0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    ‘विश्वकै खुसी देश’ फिनल्यान्डमा नेपाली विद्यार्थीहरूले झेलिरहेको आँसु र भोकको कथा

    फिनल्यान्ड ओर्लिएको केही महिनामै नेपालबाट ल्याएको बचत सकियो। भाषाको समस्या र मन्दीका कारण काम पाइएन। अहिले एक वर्षभन्दा बढी भइसक्यो, रिकिताले ऋणको एक पैसा पनि तिर्न सकेकी छैनन्। डिसेम्बरमा कलेजलाई १०,००० युरोको किस्ता बुझाउनुपर्ने छ। यदि शुल्क तिरिएन भने उनको विद्यार्थी भिसा रद्द हुनेछ र उनलाई नेपाल 'डिपोर्ट' गरिनेछ। यो डरले उनलाई रातभर सुत्न दिँदैन।

    हेलसिन्कीको म्युल्लुपुरोमा चिसो हावा चलिरहेको छ। बिहानको समय हो, तर यहाँको वातावरणमा एक किसिमको सन्नाटा र उदासी छाएको छ।

    त्यहाँ मानिसहरूको लामो लाइन छ। यो कुनै कन्सर्टको टिकट वा नयाँ फोन किन्न उभिएका मानिसहरूको भीड भने होइन। यो Hurstin Apu को खाद्य सहायता लाइन हो।

    यो लाइनमा उभिएकी एक नेपाली विद्यार्थीले आफ्नो अनुहार स्कार्फले छोपेकी छिन्। उनी यहाँ कोही परिचितले देख्ला कि भनेर डराउँछिन्।

    काठमाडौंको मध्यमवर्गीय परिवारबाट आएकी उनले कहिल्यै सोचेकी थिइनन् कि ‘विश्वकै सबैभन्दा खुशी देश’ भनेर चिनिने फिनल्यान्डमा आएर उनले पेट भर्नका लागि यसरी लाइनमा उभिनुपर्ला।

    फिनल्यान्डको राष्ट्रिय प्रसारण संस्था YLE को खोजमूलक कार्यक्रम ‘MOT’ ले फिनल्यान्डमा विदेशी विद्यार्थीहरूलाई झुटा सपना देखाएर कसरी व्यवस्थित रूपमा गरिबीतर्फ धकेलिँदैछ भन्ने बारेमा विस्तृत अनुसन्धान गरेर विभिन्न रिपोर्ट र एउटा २८ मिनेट लामो भिडियो सार्वजनिक गरेको छ।

    नेपालीलाइनेनको यो लेख मुलतः YLE का तिनै रिपोर्ट र प्रशारित भिडियोमा आधारित छ।

    “फिनल्यान्ड विश्वकै सबैभन्दा खुशी देश हो र यहाँको पासपोर्ट विश्वको तेस्रो शक्तिशाली छ भन्ने मैले पत्रिकामा पढेकी थिएँ।” YLE सँग कुरा गरेकी नेपाली विद्यार्थी रिकिता भन्छिन्।

    तर फिनल्यान्डको चिसो भुइँमा उभिएर नि:शुल्क आलु, पाउरोटी र दूधको लागि पालो पर्खिरहँदा त्यो खुशीको सूचकांकले उनलाई गिज्याइरहेको महसुस हुन्छ।

    रिकिता एक्ली छैनन्। फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मारिनको सरकारले अन्तर्राष्ट्रिय प्रतिभाहरूलाई भित्र्याउने नीति त बनायो, तर पूर्वाधार र रोजगारीको अभावमा हजारौं विदेशी विद्यार्थीहरू—विशेष गरी नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट आएकाहरू—अहिले यहाँको “नयाँ गरिब वर्ग” मा परिणत भएका छन्।

    सामान्यतया: बेरोजगार र घरबार विहीनहरूका लागि भनेर खोलिएका खाद्य सहायता केन्द्रहरू अहिले विदेशी विद्यार्थीले भरिन थालेका छन्।

    सामान्यतयाः बेरोजगार र घरबारबिहिनहरूका लागि भनेर खोलिएका खाद्य सहायता केन्द्रहरू अहिले विदेशी विद्यार्थीले भरिन थालेका छन्।

    एजेन्टको झूटो आश्वासन र ३० हजार युरोको ऋण

    रिकिता र उनका श्रीमान् गत वर्ष ठूलो सपना बोकेर फिनल्यान्ड आएका थिए। नेपालको शैक्षिक परामर्शदाताले उनीहरूलाई फिनल्यान्डको रंगीन तस्बिर देखाएको थियो।

    “यहाँ काम पाउन एकदमै सजिलो छ भनेर एजेन्टहरूले भनेका थिए। पढाइको साथसाथै पार्ट-टाइम काम गरेर ट्युसन फी तिर्न र घरमा पैसा पठाउन सकिन्छ भनेका थिए,” रिकिता सम्झिन्छिन्। “उनीहरूले पीआर पाउन सजिलो छ र परिवारलाई पनि सामाजिक सुरक्षा मिल्छ भनेर लोभ्याएका थिए।”

    यही सपना पूरा गर्न रिकिताले आफ्ना बुबाआमा र आफन्तहरूबाट ३०,००० युरो (अहिलेको रेटमा करिब ५० लाख नेपाली रुपैयाँ) ऋण लिएकी थिइन्।

    उनले ६ महिनापछि नै ऋण तिर्न सुरु गर्ने वाचा गरेकी थिइन्। तर यथार्थ भने क्रुर साबित भयो।

    फिनल्यान्ड ओर्लिएको केही महिनामै नेपालबाट ल्याएको बचत सकियो। भाषाको समस्या र मन्दीका कारण काम पाइएन। अहिले एक वर्षभन्दा बढी भइसक्यो, रिकिताले ऋणको एक पैसा पनि तिर्न सकेकी छैनन्।

    उल्टै डिसेम्बरमा कलेजलाई १०,००० युरोको अर्को किस्ता बुझाउनुपर्ने दबाब छ।

    “मैले ऋण तिर्नु त परै जाओस् यहाँ बाँच्नकै लागि संघर्ष गरिरहेकी छु,” उनी भन्छिन्।

    यदि शुल्क तिरिएन भने उनको विद्यार्थी भिसा रद्द हुनेछ र उनलाई नेपाल ‘डिपोर्ट’ गरिनेछ। यो डरले उनलाई रातभर सुत्न दिँदैन।

    अन्तर्राष्ट्रिय भर्नाका पीडितहरू

    हेलसिन्की चर्चकी युनिभर्सिटी पादरी सोनिया जाकोब्सन दिनहुँ रिकिताजस्तै विद्यार्थीहरूलाई भेट्छिन्। उनी विदेशी विद्यार्थीसँग फिनल्यान्डमा अहिले जे भइरहेको छ त्यसलाई स्पष्ट शब्दमा “मानव बेचबिखन जस्तै शोषण” भन्छिन्।

    “पीडितहरूको संख्या धेरै ठूलो छ। फिनल्यान्डमा एउटा ‘नयाँ सर्वहारा वर्ग’ सिर्जना गरिएको छ,” जाकोब्सन भन्छिन्।

    उनी विद्यार्थीहरूको डेरामा पुग्दा देखेको दृश्य हृदयविदारक हुन्छ। एउटा सानो कोठामा धेरै जना कोचिएर बस्नुपरेको र उनीहरूसँग खाने कुरा समेत नभएको उनले देखेकी छन्।

    “यी विद्यार्थीहरू यहाँ आफ्नो सम्पत्ति गुमाउन र मानसिक सन्तुलन गुमाउन आएका होइनन्। उनीहरूले ठूलो ऋण लिएका छन्, आमाबुबाले जग्गा बेचेका छन्। यो अनैतिक छ।” जाकोब्सनले YLE सँगको अन्तर्वार्तामा भनेकी छन्।

    हेलसिन्की म्युल्लुपुरोको खाद्य सहायता केन्द्रमा काम गर्ने सामाजिक कार्यकर्ता मार्कुस होन्कोनेनका अनुसार हाल खाद्य सहायता माग्नेहरूमध्ये सबैभन्दा बढी विद्यार्थीहरू दक्षिण एसिया—नेपाल, भारत, र बंगलादेशबाट आएका छन्।

    एक पटकमा १०० देखि १५० जना विद्यार्थी लाइनमा देखिनु सामान्य भइसकेको उनले बताएका छन्।

    तर समस्या फिनल्यान्डमा मात्र छैन। यसको जरो काठमाडौं, नयाँ दिल्ली, र ढाकाका गल्लीहरूमा रहेका कन्सल्टेन्सीहरूमा छ।

    साभोनलिन्नामा टुरिजम विषय पढिरहेका भारतीय विद्यार्थी भावेसकुमार बाबुभाई पटेल पनि एजेन्टको शिकार भएका हुन्।

    “काम पाउन सजिलो छ भनेर एजेन्टले भने का थिए। त्यो सरासर झूट थियो,” पटेलले आक्रोशित हुँदै YLE सँगको अन्तर्वार्तामा भनेका छन्। “एजेन्टहरूलाई मात्र आफ्नो कमिसनको मतलब हुन्छ। विद्यार्थी यहाँ आएर मर्छ कि बाँच्छ, उनीहरूलाई कुनै चासो छैन।”

    अचम्मको कुरा के छ भने धेरैजसो एजेन्टहरूले दुईतिरबाटै पैसा असुल्छन्—पहिले विद्यार्थीबाट ‘प्रोसेसिङ फी’ को नाममा र पछि विद्यार्थी भर्ना गराएबापत फिनिस कलेजहरूबाट कमिसनको रूपमा।

    लाग्छ यो एक संगठित व्यापार हो जहाँ विद्यार्थी केवल एउटा बेचिने ‘वस्तु’ मात्र हो।

    डिपोर्ट हुने डर

    धेरैजसो विद्यार्थीहरू आफ्नो वास्तविक अवस्थाबारे खुलेर बोल्न डराउँछन्।

    पछिल्लो दुई वर्षदेखि फिनल्यान्डको अध्यागमन विभाग (Migri) ले कडा निगरानी सुरु गरेको छ। यदि विद्यार्थीले पढाइमा प्रगति गर्न सकेनन् वा बारम्बार सामाजिक सहायताका लागि आवेदन दिए भने उनीहरूको ‘रेसिडेन्स परमीट’ रद्द हुन सक्छ।

    यो वर्ष मात्रै १,००० भन्दा बढी विद्यार्थीहरूको भिसा रद्द गर्ने प्रक्रियामा छ।

    रिकिता जस्ता विद्यार्थीहरू दोहोरो पासोमा छन्: यहाँ बसौं भने काम छैन र कलेजको फी तिर्न सकिँदैन; घर फर्कौं भने ऋणको भारी र समाजको लाजले थिच्छ।

    YLE सँगको कुराकानीमा पादरी सोनिया जाकोब्सनले अझ डरलाग्दो तथ्यको उजागर गरेकी छन्।

    उनका अनुसार आर्थिक अभावका कारण केही छात्राहरू शोषणको शिकार भइरहेका छन्।

    “पैसाको अभावमा कोही नक्कली विवाह गर्न बाध्य छन् भने कोही बस्ने ठाउँको बदलामा यौन शोषणमा पर्न सक्छन्,” उनी भन्छिन्। “यो अवस्था अब नैतिक रूपमा स्वीकार्य छैन।”

    YLE का पत्रकारले यसरी शोषणमा परेका दुई विद्यार्थीसँग आफूहरूले कुरा गरेको भनेर लेखेका छन्।

    “कन्सल्टेन्सी र एजेन्टको गुलियो कुरामा मात्र विश्वास नगर्नुहोस्। यहाँको वास्तविकता सोचेभन्दा धेरै फरक र कठोर छ।” नेपालमा फिनल्यान्ड आउन खुट्टा उचालेर बसेका विद्यार्थीहरूलाई रिकिताको एउटै सुझाव छ।

    ‘विश्वको सबैभन्दा खुशी देश’ को चिसो तथ्यांकभित्र लुकेको यो तातो आँसुले सोधिरहेछ—के शिक्षाको नाममा भइरहेको यो व्यापार न्यायसंगत छ?

    YLE को आर्टिकल यहाँ छ, र भिडियो यहाँ छ

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप