संक्षेपमा
- डे-केयरको आँगनमा जंगलको माटो, काई र बोटबिरुवा राखेर प्राकृतिक वातावरणको सिर्जना।
- हिलो र माटोमा खेल्दा बालबालिकाको छाला र रगतमा लाभदायक ब्याक्टेरियाको वृद्धि।
- एक महिनामै बालबालिकाको रोग प्रतिरोधी क्षमतामा उल्लेखनीय सुधार देखिएको दाबी।
फिनल्यान्डका डे-केयरहरूमा बालबालिकालाई हिलो, जङ्गली बिरुवा र काईसँग खेल्न प्रोत्साहित गरिएको एक परीक्षणको नतिजा निकै राम्रो देखिएको वैज्ञानिकहरूले दाबी गरेका छन्।
लाहती र हेलसिन्की लगायतका सहरहरूमा गरिएको यो अनौठो प्रयोगले बालबालिकाको स्वास्थ्यमा चमत्कारिक परिवर्तन देखाएको हो।
फिनल्यान्डका डे-केयरमा गरिएको यो प्रयोगबारे प्रसिद्ध बेलायती पत्रिका गार्जियनले पनि एउटा विशेष रिपोर्टिङ्ग गरेको छ।
“लाहतीको हम्पुला डे-केयर सेन्टरमा ५ वर्षीया बालीका बालुवा र हिलो मिसाएर ‘केक’ बनाउँदै छिन्। उनी भन्छिन्, ‘यसमा अझै चिनी पुगेन,’ र थप बालुवा हाल्दै अनुहारमा पनि माटो दल्छिन्।” उक्त पत्रिकाले लेखेको छ।
फिनल्यान्डको प्राकृतिक स्रोत विभागका प्रमुख वैज्ञानिक आकी सिन्कोनेन यस्ता दृश्य देखेर खुसी छन्। धेरै सरसफाइ खोज्ने ठाउँमा यसरी हिलोमा खेल्नु फोहोर मानिएला, तर फिनल्यान्डमा बालबालिकालाई हिलोमा लतपतिएर खेल्न दिइन्छ।
जङ्गली डे-केयरका फाइदै फाइदा
हिलो र माटोमा खेल्नु त फिनल्यान्डका डे-केयरहरूमा सामान्य दैनिकी नै भयो। तर सहरका बिचमा रहेका डे-केयरहरूलाई जङ्गल जस्तै बनाउँदा थप फाइदा देखियो।
फिनल्यान्डभरिका ४३ वटा डे-केयर सेन्टरले आफ्नो आँगनलाई ‘जङ्गली’ बनाउन १० लाख युरो अनुदान पाएका थिए। यसको उद्देश्य बालबालिकालाई प्रकृतिमा पाइने ब्याक्टेरिया र फन्जाईजस्ता सूक्ष्म जीवहरूसँग नजिक बनाउनु हो।
सँगसँगै यसबाट बालबालिकामा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन गरिएको छ।
अध्ययनका लागि डे-केयर सेन्टरको आँगनमा जङ्गलको भूइँनै उक्काएर ल्याइएको थियो। त्यहाँ ब्लुबेरी, लिङ्गनबेरी र काई रोपिएको थियो। बालबालिकाले किरा-फट्याङ्ग्रा खोज्न र प्रकृति चिन्न सकुन् भनेर त्यसो गरिएको थियो।
यो अध्ययन ३ देखि ५ वर्ष उमेरका ७५ जना बालबालिकामा गरिएको थियो। सिमेन्ट र रबरको म्याटमा खेल्ने बालबालिकाको तुलनामा हरियालीमा खेल्नेहरूको छालामा रोग लाग्ने ब्याक्टेरिया कम भेटियो।
अध्ययनले केवल २८ दिनमै ती बालबालिकाको रगतमा रोगसँग लड्ने ‘टी-सेल’ (T-cells) को मात्रा बढेको देखायो। यसले शरीरलाई एलर्जी र विभिन्न ‘अटोइम्युन’ रोगहरूबाट बचाउन मद्दत गर्छ।
मानिसको शरीरमा खर्बौँ ब्याक्टेरिया र भाइरस हुन्छन् जुन स्वस्थ रहन आवश्यक छन्। “ओल्ड फ्रेन्ड्स” सिद्धान्त अनुसार मानिसको विकासक्रम माटो र प्रकृतिसँगै भएको हो।
सहरीकरणले गर्दा बालबालिका प्रकृतिका यी ‘पुराना साथीहरू’ बाट टाढा भइरहेकाले एलर्जीको समस्या बढेको वैज्ञानिकहरूको बुझाइ छ।
सहरीकरणले गर्दा बालबालिका प्रकृतिका यी ‘पुराना साथीहरू’ बाट टाढा भइरहेकाले एलर्जीको समस्या बढेको वैज्ञानिकहरूको बुझाइ छ। माटो र हावामा रहेका सूक्ष्म जीवहरू श्वासप्रश्वास र स्पर्शमार्फत शरीरमा प्रवेश गर्छन्।
वैज्ञानिक मार्या रोजलुन्डका अनुसार यो प्रयोग राष्ट्रिय स्वास्थ्यका लागि फाइदाजनक छ। प्रतिरक्षा प्रणाली सम्बन्धी रोगहरूको उपचार महँगो हुने भएकाले यस्ता प्रयोगले देशको अर्थतन्त्रलाई पनि राहत दिन्छन्।
यो फिनिस मोडलको सफलता देखेर नर्वे, आइसल्याण्ड र डेनमार्कबाट पनि मानिसहरू सिक्न आउन थालेका छन्। वैज्ञानिक सिन्कोनेन भन्छन्, “म अब कुनै पनि किन्डरगार्टेनमा रबरको म्याट देख्न चाहन्न।”
वैज्ञानिकहरूका अनुसार हाम्रो स्वास्थ्य वरपरको वातावरण र पारिस्थितिक प्रणालीसँग गहिरो गरी जोडिएको हुन्छ। मानव जीवनको सुरुवाती १००० दिन मस्तिष्क र शरीरको विकासका लागि निकै महत्त्वपूर्ण मानिन्छ।





