विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्ड निरन्तर रुसी साइबर आक्रमणको सिकार: बोलाइयो राजदूत, सोधिनेछ स्पष्टीकरण

फिनल्यान्ड र युरोपका अन्य देशहरूमा रुसले गरिरहेको साइबर आक्रमणको विरोध गर्दै परराष्ट्र मन्त्री एलिना भाल्तोनेनले रुसी राजदूतसँग स्पष्टीकरण मागेकी हुन्।

संक्षेपमा


  • फिनल्यान्डसहित १० युरोपेली देशमा रुसी साइबर आक्रमण।
  • रुसी राजदूतलाई स्पष्टीकरणको लागि बोलावट।
  • आक्रमणबाट हालसम्म फिनल्यान्डमा गम्भीर क्षति नभएको ‘सुपो’को भनाइ।

फिनल्यान्ड र युरोपका अन्य केही देशहरुमा बढ्दो साइबर आक्रमणको विरोध गर्दै फिनल्यान्डले रुसी राजदूतलाई स्पष्टीकरणको लागि बोलाएको छ। परराष्ट्र मन्त्री एलिना भाल्तोनेनले रुसको ‘हानिकारक’ साइबर गतिविधिको कडा शब्दमा निन्दा गरेकी छन्।

फिनल्यान्डसहित कम्तीमा १० युरोपेली देशहरू रुसी साइबर आक्रमणको सिकार भएका छन्। फ्रान्स, बेलायत र जर्मनीले पनि आफ्ना देशमा रहेका रुसी राजदूतहरूलाई बोलाएर यसबारे सोधपुछ गरेका छन्।

फिनिस सुरक्षा खुफिया सेवा ‘सुपो’ र सैन्य जासुसी संस्थाले रुसी सुरक्षा सेवा ‘एफएसबी’ले गरिरहेको साइबर जासुसीबारे चेतावनी दिएका छन्।

सुपोका अनुसार फिनल्यान्ड पछिल्लो समय रुसी साइबर अपरेसनको मुख्य तारो बनिरहेको छ।

यस्ता आक्रमणहरू निरन्तर भइरहे पनि फिनल्यान्डमा हालसम्म कुनै गम्भीर क्षति भने पुगेको छैन। रुसले विशेष गरी परराष्ट्र नीति, महत्त्वपूर्ण पूर्वाधार र युक्रेनलाई सहयोग गर्ने कम्पनीहरूलाई लक्षित गरेको देखिएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

रुसले फिनिस प्रणालीका कमजोरीहरू पत्ता लगाएर भविष्यमा हुनसक्ने सम्भावित तोडफोडको तयारी गरिरहेको सुपोको निष्कर्ष छ। यद्यपि, तत्कालका लागि रुसले महत्त्वपूर्ण पूर्वाधारहरू नै ठप्प पार्ने सम्भावना भने कम रहेको सुपोको आकलन छ।

फिनल्यान्ड नेटो सदस्य बनेपछि रुसले साइबर आक्रमण लगायतका माध्यमबाट दबाब बढाउने प्रयास गरिरहेको छ। युक्रेनमाथिको रुसी आक्रमणको विरोध गर्दै फिनल्यान्डले युक्रेनलाई निरन्तर सैन्य तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

फिनल्यान्डमा अहिले करिब ४६,००० युक्रेनी शरणार्थी रहेको सरकारी तथ्याङ्कहरू देखाउँछन्।

साइबर सुरक्षाको दृष्टिकोणले फिनल्यान्ड विश्वमै बलियो देश मानिन्छ। यसै कारण रुसी जासुस र ह्याकरहरूले यहाँका सरकारी तथा निजी प्रणालीहरूमा सजिलै क्षति भने पुर्‍याउन नसकेको देखिन्छ।

ठूलो स्तरको साइबर आक्रमणको यस्तो हुन्छ असर

फिनल्यान्ड जस्तो उच्च डिजिटल प्रविधिमा निर्भर देशमा ठूलो स्तरको साइबर आक्रमण भएमा ऊर्जा ग्रिड, खानेपानी आपूर्ति, र यातायात प्रणाली जस्ता आधारभूत सेवाहरूलाई पूर्ण रूपमा ठप्प पार्न सक्छ।

यदि यस्तो आक्रमणले राष्ट्रिय विद्युत् प्रणालीलाई लक्षित गर्यो भने यसले अस्पताल, सञ्चार सञ्जाल र वित्तीय कारोबारलाई तत्काल अवरुद्ध बनाउँछ, जसले गर्दा जनजीवनमा ठूलो संकट उत्पन्न हुन सक्छ। फिनल्यान्डको भौगोलिक अवस्था र चिसो मौसमलाई ध्यानमा राख्दा लामो समयसम्म विद्युत् वा तताउने प्रणाली बन्द हुनु मानवीय सुरक्षाका लागि गम्भीर चुनौती बन्न जान्छ।

विभिन्न अध्ययनहरूले आधुनिक स्मार्ट ग्रिडहरूमा हुने साइबर आक्रमणले कसरी ‘क्यास्केडिङ फेलियर’ वा एकपछि अर्को प्रणाली ढल्ने अवस्था सिर्जना गर्छ भन्ने कुरालाई स्पष्ट पारेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप