यो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.91 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्यान्डको राजधानी हेलसिन्कीमा शनिबार ९ अगस्ट २०२५ मा आयोजित पहिलो नेपाल दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। नेपाली समुदाय र नेपालप्रति रुचि राख्ने फिनिस नागरिकहरू लगायत सयौँको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले हेलसिन्कीमा ‘मिनी नेपाल’को झल्को दिएको थियो। यद्यपि कार्यक्रमको उत्साह र सफलताका बिच केही व्यवस्थापकीय कमजोरी र रोचक दृश्यहरू पनि देखिए।
कार्यक्रममा नेपाली खाना, कला, संस्कृति र भेष भूषाको जीवन्त प्रदर्शन गरिएको थियो। तर अप्रत्याशित भीडले आयोजकलाई व्यवस्थापनमा चुनौती पनि थपिदियो। कार्यक्रम स्थलमा करिब तीन घण्टा बिताउँदा नेपालीलाइनेनले देखेका केही दृश्यहरू यहाँ प्रस्तुत गरिएको छ:
१. एक प्लेट मोमोको लागि ४३ मिनेटको कुराइ: नेपाली कार्यक्रम र मोमो (वा म:म) पर्याय जस्तै हुन्। तर नेपाल दिवस कार्यक्रममा त्यही एक प्लेट पाउन सहभागीहरूलाई कम्ता सास्ती खेप्नु परेन। नेपालीलाइनेन पनि घडी नै हेरेर मोमो अर्डर गर्ने लाइनमा बस्यो। पहिला पैसा तिर्ने पालो, त्यसपछि पनि थप कुराई। लाइन बस्न सुरु गरेको जम्मा ४३ मिनेटमा मोमोको प्लेट हात लाग्यो। मोमो मिठो थियो, तर दुःखको कुरा लगभग ८०-८५% मात्र पाकेको थियो। कोक पनि अर्डर गरेको बेच्नेले दिनै बिर्सिए। फेरि माग्न जाँदा फेरि १-२ मिनेट कुरियो। अत्यधिक मागका कारण स्टलमा बसेकाहरूलाई भ्याइ-नभ्याइ थियो। बेच्नेहरू असिन पसिन थिए।
२. मेनु छ, खाना छैन: खानेकुराको माग यति धेरै थियो कि केही घण्टामै धेरैजसो खानाका स्टलहरू रित्तिएका थिए। खाना बनाउने र वितरण गर्नेहरू पसिनाले निथ्रुक्क भिजेका देखिन्थे। नेपालीलाइनेनले भेज मोमो, समोसा किन्ने प्रयास गरेको थियो, तर उपलब्ध थिएन, सकिसकेको थियो। पछि बल्लबल्ल यौटा सेलरोटी चाही पाइयो, त्यो पनि करिब १० मिनेट कुरेरै बसेपछि।
३. नेपाली-फिनिस जोडी धेरै देखिए: नेपाल दिवस मनाउन केही स्थानीय फिनिसहरू पनि आएको देखियो, तर त्यो भन्दा धेरै चाहिँ नेपाली-फिनिस जोडी देखिए। केही भारतीय र बङ्गाली समुदायका मानिसहरू पनि नेपाली संस्कृतिमा रमाउन आएका थिए।
४. थरी थरीका भेषभूषा, ‘मिनी नेपाल’को झल्को: कार्यक्रम स्थलमा गुरुङ, नेवार, मगर, राई लगायत विभिन्न जातजातिको मौलिक पहिरनमा सजिएका नेपालीहरूको बाक्लो उपस्थिति थियो। यसले विदेशमा भएर पनि नेपालकै कुनै मेलामा सहभागी भएको अनुभूति दिलाएको थियो। फिनल्यान्डमा यस्तो बिरलै देखिन्छ जुन नेपाल दिवसमा देखियो।
५. शौचालयमा लामो लाइन र फोहोर: खाना खाने ठाउँमा यता भिड अनि फेरी उता शौचालयमा पनि लामै लाइन। केही बालबालिकाले चौरमै सौच गरेको भनेर केहीले गुनासो पनि गरेको सुनियो।
६. वर्षौँपछिको पुनर्मिलन: यो कार्यक्रम धेरैका लागि साथीभाइ र आफन्त भेट्ने अवसर बनेको थियो। फिनल्यान्डका विभिन्न सहरबाट आएका नेपालीहरूले वर्षौँपछि एक अर्कालाई भेटेका थिए। एक सहभागीले आफूले १५ वर्षपछि एक मित्रलाई त्यहीँ भेटेको भन्दै खुसी व्यक्त गरेको नेपालीलाइनेनले देखेको थियो।
७. बेखबर स्थानीय दर्शक: कार्यक्रम स्थल नजिकैको तालको अर्को छेउमा बसेर मादक पदार्थ पिइरहेका केही फिनिस नागरिकहरू भने कार्यक्रमबारे पूर्ण रूपमा बेखबर देखिन्थे। उनीहरू नेपाली सङ्गीत र कार्यक्रमको माहौलमा रमाइरहेका थिए, तर त्यो ‘नेपाल दिवस’ हो भन्ने उनीहरूलाई थाहा थिएन। एक जनाले भने नेपाली खाना निकै खाने सुनाए, सत्य हो होइन, उनै जानुन्। नेपालीलाइनेनसंग संक्षिप्त कुरा गर्दै उनीहरूले सङ्गीत र माहौलको आनन्द लिइरहेका बताएका थिए, जुन आफैँमा एक रोचक दृश्य थियो।
समग्रमा नेपाल दिवस २०२५ ले फिनल्यान्डमा नेपाली समुदायको बढ्दो उपस्थिति र सांस्कृतिक एकतालाई प्रदर्शन गरेको छ। केही व्यवस्थापकीय कमजोरीका बाबजुद यसले समुदायलाई एकै ठाउँमा ल्याउन र नेपाली पहिचानलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।








