विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

विश्वकै ठुला दुई क्रुज जहाज फिनल्यान्डमा बन्ने: हजारौँलाई रोजगारी, अर्थतन्त्रलाई टेवा

रोयल क्यारिबियनले तुर्कुस्थित मेयेर शिपयार्डलाई थप दुईवटा विशाल क्रुज जहाज बनाउने जिम्मा दिएको हो।

संक्षेपमा


  • मेयेर तुर्कु शिपयार्डले पायो छैटौँ र सातौँ विशाल जहाज बनाउने जिम्मेवारी।
  • झन्डै ७,६०० यात्रु क्षमता रहने विश्वकै सबैभन्दा ठूला पर्यटकीय पानीजहाज तुर्कुमा बन्ने।
  • फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक एक अर्ब युरोभन्दा बढीको योगदान पुग्ने अपेक्षा।

रोयल क्यारिबियन इन्टरनेसनलले फिनल्यान्डको मेयेर तुर्कु शिपयार्डलाई थप दुईवटा विशाल ‘आइकन क्लास’ क्रुज जहाज निर्माणको जिम्मा दिएको छ। सामान्यतयाः यस्ता विशाल जहाजको मुल्य १.५ अर्ब युरोभन्दा माथि पर्ने गर्छ।

यो सम्झौतासँगै फिनल्यान्डमा बन्ने यो श्रेणीका जहाजको संख्या सात पुग्ने निश्चित भएको छ। अहिले यो श्रेणीको तेस्रो जहाज लिजेन्ड अफ द सिजको समुद्री परीक्षण सुरु भइसकेको छ।

कम्पनीले मेयेर तुर्कुसँगको सम्झौता विस्तार गर्दै छैटौँ र सातौँ जहाजको अर्डर पक्का गरेको हो। यी जहाजहरू क्रमशः सन् २०२९ र २०३० मा तयार हुनेछन्।

आइकन क्लासका यी जहाजहरू विश्वकै सबैभन्दा ठूला क्रुज जहाज हुन्। यिनको तौल २ लाख ४८ हजार टनभन्दा बढी र लम्बाइ ३६४ मिटर रहेको छ।

एउटै जहाजमा ७,६०० सम्म यात्रु र २,३५० चालक दलका सदस्य अटाउन सक्छन्। जहाजभित्र २० वटा बार, २८ वटा भोजनालय र सातवटा पौडी पोखरी जस्ता सुविधाहरू हुनेछन्।

विज्ञापन
विज्ञापन सकियो

मेयेर तुर्कुले फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक एक अर्ब युरोभन्दा बढी योगदान पुर्‍याउँदै आएको छ। यो उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १३,००० मानिसलाई रोजगारी दिएको छ।

यो नयाँ डिलसँगै हजारौँले रोजगारी पाउनेछन् भने फिनल्यान्डको थलिएको अर्थतन्त्रलाई पनि केही राहत मिलेको छ।

अहिले चौथो जहाज ‘हिरो अफ द सिज’ को निर्माण कार्य पनि जारी छ। यो जहाज सन् २०२७ को अगस्टदेखि मायामीबाट सञ्चालनमा आउने तयारी छ।

रोयल क्यारिबियन र फिनल्यान्डबीचको सम्बन्ध सन् १९६० को दशकदेखि सुरु भएको हो। कम्पनीका सुरुवाती तीनवटा जहाजहरू तत्कालीन ‘वार्टसिला हेलसिन्की’ यार्डमा बनेका थिए।

फिनल्यान्डको बलियो ‘म्यारिटाइम क्लस्टर’ र सरकारको सहयोगले गर्दा यो सहकार्य दशकौँदेखि निरन्तर चलिरहेको छ। हाल विश्वभर क्रुज जहाज निर्माणको बजार ८६ अर्ब डलरभन्दा माथि पुगिसकेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप