0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    रित्तो बोरामा च्यातिएको सपना बोकेर नेपाल फर्किएँ

    म अमेरिका गएँ, फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु, मेरा सपनाहरू अझै बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ। अब म त्यही अवशेषबाट उठेर आफ्नो देशमै केही गर्नेछु।

    सुभाष शर्मा

    त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एक छिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको सङ्घर्षपछि, असफलतासँग चुरो स्विकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एक छिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। मलाई कसैले चिनेन।

    तर म आफैँलाई चिनिरहेको थिएँ । म अमेरिका पुगेको थिएँ। म सङ्घर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

    मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अहिलेसम्म बचाइराखेको थियो।

    म अरू धेरै नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।

    म पटक-पटक असफल भएँ। मिडियाबाट पाइला अगाडी बढाउन खोजे, सफल हुन सकिन। राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। विदेश गइस् भने बल्ल केही हुन्छस् भन्ने कर्णप्रिय भ्रमहरू मेरो कानमा घरीघरी गुन्जिन्थे।

    मैले अमेरिका छानेँ। त्यो मेरो रोजाइ वा विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

    जङ्गल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो, सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एक छिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

    अमेरिकामा मैले आफूसङै सयौँ नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए । घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य—बाँच्ने।

    नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानुनले मलाई अयोग्य ठहर्‍यायो। महिनौँ हिरासतमा परेँ। अनि एक बिहान एउटा कागज थमाइयो । ‘तिमी नेपाल फर्क। तिमी यो देशका होइनौ।’

    न्यु योर्क सहरबाट एअर इन्डियाको जहाज चढेर जब नेपाल फर्किँदै थिएँ,अझ भनौँ फर्काइँदै थिए, मेरो हरेक अङ्ग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

    पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताइसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायोः ‘गैर कानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।’ सामाजिक सञ्जालमा खिसीटिउरीको सगरमाथा खडा गरियो।  ‘अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए, डलर काढ्न गएकाहरूको यस्तो हालत,’ भन्ने व्यङ्ग्यहरूले हामीलाई प्रहार गरियो।

    तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

    देशमा म जस्तो लाखौँ युवा छन्। जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

    फर्किएपछि देखेँ, समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, अनि के ल्यायौ त? मानौ म किनमेल गर्न गएको थिएँ।

    साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ। कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। मैले मर्न नचाहेर तय गरेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

    म अमेरिका पैसाका लागि गएको थिइनँ। मैले कसैलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी बहिनीको बिहे गराउनु नै थियो। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् । जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

    म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा पर्खाल लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

    यहाँ ऊ माथि उठ्ला कि ? भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दुखी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि म गएको थिएँ।

    आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु। जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेतमा खेती।

    तर हरेक बिहान मलाई लाग्छ, म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँच्चिकै दोषी हुँ र? के प्रयास गर्नु मेरो अपराध हो र? के देश छोड्नु मेरो बाध्यता नभएर देशद्रोह थियो र?

    यो देशको नीति कमजोर छ। बिदेसिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। ‘हामी विदेश गएको सफल भन्ने भ्रममा छौँ र फर्किएको असफल’ भन्ने झुटो परिभाषालाई गहिर्‍याइरहेका छौँ।

    तपाईँहरूसँग एउटै अनुरोध छ। फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

    तर जीवन सधैँ योजना अनुसार हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

    म अमेरिका गएँ, फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु, मेरा सपनाहरू अझै बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ। अब म त्यही अवशेषबाट उठेर आफ्नो देशमै केही गर्नेछु।

    रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बिच म अब फेरि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

    कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीँ छु । फेरि एउटा सपना बोकेर। र यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर बाच्ने सङ्कल्पका साथ! 

    (अमेरिकाबाट नेपाल फर्काइएपछि दाङ जिल्लाका सुभाष शर्माले लेखेको यो अनुभूति हाम्रा पाठकलाई समेत उपयुक्त हुने ठानी भाषा र अन्य केही सम्पादन सहित पुनः प्रकाशित गरिएको हो। – नेपालीलाइनेन) 

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप