विज्ञापन

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Subscribe Now
संग्रह गर्नुहोस्।
संग्रहित

आप्रवासीका कट्टर आलोचक फिनिस सांसदलाई बेलायत प्रवेशमा रोक, कारण छ यस्तो

युरोपियन संसदमा फिनल्यान्डको प्रतिनिधित्व गर्ने सांसद् सेबास्टियन त्युन्क्कुनेनलाई उनको विवादास्पद विगत र अभिव्यक्तिका कारण बेलायत प्रवेशमा रोक लगाइएको हो। उनी फिन्स पार्टीका नेता हुन् भने आप्रवासीका कट्टर आलोचक।

संक्षेपमा


  • फिनिस युरोसांसद त्युन्क्कुनेनलाई बेलायत प्रवेशमा रोक।
  • आप्रवासन विरुद्धको अभिव्यक्तिका कारण प्रवेश नदिइएको उनको दाबी।
  • अल्पसंख्यक विरुद्ध घृणा फैलाएको आरोपमा पाएका थिए सजाय।

युरोपेली संसद्का सदस्य सेबास्तियन त्युन्क्कुनेनलाई बेलायत प्रवेशमा रोक लगाइएको छ। उनलाई विवादास्पद अभिव्यक्ति र विगतका कानुनी सजायका कारण प्रवेश रोकिएको हुनसक्ने बताइएको छ।

बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सार्वजनिक गर्दै त्युन्क्कुनेनले आफूलाई बेलायत जानबाट रोकिएको जानकारी दिएका हुन्। उनी त्यहाँ एउटा दक्षिणपन्थी समूहको सम्मेलनमा भाषण गर्न जाँदै थिए।

उनको उडान हुनुभन्दा केही घण्टा अघि मात्रै उनलाई ‘प्रवेश दिन नसकिने’ सन्देश पठाइएको थियो। उक्त सन्देशमा उनको उपस्थिति ‘सार्वजनिक हितमा नहुने’ उल्लेख गरिएको थियो।

सामूहिक आप्रवासनले ल्याउने खतराविरुद्ध आफूले चालेका कदमलाई बेलायतले ‘घृणास्पद अभिव्यक्ति’ मानेको त्युन्क्कुनेनको भनाइ छ।

उनले बेलायती प्रधानमन्त्री कीर स्टारमरलाई लक्षित गर्दै बेलायत वाक् स्वतन्त्रता हननको सबैभन्दा खराब उदाहरण बन्दै गएको आरोप लगाए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

समस्यालाई ध्यानमा राख्ने, कानुन परिवर्तन गर्ने र आप्रवासीहरूलाई घर फर्काउने काम सबै राजनीतिज्ञको हुनुपर्ने उनी भिडियोमा बताउँछन्। भिडियोको अन्त्यतिर उनले बेलायती जनतालाई आफ्नो देशको नेतृत्व परिवर्तन गर्न समेत आग्रह गरेका छन्।

यसअघि आइतबार क्रिश्चियन डेमोक्र्याट्स पार्टीकी सांसद पाइभी रासानेनलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको समाचार सार्वजनिक भएको थियो। रासानेनले विगतमा अल्पसङ्ख्यक विरुद्ध घृणा फैलाएको आरोपमा पाएको सजायका कारण यस्तो भएको हुनसक्ने बताएकी छन्।

रासानेनले जस्तै त्युन्क्कुनेनले पनि फिनल्यान्डमा अल्पसङ्ख्यक समुदायविरुद्ध घृणा फैलाएको आरोपमा तीन पटक सजाय पाइसकेका छन्। उनले मुस्लिमहरुका आस्थाका प्रतीक पैगम्बर मुहम्मदलाई ‘बाल-यौन दुराचारी पैगम्बर’ भनेर समेत सम्बोधन गरेका थिए।

बेलायतले हालैका दिनहरूमा घृणास्पद अभिव्यक्ति दिने वा विवादास्पद पृष्ठभूमि भएका विदेशी राजनीतिज्ञ तथा व्यक्तिहरूलाई प्रवेशाज्ञा (भिसा) वा प्रवेश अनुमति दिन कडाइ गर्दै आएको छ। फिनल्यान्डमा भने यी सांसदहरूले वाक् स्वतन्त्रताको नाममा आफ्नो कट्टर भनाइ राख्दै आएका छन्।

बेलायतले प्रवेश नदिएपछि अचम्मित बनेका उनले सामाजिक सञ्जालमा थप लेखेका छनः

“आज जे भयो, त्यो कुरा अझै मेरो दिमागमा पस्नै सकिरहेको छैन। युरोपमा अभिव्यक्ति स्वतन्त्रता यति धेरै खस्किसकेको होला भन्ने मैले कहिल्यै सोचेको पनि थिइनँ। अब त राजनीतिक विचारकै आधारमा देश प्रवेशमा रोक लगाउने अवस्था आइसकेछ, त्यो पनि तब, जब तपाईँ महिलाहरूलाई बर्बरताबाट बचाउने कुरा गर्दै हुनुहुन्छ। लाग्छ, अब त मैले मेरो पासपोर्ट समुद्रमा फ्याँकेर अवैध बाटो हुँदै लुकेर छिर्नुपर्ने भयो। त्यसो गर्‍यो भने त सजिलै छिर्न पनि पाइने र उल्टै सहयोग पनि पाउने रहेछन्। अहिले त्यहाँका मान्छेहरूले ठ्याक्कै त्यही त गरिरहेका छन्।”

त्यसपछिको अर्को पोस्टमा उनी लेख्छन्ः

“बलात्कारीहरू बेलायत छिर्न पाउँछन्। आतंककारीहरू बेलायत छिर्न पाउँछन्। हिंसात्मक अपराधीहरू बेलायत छिर्न पाउँछन्। तर एकजना युरोपेली सांसदलाई चाहिँ ‘सार्वजनिक हितविपरीत’ भन्दै देश प्रवेशमा रोक लगाइन्छ। कस्तो अचम्मको प्राथमिकता हो यो!”

को हुन् त्युन्क्कुनेन?

३७ वर्षीय त्युन्क्कुनेन फिन्स पार्टीका नेता हुन्। उनी हाल युरोपेली कन्जरभेटिभ्स एण्ड रिफर्मिस्ट्स समूहबाट युरोपेली संसद्का सदस्य छन्। उनी उक्त पार्टीका सबैभन्दा चर्चित र विवादित नेतामध्ये एक मानिन्छन्।

उनले उच्च माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका छन्। सन् २०२४ को युरोपेली संसदीय चुनावमा उनी आफ्नो पार्टीबाट निर्वाचित हुने एक्ला प्रतिनिधि हुन्। यसअघि उनी दुई कार्यकालका लागि फिनल्यान्डको सांसद थिए। उनले फिन्स पार्टीको उपाध्यक्ष, पार्टीको युवा सङ्गठनको अध्यक्ष र औलु सहरको काउन्सिलरको रूपमा पनि काम गरिसकेका छन्।

त्युन्क्कुनेनले १५ वर्षको उमेरमा आफूलाई ‘बाइसेक्सुअल’ (उभयलिङ्गी ) भएको महसुस गरेको बताएका थिए। पछि उनले आफू समलिङ्गी भएको बताए। आप्रवासीका कट्टर आलोचक मानिने त्युन्क्कुनेनका श्रीमान्/पार्टनर भने अफ्रिकी मुलुक मोजाम्बिकका हुन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप