यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
मेरो नाम समीर (नाम परिवर्तन) हो। म सन् २०१८ देखि फिनल्यान्ड बसिरहेको छु। यहाँको जीवनमा अभ्यस्त हुन मलाई धेरै समय लाग्यो, तर आजभोलि हेलसिन्कीको शान्त र एक्लो वातावरण आफ्नै जस्तो लाग्न थालेको छ।
तर केही दिनहरु यस्ता हुन्छन् जब हजारौं किलोमिटरको दूरी र समयको फरकले पनि मेरो मनलाई नेपाल नै पुऱ्याइदिन्छ। हिजो त्यस्तै दिन थियो—कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन।
हिजो पनि सधाझैं बिहान उठ्ने बित्तिकै मैले फेसबुक खोलेँ। फेसबुकको फिड नेपालबाट आएका तस्बिरहरुले भरिएको थियो। कसैले बुबालाई ढाका टोपी लगाइदिएका, कसैले मिठाइ खुवाइरहेका, कसैले बुबाको हात समातेर आशीर्वाद लिइरहेको। हरेक तस्बिरमा माया र सम्मानको न्यानो अनुभूति देखिन्थ्यो।
म ती तस्बिरहरु हेर्दै गएँ, तर विस्तारै मेरो मनमा एउटा अनौठो रित्तोपनले डेरा जमायो।
मेरा लागि ‘बुबा’ शब्द सधैँ एउटा धमिलो याद मात्र रह्यो। म तीन वर्षको हुँदा उहाँले हामीलाई छोडेर जानुभएको रे। आमाले भन्नुहुन्थ्यो, “उहाँका आफ्नै सपनाहरु थिए, सायद हाम्रो संसारमा उहाँ अटाउन सक्नुभएन।” मेरा दाजुभाइ दिदिबहिनी कोहि छैनन्, म एक्लो छोरा हो।
आमाले कहिल्यै उहाँलाई नराम्रो भन्नुभएन, तर उहाँको मौनताभित्र लुकेको पीडा मैले सधैँ महसुस गरेँ। मेरो दिमागमा बुबाको कुनै स्पष्ट तस्बिर छैन। केवल एउटा धमिलो छायाँ छ—एउटा अग्लो मान्छे, जसको वास्तविक अनुहार म कहिल्यै देख्न सक्दिनँ। अरुले हरेक वर्ष हेर्ने बुबाको मुख म कहिल्यै हेर्न सक्दिन्।
—
उठेर एक कप कफि बनाएँ। अनि झ्यालबाट बाहिर हेर्न थालेँ। आकाश सफा थियो। तर मेरो मनभित्र भने बादल मडारिइरहेको थियो। बाल्यकालका यादहरु एकाएक फर्किएर आए।
स्कुलमा ‘फादर्स डे’ को कार्यक्रम हुँदा सबैजना आफ्नो बुबाको बारेमा लेख्थे, चित्र बनाउँथे। म भने सधैँ आमाको चित्र बनाउँथे र शिक्षकले सोध्दा भन्थेँ, “मेरो बुबा र आमा एउटै हो।”
साथीहरु हाँस्थे, तर मलाई कहिल्यै नराम्रो लागेन। मेरो लागि आमा नै सबैथोक हुनुहुन्थ्यो। उहाँले मलाई कहिल्यै बुबाको कमी महसुस हुन दिनुभएन। घरको बिग्रिएको बत्ती बनाउनेदेखि मेरो हरेक सपनालाई पूरा गर्न दिनरात खट्ने काम उहाँले नै गर्नुभयो।
कफि खाइसकेपछि मैले आमालाई भिडियो कल गरेँ। स्क्रिनमा आमाको हँसिलो अनुहार देखियो।
“के छ बाबु? सन्चै छस्? खाना खाइस्?” आमाको आवाजमा सधैँ त्यही न्यानोपन हुन्छ।
“सन्चै छु आमा। तपाईँ नि?” मेरो आवाज अलि मलिन थियो।
आमाले तुरुन्तै मेरो मनको कुरा बुझिहाल्नुभयो। “के भयो? आज फेरि त्यही कुरा सोचेर बसिस, होइन?”
म चुप लागेँ। मुटु ढुक्क भयो। आमाका पनि आखामा आसु रसाएको मैले भिडियो कलमै पनि देखेँ।
मैले स्क्रिनमा आमाको अनुहारलाई हेरिरहेँ। चाउरी पर्न थालेको थकित अनुहार, तर मेरा लागि संसारकै सबैभन्दा सुन्दर र बलियो अनुहार।
“ह्याप्पी फादर्स डे, आमा,” मैले भक्कानिँदै भनेँ। आमा फिस्स हाँस्नुभयो। त्यो हाँसोमा मैले मेरो सम्पूर्ण संसार देखेँ।
फोन राखेपछि मलाई धेरै हल्का महसुस भयो। फेरी अर्को कप कफि खन्याएर खाएँ।
मलाई थाहा छ बुबा त्यो छहारी हो जसले हरेक घाम र पानीबाट जोगाउँछ। मेरो लागि त्यो छहारी सधैँ मेरी आमा हुनुहुन्थ्यो, हुनुहुन्छ। तर पनि खै किन हो कहिलेकाँहि “मेरो पनि बुबा भैदिएको भए कस्तो हुँदो हो” भन्ने लागिरहन्छ।
(कुराकानीमा आधारित)





