संग्रह गर्नुहोस्।
संग्रहित

‘बुढेसकालमा पछुताउनुभन्दा उमेर छँदै नेपालमा केही गरौँ भन्ने सोचले फिनल्यान्ड छोडेँ’

काफ्ले भन्छन्ः नेपाली समाज त हामीले भोगेकै समाज हो। यहाँजस्तो सहज त पक्कै छैन, तर लड्न र सङ्घर्ष गर्न सकिन्छ। विदेशमा बसेर हामीले दुःख गर्न र व्यावहारिक हुन सिकिसकेका छौँ, त्यसैले नेपालमा गएर काम गर्न हामीलाई समस्या वा लाज हुँदैन।

गत सोमबार नेपालीलाइनेनले सम्पर्क गर्दा जगन्नाथ काफ्ले आफ्ना सुटकेसहरू प्याक गरी सोफामा सुस्ताइरहेका थिए। उनी आफ्नो करिब १९ वर्ष लामो फिनल्यान्ड बसाइलाई बिट मार्दै नेपाल फर्किने अन्तिम तरखरमा थिए।

फिनल्यान्डको नेपाली समाजमा परिचित नाम बनेका काफ्ले सन् २००७ मा नेपालबाट फिनल्यान्ड आएका हुन्। यहाँको बसाइँका क्रममा उनले अनेक अनुभव बटुले। अध्ययन, व्यापार, र विभिन्न कामहरू गरे। अहिले तुर्कु विश्वविद्यालयबाट ‘इकोनोमिक जियोग्राफी’मा पिएचडी अध्ययन लगभग सकेका छन्, तर डिफेन्स भने बाँकी छ।

अब भने उनले स्थायी रूपमा नेपाल फर्कने निर्णय गरेका छन्, र फर्किसकेका छन्।

उनी अहिले नै नेपाल किन फर्किए? फर्किएपछि के गर्ने योजना छ? र, उनीजस्तै फर्किने सोच बनाइरहेका अरू नेपालीलाई उनी के सन्देश दिन चाहन्छन्? यिनै विषयमा नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश।

तपाईं लामो फिनल्यान्ड बसाइँलाई बिट मार्दै भोलि नेपाल फर्किँदै हुनुहुन्छ। अहिले नै नेपाल फर्किने निर्णय कसरी लिनुभयो? यो अहिलेको राजनीतिक परिस्थितिले ल्याएको हो कि पहिलेदेखि नै फर्किने योजना थियो?

योजना मेरो पहिले देखिकै हो। यहाँको बिजनेस छोडेपछि एकचोटी नेपाल गएर हामीले केही सुरु पनि गरेका थियौँ। तर कोभिडको कारणले गर्दा त्यहाँको बिजनेस आफैँले सञ्चालन गर्न नसकिने भयो। दुई-तीन वर्ष जति आउन-जान पनि गाह्रो भयो। त्यसपछि ‘म जसरी पनि नेपाल जान्छु’ भनेर दृढ भएँ। अर्को कुरा मलाई अलिकति देशभक्ति जागेर हो कि, हामीले आफ्नो जन्मभूमि छोडेर सधैँ प्रवासी हुनु हुँदैन, मातृभूमिप्रतिको दायित्व पनि हुन्छ जस्तो लाग्यो।

म जति यहाँ बस्छु ‘तैँले आफ्नो लागि त गरिस् तर शरीर र दिमाग दिएको देशको लागि चाहिँ के गरिस्?’ भन्ने प्रश्न दिमागमा आउन थाल्यो। जन्मेर मात्र हुँदैन, आफ्नो दायित्व पूरा गर्न जरुरी छ भन्ने पनि लाग्यो। संसारका २७-२८ वटा देश घुमियो, तर जहाँ गए पनि आफ्नो वास्तविकता आफैँसँग हुने रहेछ। पुस्तौँ पछाडि पनि पहिचानको सङ्कट वा आइडेन्टीटी क्राइसिस  महत्त्वपूर्ण हुने रहेछ।

फिनल्यान्डमा हेर्नुहोस् न यहाँका मानिसले आफ्नो देश र भाषाको लागि कति गरेका छन्। हामीले पनि आफ्नो देशलाई बिर्सिनु हुँदैन भन्ने लाग्यो। बुढेसकालमा पछुताउनुभन्दा उमेर छँदै गएर केही गरौँ भन्ने सोच बनाएर फर्कने निर्णय गरेको हुँ।

नेपाल गएर केही गर्ने योजना छ कि साथीहरूसँग सल्लाह गरेर अघि बढ्ने सोचमा हुनुहुन्छ?

हामीसँग एउटा कृषि लिङ्क पनि छ। म त्यहाँ गएर सामाजिक-आर्थिक र दिगो विकास सम्बन्धी अनुसन्धान र अभ्यास गर्छु भन्ने सोच र अठोट लिएको छु।

तपाईँ राजदूत वा कुनै राजनीतिक नियुक्ति लिन जाँदै हुनुहुन्छ कि भन्ने हल्ला पनि सुनियो? यो सत्य हो कि होइन?

होइन, त्यो सत्य होइन। विदेशमा बसेको मान्छेलाई ‘तिमीलाई यो दिन्छु आऊ’ भनेर कसैले भन्दैन र भन्न पनि मिल्दैन। अहिलेसम्म म यहाँको बासिन्दा हुँ, त्यहाँ गएर सीधै राजनीतिक नियुक्ति लिन मिल्दैन। तर यदि सरकारलाई मेरो आवश्यकता महसुस भयो र कुनै ठाउँमा काम गर्ने अवसर दियो भने म पक्कै गर्छु।

तपाईँले मेरा लेखहरू हेर्नुभयो भने थाहा पाउनुहुन्छ, मैले प्रधानमन्त्रीलाई लक्षित गरेर ‘सिलिकन भ्यालीको कन्सेप्ट’ र कोसी कोरिडोरको सम्भाव्यताबारे लेखेको छु। त्यो क्षेत्रमा काम गर्न मन छ। मैले दिगो कृषिमा लामो अनुसन्धान गरेको छु र नेपालमा यसको धेरै आवश्यकता देखेको छु।

मैले ‘कम्युनिटी सेफ्टी नेट इकोनोमिक्स’ को अवधारणा पनि अघि सारेको छु। नर्डिक देशहरूमा सामाजिक सुरक्षा सरकारले हेर्छ, तर हाम्रोजस्तो गरिब देशमा त्यसको दिगो स्रोत छैन। त्यसैले दिगो कृषि र दिगो विकासलाई जोडेर मैले ब्लग र आर्टिकल पनि लेखेको छु।

म विशेष गरी स्थानीय विकास, दिगो विकास, र कृषि पर्यटन जस्ता क्षेत्रमा फिनल्यान्डको भन्दा नेपालमै बढी आवश्यकता र सम्भावना देखेर १०/१२ बिगाहा जग्गा जोडेर अनुसन्धान र अभ्यास दुवैलाई सँगै लैजाने योजनामा छु।

गत मंगलबार हेलसिन्की एयरपोर्टमा काफ्ले।

तपाईँ करिब १८-१९ वर्ष फिनल्यान्ड बस्नुभयो। यहाँ बस्दा तपाईँले धेरै अनुभव बटुल्नु भयो होला। फिनल्यान्डमा भएका तर नेपालमा नभएका कुनै त्यस्ता दुई-चारवटा कुरा छन्, जसलाई नेपालमा तत्कालै लागु गर्न सकिन्छ?

मैले अघिल्लो सरकारका अर्थमन्त्री र शिक्षामन्त्रीलाई भेटेर अनि प्रधानमन्त्रीलाई सम्बोधन गरेर केही कुरा राखेको थिएँ। पछि भौतिक पूर्वाधार मन्त्रीलाई पनि काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन कसरी सुधार्न सकिन्छ भनेर प्रस्ताव राखेको थिएँ।

एयरपोर्टमा ओर्लिने बित्तिकै सुधार गर्नुपर्ने कुराहरू धेरै देखिन्छन्। यसका लागि म सरकारको ढोका ढकढकाउँछु। प्रविधि हस्तान्तरण, शिक्षा, सामाजिक सुरक्षा, स्थानीय तह र कृषिमा आमूल परिवर्तन गर्नुपर्नेछ। अनुसन्धानका क्रममा नीति निर्माता र किसानबीच धेरै ठुलो खाडल देखेको छु। उदाहरणका लागि फिनल्यान्डमा सामान्य रेस्टुरेन्टमा काम गर्न पनि हाइजिन पास चाहिन्छ, तर नेपालमा त्यो स्तरको सरसफाइ मापदण्ड छैन। यी सबै क्षेत्रमा सुधारको आवश्यकता छ।

नेपालमा यस्ता कुराहरू राख्दा अस्वीकार नै त गरिँदैन, तर गम्भीरतापूर्वक लिएर अघि नबढाउने पुरानो नेतृत्वको समस्या थियो। अहिलेको नेतृत्व तहमा तपाईँको सम्पर्क र पहुँच पनि छ। कत्तिको आशावादी हुनुहुन्छ?

म अहिले आशावादी छु। मेरै जिल्ला र आसपासका सांसदहरूले ‘तपाईँजस्तो अनुभव, अनुसन्धान र शिक्षा भएको मान्छे आउनुपर्छ, हामी सहकार्य गर्न तयार छौँ’ भन्नुभएको छ। कम्तीमा १० जना सांसदलाई एकै ठाउँमा राखेर आफूले बुझेका कुराहरू नीति निर्माण र संसद्‌मा उठाउन लगाउन सक्छु जस्तो लाग्छ।

मलाई ज्ञान र प्रविधि हस्तान्तरणमा काम गर्न मन छ। फोहोर व्यवस्थापनदेखि लिएर बेकरी र डेरी उत्पादनहरूको गुणस्तरमा यहाँको प्रविधि नेपाल लैजान सके धेरै राम्रो हुने थियो।

तपाईँ अब स्थायी रूपमै नेपाल जाँदै हुनुहुन्छ। फिनल्यान्डसँगको तपाईँको सम्बन्ध अब कस्तो रहन्छ? र नेपाल गएपछि फिनल्यान्डको कुन कुरा सबैभन्दा बढी मिस गर्नुहुन्छ होला?

मलाई यहाँको स्वच्छ हावा र वातावरण एकदमै याद आउनेछ। त्यसबाहेक यहाँको ‘सिस्टम’ (प्रणाली) धेरै मिस हुनेछ। मैले नेपालबाट आउँदा खासै केही सिकेको रहेनछु। तरकारी काट्ने, घर सफा गर्नेदेखि धेरै व्यावहारिक कुराहरू मैले फिनल्यान्डमै सिकेँ भनौँ।

यहाँ साना-साना कुराहरूमा पनि सिस्टम बनाइन्छ र ध्यान दिइन्छ। नेपालमा धेरै कुरा लथालिङ्ग छन्। अहिलेको सरकारले काम छिटोछरितो गर्न थालेको छ भन्ने सुनिएको छ, तर आफैँले अनुभव गर्न बाँकी छ। यहाँको सिस्टम, प्रविधि, र खाद्य स्वच्छता मलाई पक्कै पनि मिस हुनेछ।

तर बेलाबेलामा त यता पनि आउनुहुन्छ होला नि?

मेरो सोच के छ भने यहाँको विश्वविद्यालयसँगको सम्बन्धलाई निरन्तरता दिँदै नेपाल र फिनल्यान्डलाई जोड्ने किसिमको अनुसन्धान गर्छु। मलाई ज्ञान र प्रविधि हस्तान्तरणमा काम गर्न मन छ। फोहोर व्यवस्थापनदेखि लिएर बेकरी र डेरी उत्पादनहरूको गुणस्तरमा यहाँको प्रविधि नेपाल लैजान सके धेरै राम्रो हुने थियो।

काठमाडौँको यातायात व्यवस्थापन सुधार्न पनि यहाँको प्रणालीलाई त्यहाँ परिचित गराउन सकिन्छ। म लामो समय दक्षिण एसियाली देशहरूका सामानको व्यापारमा पनि संलग्न थिएँ। नेपालका उत्पादनहरूले यहाँको गुणस्तर मापदण्ड पूरा गर्न नसक्दा निर्यात गर्न गाह्रो छ। यस्ता कुराहरूमा फिनल्यान्डसँग सहकार्य गर्न पाएँ भने गर्नेछु।

विदेशमा रहेका तर नेपाल फर्किन चाहने तपाईंजस्तै अरु नेपालीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

नेपाल फर्किन चाहनेहरूले धेरै ठुला सपना बोकेर फर्किनु हुँदैन। मान्छे जहाँ पुग्छ, त्यहीँ जरा गाड्छ। त्यो जरा उखेलेर जान अठोट दृढ हुनुपर्छ। नेपाल गएर ‘म यो गर्छु’ भन्ने स्पष्ट लक्ष्य भयो भने समस्या हुँदैन।

नेपाली समाज त हामीले भोगेकै समाज हो। यहाँजस्तो सहज त पक्कै छैन, तर लड्न र सङ्घर्ष गर्न सकिन्छ। विदेशमा बसेर हामीले दुःख गर्न र व्यावहारिक हुन सिकिसकेका छौँ, त्यसैले नेपालमा गएर काम गर्न हामीलाई समस्या वा लाज हुँदैन। यही अठोट लिएर गयो भने सफल भइन्छ जस्तो लाग्छ।

म तपाईँलाई अन्त्यमा एउटा अलि काल्पनिक प्रश्न सोध्छु। मानौँ तपाईँ सन् २००७ मा हुनुहुन्छ र नेपाल छोड्दै हुनुहुन्छ। अहिलेको ‘तपाईँ’ले त्यति बेला एयरपोर्टमा जाँदै गरेको ‘तपाईँ’लाई भेट्नुभयो भने के भन्नुहुन्थ्यो होला? के तपाईँको बाटो यही हुन्थ्यो कि फरक हुन्थ्यो होला?

यदि समयमा पछाडि जान सकिने भए म अलि फरक तरिकाले नै देश छोड्थेँ। म नेपालमै आफ्नो जग अझ बलियो बनाएर अध्ययन र अनुसन्धानको लागि मात्रै विदेश निस्किन्थेँ।

मैले यहाँ जिरोबाट, शारीरिक श्रम गरेर जुन सङ्घर्ष गरेँ, त्यति धेरै सङ्घर्ष नेपालमै गरेको भए अझ राम्रो हुन्थ्यो होला। यहाँको शिक्षा प्रणाली र अरू सिस्टम बुझ्न २ देखि ५ वर्ष यहाँ बस्नु राम्रै हो। त्यसो गरेको भए म आफूलाई धेरै फरक तरिकाले प्रस्तुत गर्न सक्थे होला भन्ने लाग्छ।

धेरैले भन्छन् नि, मास्टर्स र पिएचडीको लागि आएको भए चाहिँ ठिकै हुन्छ भनेर। त्यस्तै?

मास्टर्सको लागि आएको भए पनि एकदम राम्रो हुन्थ्यो। त्यति बेला नेपालको अवस्था पनि अलि जटिल थियो। १८ घण्टा लोडसेडिङ हुन्थ्यो। पेट्रोल पम्पमा ५-६ घण्टा लाइन लागेर डेढ सयको पेट्रोल हालेर फर्केको तितो अनुभव पनि छ।

त्यतिखेरका समस्याहरू आफ्नै ठाउँमा थिए। तर पनि अहिलेको जस्तो मानसिकता हुन्थ्यो भने म यहाँ ज्ञान हासिल गर्न मात्रै आउने थिएँ, सङ्घर्ष चाहिँ नेपालमै गर्ने थिएँ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप