संक्षेपमा
- यही जुलाई २४ मा हेलसिन्कीमा नेपाली संस्कृति झल्काउने विशेष पदयात्रा।
- मुख्य लक्ष्य अगस्ट ८ मा हुने ‘नेपाल डे’ को प्रचारप्रसार।
- सहभागीलाई नेपाली झन्डा र परम्परागत पोसाकमा आउन आह्वान।
फिनल्यान्डमा रहेका नेपालीहरूले आगामी नेपाल डे २०२६ को पूर्वसन्ध्यामा हेलसिन्कीमा एक विशेष सामुदायिक पदयात्रा गर्ने भएका छन्। एनआरएनए फिनल्यान्ड र फिनिस नेपाली समाजको आयोजनामा जुलाई २४ तारिख शुक्रबार यो कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार पदयात्रा दिउँसो ३:४५ बजे Sananvapauden Aukio अर्थात् ओडी पुस्तकालयको मुख्य प्रवेशद्वारबाट सुरु हुनेछ। सहभागीहरूलाई दिउँसो ३:३० बजे नै सो स्थानमा भेला हुन आग्रह गरिएको छ।
पदयात्रा Kansalaistori हुँदै Mannerheimintie, र काम्पीको Narinkkatori तर्फ अघि बढ्नेछ। त्यसपछि Lasipalatsinaukio र Simonkatu हुँदै मध्य सहर परिक्रमा गर्ने योजना छ।
अन्तमा, Asema-aukio र Kaivokatu पार गर्दै पदयात्रा सेन्ट्रल रेल स्टेसनमा पुगेर समापन हुनेछ।
बाटोभरि नेपाली सङ्गीत र नृत्यसहितको रमाइलो माहोल रहने आयोजकले बताएका छन्। साथै आयोजकले सबैलाई साना वा ठूला नेपाली झन्डा र परम्परागत पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन्।
पदयात्राको मुख्य उद्देश्य नेपाली र नेपाली मूलका मात्रै नभएर फिनल्यान्डमा बस्ने अरुलाई पनि अगस्ट ८ मा हुने नेपाल डे मा आमन्त्रण गर्नु हो। नाचेर, गाएर वा झन्डा हल्लाएर जसरी पनि सहभागी हुन सकिने आयोजकले खुलाएका छन्।
हरेक व्यक्तिको उपस्थितिले नेपाली समुदायको एकता र उत्सवलाई अर्थपूर्ण बनाउने उनीहरूको भनाइ छ। आयोजकले परिवार र साथीभाइसँगै आएर एक अविस्मरणीय दिन बनाउन सबैमा आग्रह गरेका छन्।
फिनल्यान्डमा नेपाल डे नेपाली डायस्पोराले आयोजना गर्ने सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक हो। यसको सुरुवात गतवर्ष देखि भएको हो।
हेर्नुहोस् गत वर्षको नेपाल डे का बारे नेपालीलाइनेनका समाचार, भिडियो, र फोटो फिचर।








