0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    चाडबाडमा झनै कुँडिन्छ यो नेपाली मन

    विदेशमा सुन्दर जीवनशैली, सफा सडक र व्यवस्थित प्रणाली त छ। तर चाडपर्वमा निधार खाली हुँदा टीका लगाइदिने ठुलाबडाको हात छैन। मन खिन्न हुँदा अँगालो हालेर "चिन्ता नगर, म छु नि" भन्ने परिवार छैन। समस्या र दुःख परेका बेला, "ल हिँड् यार, चिया खाँदै गफ गरौँ" भन्ने बाल्यकालका साथीहरू पनि छैनन्।

    यो जन्मभूमि भन्ने कुरा शब्द मात्र होइन, जीवनभरको सम्झना रहेछ। टाढा परदेशमा आएर बस्दा पनि मनले भने हजारौँ किलोमिटर पार गरेर आफ्नै गाउँ खोजिरहने।

    राति देख्ने सपना पनि अझै त्यही पुरानै—बाल्यकालको खेलमैदान, हाँसोले गुन्जिएका गल्लीहरू, माटोको सुवास र घरको आँगन।

    यस्तो भावना सायद मेरो मात्र होइन संसारको जुनसुकै कुनामा पुगेका नेपालीलाई हुन्छ। आफ्नो देश, माटो, हावा, पानी, साथीभाइ, परिवार, संस्कार, भाषा र परिकार—यी सबैको कमीले परदेशी जीवनलाई अधुरो बनाइराख्दो रहेछ।

    सुदिन पोखरेल DA69 नेपालका चर्चित र्यापरको शब्द सापटी लिएर भन्नु पर्दा विदेशमा बस्ने नेपालीहरू जब आँखा चिम्लिन्छन्, निदाउँछन्, अनि उनीहरू घर फर्किन्छन्—सपनामा।

    सुरुमा लाग्थ्यो यो सबै केवल मैसँग मात्र हुन्छ होला, अर्थात् मेरैजस्तो कमलो मन भएका नेपालीहरूलाई मात्र हुन्छ होला। तर जब विभिन्न देशका मान्छेसँग कुरा गरेँ, उनीहरू पनि त्यही पीडाले भरिएको पाएँ।

    अझ युद्धग्रस्त मुलुकबाट आएका ती अनुहारहरू—जसलाई आफ्नो जन्मभूमि फिर्ता जान सम्भव छैन—तिनीहरूको आँखामा झन् ठुलो वेदना देखेँ।

    उनीहरू भन्छन्, “तिम्रो त देश छ, फर्कन सक्छु भन्ने आशा पनि छ; हाम्रो त त्यो सपना पनि छैन।”

    अनि म केबल कल्पना गर्छु, कहिल्यै फर्किन नसक्ने गरि देश छाड्नुको पीडा कस्तो हुँदो हो!

    चाडबाडमा झनै कुँडिन्छ मन

    चाडपर्व नजिकिँदै गर्दा यो देशप्रतिको माया भन्ने चिज अझै प्रगाढ बन्दो रहेछ। खास गरी दसैँ-तिहारको आगमनसँगै बाल्यकालका स्मृतिहरू मनमा ताजा हुने। नरमाइलो लाग्ने। के-गरौँ, कसो गरौँ हुने। 

    गाउँमा दसैँ नमनाएको पनि धेरै भैसक्यो। सम्झन्छु, बिहानको चिसो हावा, दिउँसोको घाम—सबैले दसैँ आएको सङ्केत दिन्थे।

    गाउँघरमा रातो माटो र कमेरोले लिपपोत गर्दा आउने माटोको गन्ध, आमाले बनाउनु भएको सेल रोटी, फिनी, अनरसा, झर—यी सबैको स्वाद सम्झिँदा मन अझै रसाउँछ।

    सहरमा पढ्न गएका, विदेश रोजगारीका लागि गएका परिवारका सदस्यहरू फर्किँदा घरको माहौल नै रमाइलो बन्थ्यो। रोटे पिङ, चङ्गा, लङगुरबुर्जा जस्ता खेलले समाजमा दशैको रौनक अझै बढाएको हुन्थ्यो।

    लेखकको जन्म गाउँ, उल्लीखोला, सत्यवती – ६, गुल्मी। तस्बिर स्रोतः लेखक।

    अस्ति एक दिन कामबाट फर्किँदै गर्दा एक जना स्थानीय छिमेकीले आफ्नो बच्चालाई आँगनमा रहेको सानो पिङ खेलाइरहेको देखेँ। त्यो दृश्यले मेरो मन एक छिनमा हजारौँ किलोमिटर टाढा, मेरो गाउँको बारीको डिलमा गाडिएको बाँसको लिङ्गे पिङमा पुग्यो।

    दसैँमा गाउँका सबै जना मिलेर बनाएको त्यो पिङ… हामी केटाकेटीहरू पालो कुरेर बस्थ्यौँ। एकै झोक्कामा आकाश छुने रहर, अनि साथीहरूको हाँसो र चिच्याहट। त्यो क्षण सम्झिँदा आज पनि मुसुक्क हाँसो आउँछ। तर त्यो हाँसोसँगै आँखाको डिलमा आँसु पनि भरिन्छ।

    अष्टमीको दिन बिहानै देवीको मन्दिरमा पूजा गर्न गाउँका सबैको भीड लाग्थ्यो। दसैँको मुख्य दिन हजुरबाले देवथानमा टीका लगाइसकेपछि मात्र हामीलाई टीका लगाइदिनुहुन्थ्यो। त्यो क्षणमा दसैँको खास अनुभव हुन्थ्यो। बुढो घरको आँगनमा सबै जम्मा भएर निधारदेखि गालासम्म टीका र मान्यजनको आशीर्वाद लिनु—त्यसलाई सम्झिँदा अझै आँखा रसाउँछ।

    तिहारमा साथी भाइ सङ्ग “भैलेनी आइन आँगन” भन्दै देउसी भैलो खेल्दै गाउँका हरेक घरमा नाच्दै रमाउँदै हिँडेका साथीहरूको सम्झना अझै पनि मानसपटलमा ताजै छ।

    तर विडम्बना न आज ती साथी सङ्गै छन् न त म नै त्यो ठाउँमा छु ।

    आज परिस्थिति अर्कै छ—बुढा आमाबुबा रित्तो घरमा, चाडपर्व नजिकिँदै गर्दा पनि परिवार छुट्टाछुट्टै। यो सबै सम्झँदा लाग्छ विदेशमा ‘लाइफ स्टाइल’ राम्रो भय पनि ‘लाइफ’ त नेपालमा नै राम्रो।

    यहाँको जीवन एउटा चक्रजस्तै छ। काम, बिल, बचत, र जिम्मेवारीको भुमरीमा सपनाहरू, रहर र रमाइलोहरू कता-कता हराउँदै जाने रहेछन्।

    लाखौँ नेपाली विदेशिएका छौँ। कसैको रहर, कसैको वाध्यता। कहिलेकाहीँ लाग्छ आखिर हामीले के पायौँ? र के गुमायौँ?

    लाखौँ नेपाली विदेशिएका छौँ। कसैको रहर, कसैको वाध्यता। कहिलेकाहीँ लाग्छ आखिर हामीले के पायौँ? र के गुमायौँ?

    यहाँको सुन्दर जीवनशैली, सफा सडक र व्यवस्थित प्रणाली त छ। तर चाडपर्वमा निधार खाली हुँदा टीका लगाइदिने ठुलाबडाको हात छैन। मन खिन्न हुँदा अँगालो हालेर “चिन्ता नगर, म छु नि” भन्ने परिवार छैन। समस्या र दुःख परेका बेला, “ल हिँड् यार, चिया खाँदै गफ गरौँ” भन्ने बाल्यकालका साथीहरू छैनन्।

    लाग्छ यहाँ बाध्यता छ, रहर होइन। समय शक्तिशाली छ, र मनमा सबैको एउटै चाहना भएझैँ लाग्छः जसरी भए पनि एक दिन सबै परिवार एउटै आँगनमा भेला भएर दसैँ-तिहार मनाउने।

    त्यो बाल्यकाल, त्यो जन्मभूमि, साथीभाइको रमाइलो—यी सबै आज सम्झनामा मात्रै बाँकी छन्। घरभरि मखमली र सयपत्री फुलेका होलान्, तर लगाउने दाजुभाइ छैनन्। उ बेला देउसी भैलो रन्काउँदै गाउँ चाहर्ने कैयौँले अहिले युरोप-अमेरिकातिर ‘फुड डेलिभरी’का साइकल चढेर सहर चाहर्दै होलान्।

    यो परदेशले मलाई धेरै कुरा सिकायो। जिम्मेवारीको भारी बोक्न सिकायो, एक्लै रुँदा आँसु पुछ्न सिकायो, र सबैभन्दा महत्त्वपूर्ण कुरा—आफ्नो माटो, संस्कृति र सम्बन्धको मूल्य चिन्न सिकायो। यहाँको भौतिक सुख सुविधाले शरीरलाई आराम देला, तर आत्माको भोक त आफ्नै आँगनको मायाले मात्र मेटिँदो रहेछ।

    आशा छ, एक दिन म साँच्चै फर्कनेछु। मेरो परिवारसँगै बसेर, आँगनको डिलमा पिङ खेल्दै, र मान्यजनको हातबाट आशीर्वादको टीका थाप्दै दसैँ मनाउनेछु। त्यो दिन नआउन्जेल, सम्झनाहरू नै मेरो दसैँ र तिहार हो, र भिडियो कलको स्क्रिन नै मेरो घर।

    सबैलाई तिहारको शुभकामना! चाहे संसारको जुनसुकै कुनामा हुनुहोस्, आफ्नो संस्कृति र सम्बन्धलाई कहिल्यै नभुल्नुहोला, किनकि अन्त्यमा हामीलाई जोड्ने त्यही मायाको धागोले रहेछ।

    साजन कार्की
    साजन कार्की
    केही वर्षदेखि फिनल्यान्डमा बसोबास गरिरहेका कार्कीले LAB University of Applied Sciences मा अध्ययन गरेका हुन्।

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप