फिनल्यान्डमा नेपालीहरू आउन थालेको चार दशकभन्दा लामो समयपछि गतवर्ष अप्रिलमा यहाँ बस्ने नेपालीहरूका लागि यौटा कोशे ढुङ्गा स्थापित भयो।
फिनल्यान्डमा सम्पन्न स्थानीय निर्वाचनमा तीन जना नेपाली मूलका उम्मेदवारहरूले जीत हासिल गरे। हेलसिन्की र भान्ताजस्ता ठुला सहरका नगर परिषदमा नेपाली आवाज पुग्यो।
राजधानी हेलसिन्कीमा पहिलो पटक त्यो पनि राम्रो मत लिएर विजयी भएका नेपाली मूलका नगर परिषद् सदस्य कृष्ण रेग्मीसँग नगर परिषद् सदस्यका रूपमा उनको आठ महिने अनुभवकाबारे नेपालीलाइनेनले कुरा गरेको छ।
यो अवधिमा उनले के कस्ता उपलब्धिहरू हासिल गरे, चुनौतीहरू के रहे र नगरवासीको हितका लागि के-कस्ता कामको सुरुवात गरे भन्ने बारेमा पनि नेपालीलाइनेनले सोधेको छ।
यसका अलावा यो स्टोरीका लागि रेग्मीले नगर सभामा दिएका भाषणहरू र सामाजिक सञ्जालमा गरेका पोस्टहरू पनि नेपालीलाइनेनले केलाएको छ।
इतिहास रचिएको त्यो क्षण
गतवर्ष अप्रिलमा सम्पन्न स्थानीय निर्वाचनमा हेलसिन्कीबाट विजयी बनेपछि त्यसको दुई महिना पछि जुन महिनामा कृष्ण रेग्मीले हेलसिन्की सिटी काउन्सिलको भव्य हलमा पहिलो पटक नगर सदस्यका रुपमा आफ्नो सिट ग्रहण गरे।
त्यो क्षण उनको लागि त विशेष थियो नै, फिनल्यान्डमा बस्ने हजारौँ नेपालीहरूका लागि पनि खुसी, गौरव र आशाको क्षण थियो।
“राजधानी क्षेत्रका सिटी काउन्सिलमा विजयी प्राप्त गर्नु निकै कठिन काम हो।” फिनल्यान्डकी सांसद तथा सोसल डेमोक्रेटिक पार्टीकी नेतृ एभेलिना हेइनालुवमाले गत महिना नेपाली व्यवसायीहरूको एक जमघटमा भनेकी थिइन्। “नेपाली समुदायका प्रतिनिधि हेलसिन्की र भान्ता जस्ता सहरका सिटी काउन्सिलमा हुनु निकै ठुलो कुरा हो।”
नयाँ इतिहास बनाउँदा कस्तो महसुस हुँदो रहेछ? भनेर नेपालीलाइनेनले सोधेको प्रश्नमा रेग्मी भन्छन्, “इतिहास बनाउनु भनेको जिम्मेवारी बोक्नु हो। हुन त म नेपालीको मात्र नभएर सबै नगरवासीको प्रतिनिधि हो, तर मलाई थाहा छ मेरा हरेक निर्णयले नेपाली र आप्रवासी समुदायकै छविलाई प्रतिबिम्बित गर्छन्।”
हुन पनि हो। भर्खर आप्रवासी मूलका व्यक्तिहरू पनि राजनीतिमा खुलेर लाग्न थालेको फिनल्यान्डमा आप्रवासीले नयाँ समाजमा आफ्नो स्थान र प्रभाव कसरी स्थापित गरिरहेका छन् भन्ने विषयमा रेग्मी एउटा ‘केस स्टडी’ नै बन्न सक्छन्। र त्यो अर्थमा त झन् इतिहास बनाउनु भनेको ठुलो जिम्मेवारी बोक्नु नै हो।
अनेक छन् जिम्मेवारी
सोसल डेमोक्र्याटिक पार्टी (SDP) बाट चुनाव जितेका रेग्मीले छोटो समयमै आफूलाई व्यावहारिक र सक्रिय राजनीतिज्ञको रूपमा स्थापित गरेका छन्।
त्यसको अर्थ हो हेलसिन्की नगर परिषद्का हलहरूमा उनको भूमिका केवल हात उठाउने र भोटको बटन दाब्नेमा सीमित छैन। उनको उपस्थिति सक्रिय छ, अनि प्रस्तुति व्यवस्थित छ।
उनी नगर कार्यपालिकाको आर्थिक विकास उप-समिति अर्थात् Elinkeinojaosto का सदस्य र नगर बोर्डका वैकल्पिक सदस्य पनि हुन्। यी यस्ता पदहरू हुन् जहाँ बसेर सहरको बजेट र आर्थिक नीतिहरूको जग हाल्ने महत्त्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ।
अर्थात् उनी नगर परिषद्का बैठकमा बोल्ने मात्र हैन, पर्दा पछाडिका नीति निर्माण र निर्णय प्रक्रियामा पनि उत्तिकै सहभागी छन्। नगर कार्यपालिकामा उनको उपस्थिति हुनु भनेको नै नीतिगत निे्णयहरूमा सीधा सहभागिता जनाउनु हो।

समग्र मुद्दामा केन्द्रित
करिब १७ वर्ष अगाडी विद्यार्थीको रूपमा फिनल्यान्ड टेकेका रेग्मीलाई यो देशमा आप्रवासीले भोग्ने समस्या र जटिलता राम्रोसँग थाहा छ। यद्यपि नगर सभामा उनले उठाउने मुद्दा केवल आप्रवासीका मुद्दामा सीमित छैनन्।
“म आप्रवासी र नेपाली प्रतिनिधि त हो, तर पुरै नगरको पनि प्रतिनिधि हो।” रेग्मी भन्छन्। “हेलसिन्कीको समग्र अवस्था राम्रो बनाउँदा सहरका सबै बासिन्दा लाभान्वित हुन्छन्। त्यसलै सबैको हित गर्छ। मेरो जोड त्यसैमा छ।”
सहरको नीति निर्माण गर्दा, नयाँ योजना बनाउँदा वा बजेट विनियोजन गर्दा हेलसिन्कीको बहु सांस्कृतिक परिवेशलाई ध्यान दिनुपर्ने आवाज भने रेग्मीले राम्रैसँग उठाएका छन्।
हेलसिन्की जस्तो सहरमा पनि ‘सेग्रिगेसन’ अर्थात् क्षेत्रगत विभेद एउटा ठुलो चुनौती हो। सहरको विकास गर्दा धनी र गरिबका बिचमा भौगोलिक पर्खाल खडा गर्नु हुँदैन भन्ने रेग्मीको मान्यता र स्पस्ट अडान छ।
“हेलसिन्कीमा सबैले हुर्कने, सिक्ने र सफल हुने अवसर पाउनु पर्छ,” रेग्मी भन्छन्। “त्यसका लागि हामीले आवासीय क्षेत्रहरूलाई विभाजित हुन दिनु हुँदैन।”
अर्थात् यो धनीहरू बस्ने क्षेत्र, त्यो गरिबहरू बस्ने क्षेत्र, वा यो आप्रवासी बस्ने क्षेत्र भनेर छुट्टिन वा छुट्टाउन भएन।
हेर्नेसारीको जग्गा व्यवस्थापन र आवास योजनाको बहसमा रेग्मीले नगर सभामा यही सामाजिक एकताको पक्षमा बलियो आवाज उठाए।
हेलसिन्की जस्तो सहरमा पनि ‘सेग्रिगेसन’ अर्थात् क्षेत्रगत विभेद एउटा ठुलो चुनौती हो। सहरको विकास गर्दा धनी र गरिबका बिचमा भौगोलिक पर्खाल खडा गर्नु हुँदैन भन्ने रेग्मीको मान्यता र स्पस्ट अडान छ।
व्यवहारिक र नतिजामुखी शैली
सरसरती हेर्दा रेग्मीको काम गर्ने शैली निकै व्यवहारिक र नतिजामुखी देखिन्छ। उनले प्रतीकात्मक वा भाषणको राजनीति भन्दा माथि उठेर नागरिकका दैनिक जीवनसँग जोडिएका विषयमा बढी चासो राखेको देखिन्छ।
यात्कासारीमा निर्माण हुन लागेको खेलकुद तथा पौडी पोखरी केन्द्रको बहसमा होस् वा कालासातामा र भिकिनरान्ताका योजनाहरूमा उनले उठाएका प्रश्न र राखेका तर्कले नगर सभामा धेरैको ध्यान खिच्यो।
“हरियाली र वातावरणीय योजनाहरू केवल वातावरणीय लक्ष्य मात्र नभएर आर्थिक र प्राविधिक रूपमा पनि विवेकपूर्ण हुन्।” भन्ने रेग्मीको तर्कलाई दक्षिणपन्थी र वामपन्थी दुवै धारका राजनीतिज्ञहरूले गम्भिर रुपमा मनन गरेको अनुभव रेग्मीले सुनाए।
पर्यावरणको सवालमा फिनल्यान्ड विश्वकै अग्रणी मानिन्छ। रेग्मीले भने यसलाई केवल आदर्शवादका रूपमा मात्र नभएर आर्थिक बुद्धिमत्ताको रूपमा पनि व्याख्या गर्छन्।
गत वर्ष हेलसिन्कीको स्थानीय राजनीतिमा सम्भवतः सबैभन्दा चर्चामा रहेको प्रोजेक्ट वेस्ट हार्बर टनेल प्रोजेक्ट अर्थात् Satamatunneli लाई उनले तीन वटा मुख्य सुझावहरू सहित समर्थन गरेका थिए।
कामको अनुमति दिनुअघि वातावरणमा पर्ने असरबारे निष्पक्ष जाँच हुनुपर्ने, सकेसम्म धेरै स्वदेशी रोजगारी सिर्जना हुनुपर्ने र स्थानीय कम्पनीहरूलाई सहभागी गराउनुपर्ने, र काम गर्दा पूर्ण जिम्मेवारीका साथ गरिनुपर्ने उनका सुझाव थिए।
ती मध्ये उनको एउटा सुझाव ग्रहण गरियो र योजनामा समाहित पनि गरियो।

पहिलो पटक नगर परिषदमा पुगेर पहिलो वर्षमै रेग्मीले देखाएको सक्रियता लोभलाग्दो छ। तैपनि पहिलो कार्यकाल सजिलो भने यहीँका रैथाने राजनीतिज्ञका लागि पनि हुँदैन। रेग्मीको हकमा पनि त्यो लागु हुन्छ।
“पहिलो कार्यकालका आफ्नै सीमितताहरू हुन्छन्,” रेग्मी भन्छन्। “धेरै कुराहरू बुझ्नु पर्ने र सिक्नु पर्ने हुन्छ। तर पनि सकेसम्म सबै कुरा बुझेर र राम्रो तयारी सहित काम गर्ने र बोल्ने गरेको छु।”
उनको पछिल्लो सक्रियतालाई धेरैले २०२७ को संसदीय निर्वाचनको तयारीका रूपमा पनि हेरेका छन्।
नगर राजनीतिमा उनले देखाएको परिपक्वता र जटिल मुद्दाहरूमा राख्ने स्पष्ट धारणाले उनलाई राष्ट्रिय राजनीतिको बलियो दाबेदार बनाउँदै लगेको देखिन्छ। यद्यपि संसदीय निर्वाचनमा भाग लिने वा नलिने अहिले भन्न नसकिने रेग्मीले बताए।
जनतासँग जोडिएका तीन प्रमुख पहल
आफ्नो राय राख्ने कुरा एउटा भयो तर नगर र नगरवासीको हितका लागि आफ्नै पहलमा केही सुरु गर्नु भएको छ कि छैन भनेर नेपालीलाइनेनले रेग्मीलाई सोधेको थियो।
उनले अहिलेसम्म तीन वटा महत्त्वपूर्ण प्रस्ताव अगाडि सारेको र ती प्रस्तावहरू सिधै आम नागरिकको जीवनमा प्रभाव पार्ने खाले रहेको बताए।
रेग्मीको पहिलो प्रस्ताव हो कालासातामा र इताकेस्कुस बिचमा एउटा सामुदायिक घर अर्थात् Yhteisötalo स्थापना गर्नेबारे सम्भाव्यता अध्ययन। उनका अनुसार यस्तो सामुदायिक घरले मान्छेको एक्लोपन हटाउन र समुदायलाई जोड्न मद्दत गर्नेछ।
सिफ्टमा काम गर्ने श्रमिक, युवा र मुख्य सहरभन्दा टाढा बस्नेहरूका लागि साँझ र रातको समयमा बस सेवाको गुणस्तर सुधार्ने प्रस्ताव रेग्मीको दोस्रो प्रस्ताव हो। यो विषय विशेष गरी आप्रवासी समुदायका लागि निकै महत्त्वपूर्ण हुने रेग्मीले उल्लेख गरे।
रेग्मीको तेस्रो प्रस्ताव चाहिँ एक्लै काम गर्ने ‘सोलो’ र साना उद्यमीहरूलाई सहरले दिने सेवा र सुविधाहरूमा पहुँच पुर्याउने विषयसँग सम्बन्धित छ। उनको विचारमा यो पनि निकै महत्त्वपूर्ण छ र यसबाट आप्रवासी र यहीँका रैथानेहरू पनि बराबर लाभान्वित हुनेछन्।

पर्दा पछाडिको मेहनत
आप्रवासी समुदायलाई सुसूचित गर्न रेग्मीले चालेका कदमहरू पनि प्रशंसनीय छन्। लगभग हरेक साता उनले कुनै न कुनै महत्त्वपूर्ण विषयमा सामाजिक सञ्जाल मार्फत जानकारी दिने गरेका छन्। त्यो पनि विभिन्न भाषामा।
विशेष गरी विभिन्न अध्यागमन नियमहरूको चर्चा र व्याख्या, नगरका सुविधाहरूको पहुँच, र भाषा कक्षा सञ्चालनसम्मका महत्त्वपूर्ण विषयहरूमा जानकारी दिन उनले धेरै ठुलो मेहनत गरेको प्रस्टै देखिन्छ।
सहरमा भइरहेका धेरै सकारात्मक परिवर्तनहरू र विभिन्न तहका नीतिगत कामका पछाडि रेग्मीको अदृश्य तर कडा परिश्रम र ऊर्जा खर्च भइरहेको छ, जसले गर्दा अप्रत्यक्ष रूपमा धेरैको जीवन सहज बनेको छ।
जनसमुदायका लागि एक प्रतिबद्ध पाइला
नगर परिषदमा काम गर्नु भनेको सांसदहरूको जस्तो तलब सुविधा लिएर गरिने पूर्णकालीन राजनीतिक जागिर होइन। यो समाज सेवाप्रतिको एउटा दायित्व हो। रेग्मी आफै पनि एक पूर्णकालीन रोजगारीमा आबद्ध छन्, जसले गर्दा समय व्यवस्थापन उनका लागि सधैँ निकै चुनौतीपूर्ण रहँदै आएको छ।
नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रममा निम्ता पनि आउँछन्, तर सबैमा जान सम्भव हुँदैन। कसैले त गुनासो नै गर्छन् र त्यस्तो गुनासो नेपालीलाइनेनले समेत सुनेको छ। हामीले रेग्मीलाई त्यही प्रश्न गर्यौँ।
विभिन्न कार्यक्रमहरूबाट आउने निमन्त्रणा र समुदायको अपेक्षालाई उनले उच्च सम्मान गरेको बताउँछन्। तथापि, सबै कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन सम्भव हुँदैन। यसै सन्दर्भमा देखिएका केही गुनासाहरूलाई सम्बोधन गर्दै उनी भन्छन्:
“सकेसम्म सबै ठाउँमा पुगेर सबैसँग प्रत्यक्ष भेट्न पाए हुन्थ्यो भन्ने मेरो सधैँ चाहना हुन्छ। तर पूर्णकालीन काम, परिवार, नगर परिषद्को जिम्मेवारी, पार्टीको काम र फिनल्यान्ड लगायत विश्वका विभिन्न कुनाबाट सहयोगका लागि आउने अनुरोधहरूको व्यवस्थापन गर्दा समयको निकै अभाव हुन्छ।”
केही कार्यक्रममा उपस्थित हुन नसके पनि अप्ठ्यारोमा परेका व्यक्तिहरूका लागि सहयोग गर्न रेग्मी सधैँ तत्पर र उपलब्ध छन्। उनी भौतिक उपस्थितिलाई भन्दा परिणाममुखी सहयोगलाई प्राथमिकता दिन्छन्।
नगर परिषद्को सदस्य चुनिए यता उनले दर्जनौँ नेपालीलाई प्रत्यक्ष सहयोग गरेका छन् र मार्गदर्शन दिएका छन्। इमिग्रेसनको समस्यादेखि काम नपाएर सम्पर्क गर्नेहरूसम्म हुन्छन्। हरेक दिन अनेकौँ कल र सामाजिक सञ्जालमा मेसेज आउँछन्। त्यो पनि हेलसिन्कीबाट मात्र हैन फिनल्यान्डका अन्य सहरहरूमा बस्ने नेपालीले पनि उनलाई सम्पर्क गर्छन्।
उनले समुदायसँगको सम्पर्कलाई जीवन्त राख्न फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, लिङ्कडइन, टिकटक र इमेलमा आउने हरेक जिज्ञासाको सम्बोधन गर्ने र हरेक फोन कलको जवाफ र समस्या समाधानका लागि पहल गर्ने गरेको बताए।
आफूलाई विश्वास गरेर जिताउने मतदाताहरूप्रति सधैँ उत्तरदायी रहेको र कसैलाई कुनै पनि विषयमा छलफल गर्नु परे वा कुनै समस्या परे सिधै सम्पर्क गर्न उनले अनुरोध गरे।
“म तपाईँहरूकै साथमा छु र मतदाताहरूले मलाई सुम्पेको जिम्मेवारी र कार्यभार पुरा गर्न म हरदम प्रतिबद्ध छु,” उनी भन्छन्।

आफ्नो पार्टी एसडीपीका विभिन्न नेताहरूसँग उनले सहरका विभिन्न क्षेत्रमा सहरवासीहरू भेट्ने र अन्तरक्रिया गर्ने काम भने नियमित गरिरहेका छन्। त्यसमा नेपाली र अन्य आप्रवासीहरूसँग पनि उनको भेटघाट र भलाकुसारी भइरहन्छ।
समुदायले आयोजना गरेका कार्यक्रममा सहभागी हुन भ्याउन् वा नभ्याउन् तर एउटा कुरा भने प्रस्टै छ-जब उनी हेलसिन्कीको नगर सभामा ठाडो शिर बनाएर बोल्न उभिन्छन्, त्यति बेला हेलसिन्की मात्र हैन फिनल्यान्डमै बस्ने हरेक नेपालीको मनमा गर्वको संञ्चार हुन्छ।
(सम्पादकीय नोट: उनलाई मत दिने मतदाताहरू उनको कामप्रति कत्तिको जानकार र सन्तुष्ट छन् भनेर नेपालीलाइनेनले यो स्टोरीका लागि सोधेको छैन। तर भविष्यमा त्यो खाले स्टोरी पनि गर्ने हाम्रो योजना छ। साथै फिनल्यान्डका अन्य सहरमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधिको अनुभव पनि प्रस्तुत गर्ने हाम्रो तयारी छ।)





