संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डदेखि चितवनसम्मः केटाकेटीलाई सित्तैमा कोडिङ सिकाउने ‘किड्स कोड’ को कथा

किड्स कोड व्यापारिक मोडल भन्दा बढि सामाजिक उत्तरदायित्व हो। नेपाल जस्तो विकासोन्मुख देशका लागि यस्ता पोर्टलहरु त बरदान नै सावित हुन सक्छन्।

पछिल्लो समय नेपालमा निकै चर्चा गरिएको क्षेत्र हो आइटी। त्यसमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) को चर्चा त झनै संसारभरि नै छ।

आइटी क्षेत्रको विकासले नेपाली अर्थतन्त्रको कायापलट गर्न सक्छ र बेरोजगार युवाहरूका लागि नयाँ भविष्य कोरिदिन्छ भन्ने भाष्य र भाषण त सुनिएकै हो। तर केही संस्थाहरूले भने भविष्यमा आउने आइटी र एआईको लहरका लागि आवश्यक जनशक्ति तयार पार्न अहिलेदेखि नै काम थालिसकेका छन्।

यस्तै एउटा संस्था हो फिनल्यान्डमा बस्ने नेपालीको अग्रसरतामा उम्रिएको र हाल विभिन्न देशमा हाँगा फैलाएको उनेल्मा प्लाटफर्मस्

मूल कम्पनीको रुपमा एस्टोनियामा दर्ता र नेपाल, क्यानडा र अमरिकाजस्ता मुलुकमा समेत रजिस्टर भएको यो संस्थाले करिब डेढ दशकदेखि आइटी र प्रविधिको क्षेत्रमा काम गरिरहेको छ। उनेल्मा आफैमा फिनिस शब्द हो, जसको अर्थ हो-सपना, अनि भिजन पनि।

उनेल्माका संस्थापक नेपाली मूलका डा. सन्तोष कलवार हुन्। धेरै वर्ष पहिले विद्यार्थीको रूपमा फिनल्यान्ड आएका डा. कलवारले यहीँबाटै सूचना प्रविधिमा पिएचडी गरेका हुन्।

नेपालमा समेत सक्रिय रहेको उनेल्माले प्रयोगकर्तालाई भर्चुअल कार्डको सुविधा समेत दिने उनेल्मा पे (UPay, Unelma Pay) जस्ता डिजिटल भुक्तानी सेवाहरू पनि सञ्चालन गरिरहेको छ। नेपालमा UPay प्लेन-बसका टिकेट काट्ने देखि अनेकौँ प्रयोजनका लागि प्रयोग गरिन्छ।

उनेल्मा प्लाटफर्मस्का शाखाहरू क्यानडा, अमेरिका लगायतका मुलुकमा रहेपनि प्राविधिक विकासको मुख्य काम भने फिनल्यान्डको एस्पो र नेपालको चितवनबाट हुने गर्छ। फिनल्यान्डका कैयौँ विद्यार्थीहरूले चितवन पुगेर उनेल्माको कार्यालयमा इन्टर्नसिप समेत गर्ने गरेका छन्।

उक्त कम्पनीले केही समय अगाडी सार्वजनिक गरेको किड्स कोड (KidsCode.fi) नामक बालबालिकालाई सित्तैमा कोडिङ सिकाउने प्लेटफर्मका बारे जानकारी पाएपछि हामीले उनेल्माको टिमलाई सम्पर्क गरेका छौँ र यो स्टोरी हामीले सोही विषयमा केन्द्रित रहेर लेखेका छौँ।

किड्स कोडले कसरी काम गर्छ?

किड्स कोडको सुरुवात, विकास, र यसको लक्ष्यबारे उनेल्मा प्लाटफर्मस्को नेपाल कार्यालय नेतृत्व गरिरहेका अमित कलवारसँग नेपालीलाइनेनले लामो कुराकानी गरेको छ।

अमितका अनुसार किड्स कोड ७ देखि १५ वर्षका बालबालिकाका लागि लक्षित छ, र यसको मुख्य उद्देश्य रमाइलो पाराले बालबालिकालाई कोडिङ/प्रोग्रामिङ सिकाउनु हो।

कोडिङ सिक्नु धेरैका लागि गणितको कठिन सूत्र हल गर्नुजस्तै बोझिलो लाग्छ। तर किड्स कोडले यसलाई रमाईलो खेलमा बदलिदिएको छ र ‘भिजुअल टु टेक्स्ट’ ट्रान्जिसनको विशेष प्रविधि अपनाएको छ।

किड्स कोडमा कोडिङ सिक्ने बालबालिकाहरूले सुरुमा ब्लकहरू जोडेर एनिमेसन बनाउँछन्, र जब उनीहरूमा आत्मविश्वास बढ्छ, बिस्तारै मुख्य प्रोग्रामिङ भाषाहरू जस्तै जाभास्क्रिप्ट, पाइथन, र HTML/CSS सिक्न थाल्छन्।

यसमा १० भन्दा बढी क्रमिक पाठहरू, प्रोजेक्ट टेम्पलेटहरू र विद्यार्थीहरूको प्रगति मापन गर्ने ‘एचिभमेन्ट सिस्टम’ समेत राखिएको छ।

कोडिङ सिक्नु धेरैका लागि गणितको कठिन सूत्र हल गर्नु जस्तै बोझिलो लाग्छ। तर किड्स कोडले यसलाई खेलमा बदलेको छ

फिनल्यान्डको एस्पोमा उनेल्मा प्लाटफर्मसँग आबद्ध इन्टर्न, विद्यार्थी, र फ्रिलान्सर डेभलपरहरुसहितको टिम। 

फिनल्यान्डसँगको सामीप्यता

विश्व स्तरमा पुग्ने लक्ष्य भएका वेभसाइटमा साधरणतया डट कम, डट नेट अथवा डट ओआरजी डोमेनहरू राख्ने गरेको पाइन्छ। तर किड्स कोडले चाहिँ किन डट एफ आइ (.fi) राख्यो भनेर पनि हामीले अमितलाई सोधेका थियौँ।

उनका अनुसार संसारभरि शिक्षाको गुणस्तरको कुरा चल्दा फिनल्यान्डको नाम अग्रपङ्क्तिमा आउँछ, र किड्स कोडको डोमेनमा फिनल्यान्डको कन्ट्री कोड रोज्नुको पछाडि पनि यही कारण लुकेको छ। त्यसमाथि उनेल्मा प्लाटफर्म्सको फिनल्यान्डसँगको सम्बन्ध त हुने नै भयो। अनि प्रविधिको दुनियामा नोकियादेखि लिनक्स निकाल्ने फिनल्यान्डको इतिहास त छँदै छ।

अमितका अनुसार किड्स कोड व्यापारिक मोडल भन्दा बढी सामाजिक उत्तरदायित्व हो। नेपालजस्तो विकासोन्मुख देशका लागि यस्ता पोर्टलहरु वरदान नै साबित हुन सक्ने उनको अनुमान छ।

नेपालका सरकारी विद्यालयमा पढ्ने धेरै विद्यार्थीहरू कम्प्युटर शिक्षाको सामान्य अनुभव गर्न पाए पनि त्यसको भित्री संसार र गहिराइ बुझ्ने अवसर नपाएको उनी बताउँछन्।

उनका अनुसार किड्स कोडजस्ता सुरुवातले सम्भावनाको नयाँ ढोका खोल्छन् र अन्ततः डिजिटल डिभाइड कम गर्न सहयोग गर्छन्। उदाहरणका लागि किड्स कोड प्रयोगकर्ताले कुनै विशेष सफ्टवेयर डाउनलोड नगरी साधारण ब्राउजरमै प्रोग्रामिङ सिक्न सक्छन्।

किड्स कोडको यात्रामा चुनौतीहरू नभएका होइनन्। अमितका अनुसार स्क्र्याचजस्ता स्थापित प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्नु र नेपाली बजारमा कोडिङको महत्त्व बुझाउनु अझै पनि निकै चुनौतीपूर्ण छ। तर उनेल्मा टिमको जोस र सङ्कल्पले सफलता प्राप्त हुनेमा उनी आशावादी देखिन्छन्।

एआईका छन् दुवै सम्भावना र चुनौती

कुराकानीको अन्त्यतिर हामीले अमितलाई ‘एआईको जमानामा प्रोग्रामरहरूको भविष्य बाँकी रहला र?’ भनेर सोध्यौँ।

“यो प्रश्न अहिले संसारभरि नै चर्चाको विषय छ,” उनी भन्छन्। “एआई निकै सहयोगी भए पनि यसले मानिसलाई पूर्ण रूपमा अहिले नै प्रतिस्थापन गर्न सक्दैन।”

“आधारभूत ज्ञान त चाहियो नि!” उनी थप्छन्। “जग बलियो नभई एआईको प्रयोग पनि प्रभावकारी हुँदैन। अहिले पनि एआईले धेरै काम गर्छ, तर त्यही एआईलाई राम्रोसँग चलाउन पनि मानिस भने चाहिन्छ। “

हुन त एआई आफैमा पनि मान्छेले नै बनाएका हुन्। हामीले हरेक दिन प्रयोग गर्ने जादुमयी एआई प्रविधिका पछाडि हजारौँ-लाखौँ लाइनका कोड हुन्छन्, ती सुरुमा त मान्छेले नै लेखेका हुन्।

त्यसको अर्थ हो प्रोग्रामिङ जान्ने मान्छेले त एआई जस्तै नयाँ-नयाँ आविष्कार गर्न सक्ने भए।

“२१औँ शताब्दीको शिक्षा पढ्नु र लेख्नुमा मात्र सीमित छैन,” अमित भन्छन्। “कोड बुझ्नु र प्रविधिसँग संवाद गर्नु त अब साधारण शिक्षाको परिधिभित्र आइसक्यो।”

अर्थात् भविष्य त्यहाँ छ जहाँ प्रविधिलाई बुझ्ने र चलाउने विवेक छ। त्यसैले त किड्स कोडले कोडिङ त सिकाउँछ नै, त्यसका अलावा बालबालिकालाई लजिकल सोचाई र समस्या समाधान गर्ने क्षमता अर्थात् प्रब्लम सल्भिङ पनि सिकाउँछ।

फिनल्यान्डको एस्पो र चितवनको एउटा कुनाबाट सुरु भएको यो सानो प्रयासले यदि भोलि एक जना मात्रै पनि नेपाली बालबालिकालाई विश्वव्यापी प्रविधि बजारमा प्रतिस्पर्धा गर्न योग्य बनायो भने, त्यो नै किड्स कोडउनेल्मा प्लाटफर्म्सको वास्तविक सफलता हुनेछ।

(किड्स कोडको बारेमा थप जानकारी चाहिए वा साझेदारी गर्ने इच्छा भए उनेल्माका अमितलाई ह्वाट्सएप मार्फत +977 9824283749 मा सम्पर्क गर्न सकिन्छ।)

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप