गत महिना ९ अगस्टमा हेलसिन्कीको माल्मीमा रहेको इभेन्ट पार्क सयौँ नेपालीले भरिएको थियो। त्यहाँ नेपाली मोमोदेखि अर्ग्यानिक कफीको सुगन्ध मात्र थिएन, चर्को स्वरमा गुन्जिएका नेपाली गीतका कारण लाग्थ्यो त्यो कुनै नेपाली डाँडा थियो र त्यहाँ कुनै रैथाने नेपाली मेला लाग्दै थियो।
अर्थात् पहिलो ‘नेपाल दिवस’को भव्य कार्यक्रमले फिनल्यान्डमा सानो नेपालकै झल्को दिइरहेको थियो। लगभग १२,००० को सङ्ख्यामा पुगेको फिनल्यान्डको नेपाली समुदाय पहिलो पटक यति विशाल र एकीकृत रूपमा एकै ठाउँमा जुटेको थियो।
कार्यक्रमको रौनक र सफलताको श्रेय फिनिस नेपाली समाजसँगै गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र यसका तत्कालीन अध्यक्ष लभ उपाध्यायलाई जाने स्वाभाविक पनि थियो।
रिपोर्टिङका लागि नेपालीलाइनेन त्यहाँ पुग्दा उपाध्याय हालका अध्यक्ष (त्यति बेलाका उपाध्यक्ष) योगेन्द्र सङ्ग्रौलासँगै कार्यक्रम स्थलको द्वारमै भेटिए।
कार्यक्रमको भव्यता देखेर उत्साहित हुँदै हामीले उपाध्यायलाई प्रतिक्रियाका लागि आग्रह गर्यौँ। तर आफ्नो नेतृत्वको सफलताको जस लिने अवसरलाई सहजै पन्छाउँदै उनले सङ्ग्रौलातर्फ इसारा गरे।
“ल, हाम्रो तर्फबाट योगेन्द्र दाइ बोल्नुहुन्छ।” उनले भने।
सङ्ग्रौलाले कार्यक्रमको बारेमा केही बेर बोले, उपाध्यायले छेउमा बसेर मुस्कुराउँदै सुनिरहे।
यो सानो तर अर्थपूर्ण घटनाले लभ उपाध्यायले एनआरएनए फिनल्यान्डको अध्यक्षको रूपमा निर्वाह गरेको दुई वर्षे कार्यकाल र उनको व्यक्तित्वको सार बताउँछ – चर्चाबाट टाढा, नेपथ्यमा बसेर काम गर्ने, र सफलताको श्रेय टिमलाई दिने।
यो त्यही स्वभाव थियो जसले एनआरएनए फिनल्यान्डलाई उनको दुई वर्षे कार्यकालमा एक नयाँ र परिपक्व दिशा दियो।
तीन कार्यकाल कार्यसमिति र एक कार्यकाल अध्यक्षको रूपमा बिताएर हालै एनआरएनएबाट बाहिरिएका उपाध्यायले आफ्नो मौन तर प्रभावकारी नेतृत्वको छाप छोडेर गएका छन्।
एनआरएन फिनल्यान्डको वार्षिक साधारण सभा ३१ अगस्टका दिन साँझ नेपालीलाइनेनले उपाध्यायसँग फेरि छोटो कुरा गरेको थियो। उनी ताला चाबी बुझाएर घर फर्केका थिए।
“यत्रो लामो यात्रापछि बाहिरिँदा कस्तो अनुभव हुँदो रहेछ?” हाम्रो प्रश्न थियो।
“मिश्रित अनुभूति हुने रहेछ,” उनले भने। “एउटा ठुलो जिम्मेवारीबाट मुक्त भएर हलुकाजस्तो त भएको छ, तर भावुक पनि भइँदो रहेछ।”
यतिका वर्षका यादहरू, बनाएका साथीभाइहरू, भोगेका अनुभवहरू छन्, त्यसैले उनको मन अलि भारी बनेको थियो। त्यो बुझ्न हामीलाई गारो परेन।
उपाध्यायले अध्यक्षको रूपमा दोहोरिने इच्छा नरहेको कुरा पहिले नै स्पष्ट पारिसकेका थिए।
“मेरो कार्यसमितिमा तीन कार्यकाल भयो। अध्यक्षको रूपमा पनि एक कार्यकाल गरियो,” उनले नेपालीलाइनेनलाई भनेका थिए।
“परिवार छ, फुल टाइम काम छ। समय व्यवस्थापन निकै चुनौतीपूर्ण छ। त्यसैले अब म चाहिँ दोहोरिन्न।”
उनीसँगै निवर्तमान महासचिव सौरभ लामिछाने र उपाध्यक्ष विनिता लामिछानेले पनि कुनै पदमा उम्मेदवारी नदिई बाहिरिएका छन्। यसले एनआरएनए फिनल्यान्डमा एक किसिमको पुस्तान्तरणको सङ्केत गर्छ, जुन आफैमा सकारात्मक पनि हो।
के-के गरे काम?
उपाध्यायको दुई वर्षे कार्यकाललाई बाहिरबाट हेर्दा दुई वटा प्रमुख उपलब्धिहरू स्पष्ट देखिन्छन्।
पहिलो, फिनल्यान्डमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठुलो टाउको दुखाइको विषय बनेको राहदानी नवीकरण प्रक्रियालाई सहज र नियमित बनाउनु उनको नेतृत्वमा भएको प्रमुख उपलब्धि हो।
पहिले डेनमार्कस्थित नेपाली दूतावासको सेवा अनियमित थियो, सूचना अपर्याप्त हुन्थ्यो र एउटा राहदानी नवीकरण गर्न कि त कोपनहेगन धाउनुपर्थ्यो कि त महिनौँ अनिश्चिततामा बस्नुपर्थ्यो।
अध्यक्षको रूपमा उपाध्यायको अधिकांश समय र ऊर्जा भने फिनल्यान्डमा संकट र कठिनाइमा परेका नेपालीहरूको समस्या समाधानमा खर्च भयो।
एनआरएनए फिनल्यान्डले उपाध्यायको नेतृत्वमा दूतावाससँग समन्वयको जिम्मा लियो, र त्यो धेरै प्रभावकारी पनि बन्यो। विगत दुई वर्षमा लगभग ९०० नेपालीले हेलसिन्कीबाटै आफ्नो राहदानी नवीकरण गराएका छन्। यसले नेपालीहरूको हजारौँ युरो पैसा र अमूल्य समय बचत गरेको छ भने पासपोर्ट नवीकरण गर्ने तनावबाट मुक्ति दिएको छ।
“अहिले त अवस्था यस्तो छ कि कसैले राहदानीबारे सोध्न दूतावासमा फोन गर्यो भने उहाँहरूले ‘एनआरएनए फिनल्यान्डलाई सम्पर्क गर्नुस्’ भन्नुहुन्छ,” उपाध्यायले नेपालीलाइनेनलाई भनेका थिए, “जब कि हामीले त केवल समन्वय मात्र गरिरहेका छौँ।”
उपाध्यायको नेतृत्वमा भएको दोस्रो प्रमुख काम थियो ‘नेपाल दिवस’ को सुरुवात र यसको भव्य सफलता। फिनल्यान्डमा नेपालीहरूको सङ्ख्या बढ्दै जाँदा पनि सम्पूर्ण समुदायलाई एउटै छानामुनि ल्याउने कुनै ठुलो कार्यक्रम थिएन।
एनआरएनए र फिनिस-नेपाली समाजको सहकार्यमा आयोजित नेपाल दिवसले भने त्यो अभावलाई पूर्ति गरिदियो। यसको सायद परिकल्पनाकार र नेतृत्वकर्ताको रूपमा उपाध्यायलाई फिनल्यान्डको नेपाली समाजले धेरै लामो समयसम्म सम्झिनेछ।

पर्दा पछाडिका अनेक दौडधुप
नेपाल दिवसको भव्यता र राहदानी नवीकरणको सहजता त सबैले देखेको हिउँको चुचुरो मात्र हो। अध्यक्षको रूपमा उपाध्यायको अधिकांश समय र ऊर्जा भने फिनल्यान्डमा सङ्कट र कठिनाइमा परेका नेपालीहरूको समस्या समाधानमा खर्च भयो।
डिपोर्टेसनको मुद्दामा परेकाहरूलाई कानुनी र मानसिक सहायता प्रदान गर्नेदेखि, विद्यार्थीहरूले भोग्नुपरेको शोषण र कठिनाइमा मध्यस्थता गर्नेसम्म। मृत्यु र आत्महत्या जस्ता दुःखद घटनाहरूमा परिवारसँग समन्वय गरी अन्तिम संस्कारको व्यवस्था मिलाउनेदेखि, रोजगारी नपाएर निराश भएका विद्यार्थीहरूलाई परामर्श दिनेसम्म।
एनआरएनए फिनल्यान्डको अध्यक्षको रूपमा उनको धेरै समय यस्तै कामहरूमा बित्यो।
फिनिस प्रहरीसँग विभिन्न मामिलामा समन्वय गर्ने होस् वा डेनमार्कस्थित दूतावाससँग संवादमा रहने सबै कामको व्यवस्थापन एनआरएनए नै गर्नुपर्यो।
उपाध्यायको नेतृत्वमा एनआरएनए फिनल्यान्डको प्राथमिकतामा एक स्पष्ट रणनीतिक परिवर्तन आएको पनि देख्न सकिन्छ। फिनल्यान्डमा नेपाली समुदायको आकार बढ्दै जाँदा समस्याहरू पनि जटिल बन्दै गएका छन्।
त्यसैले संस्थाको ध्यान नेपालमा सहयोग पठाउने वा फिनल्यान्डमा नियमित सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नेभन्दा यहाँ रहेका नेपालीहरूको हकहितका लागि लबिङ गर्ने, कूटनीतिक पहल गर्ने र सङ्कटमा परेकाहरूलाई तत्काल सहयोग पुर्याउनेतर्फ केन्द्रित भयो। जुन सकारात्मक पनि हो।
“हो, हामीले फोकस परिवर्तन गर्यौँ,” उपाध्यायले नेपालीलाइनेनसँगको एक कुराकानीमा स्वीकारेका थिए, “कार्यक्रमहरू आयोजना गर्न अरू धेरै सङ्घसंस्थाहरू छन्।”
“हामीले प्रतीकात्मक तर ठुला कार्यक्रमहरू गर्ने र मुख्य रूपमा यहाँका नेपालीहरूको समस्या समाधानमा केन्द्रित हुने निर्णय गर्यौँ।”
यद्यपि उनको कार्यकालमा पनि बालबालिकाका लागि नृत्य, फुटबल र सूचनामूलक कार्यक्रमहरूले भने निरन्तरता पाइरहे।
चुनौतीपूर्ण काम
एनआरएनएको नेतृत्व गर्नु सधैँ सहज भने थिएन। विशेष गरी नेपाली ब्युरोक्रेसी र सरकारी उदासीनतासँग जुध्नु सबैभन्दा चुनौतीपूर्ण भएको उनले नेपालीलाइनेनलाई सुनाएका थिए।
बिमा ठगीको एउटा मुद्दा सुल्झाउन महिनौँ लागेको र नेपाली सरकारी तन्त्र र डेनमार्कको नेपाली दूतावासले पनि त्यो विषयमा गम्भीर नबनेको दुखेसो उनले पोखेका थिए।
“कहिलेकाहीँ त हामी सारै अभागी रहेछौँ, कस्तो देशमा जन्मेछौँ जस्तो लाग्छ,” उनले भावुक हुँदै नेपालीलाइनेनसँग भनेका थिए।
उनको नेतृत्वले हल्ला र प्रचारबाजी बिना पनि गहिरो र अर्थपूर्ण काम गर्न सकिन्छ भन्ने देखायो। यद्यपि, त्यही प्रचारको अभाव भने एनआरएन फिनल्यान्डकै विकासमा भने बाधा बनेको देखिन्छ।
पहिलेका नेतृत्वहरू जस्तै उपाध्याय पनि एनआरएनए फिनल्यान्डलाई वृहत् बनाउने काममा भने सफल हुन सकेनन्।
संस्थाले फिनल्यान्डमा रहेका सबै नेपालीको अभिभावकको भूमिका निर्वाह गरेको छ। पासपोर्ट नवीकरण कोपनहेगनको दूतावासबाट यहीँ घरछेउ ल्याइदिएको छ। मर्दापर्दा, बिरामी हुँदा, कसैको शोषणमा पर्दा सकेको सहयोग गरेकै छ, ढाडस दिएकै छ।
तर पनि संस्थाका सदस्य अत्यन्तै थोरै छन्। स्वयंसेवी नै भए पनि एनआरएनमा लागेर काम गर्ने आकर्षण पनि निकै कम देखिन्छ।
एनआरएनले हाम्रै लागि काम गर्छ र यसलाई सशक्त बनाउनुपर्छ भन्ने मान्छेले बुझ्न सकेका छैनन्, वा संस्थाले पनि बुझाउन सकेको छैन।
एनआरएनले हाम्रै लागि काम गर्छ र यसलाई सशक्त बनाउनुपर्छ भन्ने मान्छेले बुझ्न सकेका छैनन्, वा संस्थाले पनि बुझाउन सकेको छैन। सायद कतिलाई त एनआरएन फिनल्यान्डका बारेका थाहा नै पनि छैन होला।
आशा गरौँ उपाध्यायले आफ्नो कार्यकालमा गर्न नसकेको एनआरएनएलाई वृहत् बनाउने काम अबको नेतृत्वले गर्नेछ। उपाध्यायले त आफ्ना अन्य महत्त्वपूर्ण र दूरगामी काम मार्फत् आफ्नो कामको नजिर त्यसै पनि छोडिसकेका छन्।





