संक्षेपमा
- ४२ वर्षीया शिक्षिकामाथि बालबालिकामाथि गम्भीर यौन दुर्व्यवहारको आरोप।
- प्रहरी अनुसन्धान जारी, आरोपी शिक्षिका हिरासतमा।
- शिक्षिकाको पदबाट अस्थायी निलम्बन।
फिनल्यान्डको उसीमा क्षेत्रमा कार्यरत एक शिक्षिकालाई बालबालिकामाथि गम्भीर यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार पदबाट निलम्बन गरिएको छ। पूर्वी उसिमा जिल्ला अदालतले ४२ वर्षीय ती महिलालाई गत बिहीबार नै हिरासतमा राख्न आदेश दिएको थियो।
शिक्षिकामाथि १ जुन २०२४ देखि २ जुलाई २०२६ को बीचमा अपराध गरेको आरोप छ। फिनल्यान्डको सार्वजनिक प्रसारक YLE का अनुसार उनी कम्तिमा गत शैक्षिक सत्रदेखि कक्षा शिक्षिकाको रूपमा कार्यरत थिइन्।
उनी मे २०२४ देखि उसीमाको एक नगरपालिकामा निरन्तर काम गर्दै आएकी थिइन्। त्यसअघि उनले छोटो समयका लागि विभिन्न पदमा सट्टा शिक्षकको रूपमा काम गरेकी थिइन्।
नगरपालिकालाई गत शुक्रबार मात्र घटनाबारे जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै रोजगारदाताको रूपमा नगरपालिकाले आवश्यक कदम चाल्दै उनलाई अस्थायी रूपमा निलम्बन गरेको हो।
नगरपालिकाबाट अन्तिम निर्णय नभएसम्म उनको निलम्बन कायम रहनेछ।
यस विषयमा प्रहरीका अनुसन्धान प्रमुखले कुनै प्रतिक्रिया दिएका छैनन्। यो अपराध उनको पदीय जिम्मेवारीसँग सम्बन्धित छ वा छैन भन्ने कुरा भने अहिलेसम्म खुल्न सकेको छैन।
फिनल्यान्डमा बालबालिकामाथि हुने यौन अपराधलाई अत्यन्त गम्भीर रूपमा लिइन्छ र यस्ता अपराध प्रमाणित भएमा अपराधीलाई कडा सजाय हुने कानुनी व्यवस्था छ।
यहाँका विद्यालय, डेकेयर वा बालबालिकासँग प्रत्यक्ष सम्पर्क हुने क्षेत्रमा काम गर्ने कुनै पनि व्यक्तिले काम सुरु गर्नुअघि अनिवार्य रूपमा आफ्नो आपराधिक रेकर्ड (Rikosrekisteriote) रोजगारदातालाई बुझाउनुपर्छ।








