरण गर्नुभएको छ । मत परिणाम आउँदै गर्दा १३ अप्रिलका रात सोकोस् होटेलको सभाकक्षमा हामीहरू कति धेरै उत्साहित थियौँ । हामीले निर्वाचन जित्ने करिब करिब सुनिश्चित हुँदा राष्ट्रिय मिडिया हाउसका पत्रकारहरूले हाम्रा उम्मेदवारको विशेष अन्तरवार्ता मात्र लिएनन् कि निर्वाचनमा उम्मेदवारको प्रचार अभियानलाई विशेष सहयोग गर्ने हाम्रा तस्बिरहरू पनि खिचेँ । भलै छापिएको तस्बिरमा हामी सबै अटेनौँ, म पनि पुरै अटाइन् ।
सायद पत्रकारको फोकश म मा उति परेन । त्यसैले, मेरो मुहार देखिने तस्बिर छापिएन । तर गज्जबको कुरा अलिकति फोकस मेरो हातमा चाहिँ परेछ । पत्रिकामा छापिएको तस्बिरमा मेरो हात देखिएको छ । प्रिय राजन दाइ, त्यो हात मेरै हो जसमा मैले मेरो श्रीमतीको नाम कोरेको छु ।
कहिलेकाहीँ फोकश अनपेक्षित स्थानमा पर्न जान्छ । अनपेक्षित नतिजा पनि हात पर्दोरहेछ । त्यसले अनपेक्षित खुशी पनि दिदो रहेछ । अहिले म त्यही स्थितिमा छु । हो, मलाई चुनाव बेस्सरी लाग्यो यो पाली ।
मित्र शेखरजीलाई बधाई, अनि बधाई अन्य दुई नेपाली अल्पसङ्ख्यक उम्मेदवारहरू जो निर्वाचित हुन सफल हुनुभयो । खासमा बधाई, फिनल्यान्डवासी सम्पूर्ण नेपालीहरूलाई पनि एक हिसाबले हाम्रो पहिचान स्थापित गर्ने सुनौलो मौका जुन प्राप्त गरेका छौँ।
(थापाको यो लेख पहिलो पटक उनको व्यक्तिगत वेबसाइट सापेक्ष बुझाइ मा गत अप्रिल १७ मा प्रकाशित भएको हो। यो लेख केही सम्पादन सहित लेखकको अनुमतिमा पुनः प्रकाशन गरिएको हो। फिनल्यान्डमै स्नातक र स्नातकोत्तर पुरा गरेका थापा लामो समयदेखि यहीँ बस्दै आएका छन्। उनले नेपाली टिभी फिनल्यान्ड युट्युब च्यानलमा ‘कुराकानी’ नामको कार्यक्रम उत्पादन र सञ्चालन गर्ने गरेका छन्।)





