.संक्षेपमा.
- फिनल्यान्डले रक्षा बजेटमा अर्बौं युरो थप्यो।
- रक्षा खर्च दोस्रो विश्वयुद्ध अघिको स्तर बराबर।
- रुसको युक्रेन युद्धपछिको सम्भावित आक्रामकता मुख्य कारण।
रुसबाट बढ्दो सुरक्षा खतरालाई मध्यनजर गर्दै फिनल्यान्डले आफ्नो रक्षा बजेटमा ऐतिहासिक वृद्धि गरेको छ।
सरकारले अर्बौं युरोको नयाँ सैन्य खरिदलाई स्वीकृति दिएको हो। यसले फिनल्यान्डको रक्षा खर्चलाई दोस्रो विश्वयुद्ध अघिको स्तरमा पुर्याएको छ।
यो निर्णय युक्रेन युद्ध समाप्त भएपछि रुसले फिनल्यान्डतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सक्ने चिन्ताबाट प्रेरित देखिन्छ। रुसको खतरा वास्तविक हो र त्यसका लागि तयारी आवश्यक छ भन्ने कुरामा फिनल्यान्डका राजनीतिज्ञहरू एकमत छन्।
यही महिना फिनल्यान्ड सरकारले रक्षाका लागि थप ५.६ अर्ब युरो विनियोजन गर्ने घोषणा गरेको छ। योसँगै रक्षा खरिदका लागि कुल बजेट ६ अर्ब युरो पुगेको छ, जुन फिनल्यान्डको इतिहासमै एक अभूतपूर्व कदम हो।
यो निर्णय गर्नुअघि अर्थ मन्त्रालय र रक्षा मन्त्रालयबीच बजेटलाई लिएर ठूलो बहस भएको थियो।
अर्थ मन्त्रालयले प्रस्तावित बजेटमा ३ अर्ब युरो कटौती चाहेको थियो, तर रक्षा मन्त्रालयले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पूरा रकम पाउन सफल भएको हो।

किन यति धेरै खर्च?
रक्षा मन्त्री आन्ती हाक्कानेनका अनुसार युक्रेनमा युद्ध रोकिएपछि रुसले आफ्ना सेनाहरू फिनल्यान्ड नजिकै तैनाथ गर्न सक्ने सम्भावना छ, र त्यसैकारण फिनल्यान्डले प्रतिरक्षाका लागि छिटो तयारी गर्नुपरेको हो।
फिनल्यान्ड सरकारको लक्ष्य सन् २०२९ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (GDP) को तीन प्रतिशत र सन् २०३५ सम्ममा पाँच प्रतिशत पुर्याउने छ। यो खर्चको स्तर १९३० को दशकमा अर्थात् विन्टर वार अघिको समय बराबर हो।
केही विज्ञहरूले भने यति ठूलो र तीव्र गतिको खर्चमाथि प्रश्न उठाएका छन्।
फिनल्यान्ड नेटोको सदस्य भइसकेकाले तत्कालै ठूलो खतरामा नरहेको पनि विज्ञहरूको भनाइ छ।
“के हामीलाई यति धेरै र यति छिटो आवश्यक छ?” हेलसिन्की विश्वविद्यालयका आर्थिक इतिहासका प्राध्यापक यारी एलोरान्ताले फिनल्यान्डको सार्वजनिक प्रकाशन संस्था YLE संगको अन्तर्वार्तामा प्रश्न गरेका छन्।
एलोरान्ताका अनुसार उच्च रक्षा खर्चले हतियार बजारमा बिक्रेतालाई त फाइदा पुग्न सक्छ, तर शिक्षा वा अनुसन्धान जस्ता अन्य क्षेत्रमा बजेट कटौती हुन सक्छ।
अर्कोतर्फ रुसी सुरक्षा मामिलाका विज्ञहरू भने फिनल्यान्डको कदमलाई सही ठान्छन्। उनीहरूका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनको उद्देश्य रुसलाई फेरि एक महाशक्तिको रूपमा स्थापित गर्नु हो, जसका लागि उनले छिमेकी देशहरूलाई दबाबमा राख्ने नीति लिएका छन्।
युक्रेन युद्धको प्रभाव
अर्का विदेश मामीला विज्ञ आर्काडी मोसेसका अनुसार रुसको अबको कदम युक्रेन युद्धको परिणाममा निर्भर गर्नेछ। यदि युक्रेन कमजोर भयो भने रुसले मोल्डोभा, जर्जिया र आर्मेनियाजस्ता नेटो बाहिरका देशहरूलाई निशाना बनाउन सक्छ।
तर फिनल्यान्ड नेटोको सदस्य भइसकेकाले तत्कालै ठूलो खतरामा नरहेको पनि विज्ञहरूको भनाइ छ।
उनीहरूका अनुसार जबसम्म युक्रेनले रुसको सामना गरिरहन्छ, रुसले नेटो देशहरूमाथि आक्रमण गर्ने सम्भावना कम रहन्छ। त्यसैले अहिले फिनल्यान्डले आत्तिनुभन्दा पनि आफ्नो प्रतिरक्षालाई बलियो बनाउनु बुद्धिमानी हुने उनीहरूको सुझाव छ।





